तीन दिनसम्म कतिपय ठाउँमा बर्सात् र हिमपातको सम्भावना, चीसो अझै बढ्ने

तीन दिनसम्म कतिपय ठाउँमा बर्सात् र हिमपातको सम्भावना, चीसो अझै बढ्ने

काठमाडौँ : देशका विभिन्न स्थानमा आइतबारदेखि मङ्गलबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले चीसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मङ्गलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा हल्का बर्सात्को सम्भावना रहेको महाशाखाले जनाएको छ । तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले चीसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

‘तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चीसो बढ्ने हुनाले चीसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ’, मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

आइतबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ भने प्रदेश नं १ र २ मा आंशिक मात्र बदली छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मङ्गलबारसम्मको मौसमको पूर्वानुमान यसप्रकार रहेको छ :

पुस १९ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पुस २० गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरूका केही स्थान तथा बागमती र प्रदेश नं १ का भूभागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरूका केही स्थानहरू तथा बागमती र प्रदेश नं १ का भूभागहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पुस २१ गते (मङ्गलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश नं १ का भूभागहरूका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :