सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान

सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान

बुटवल : अखिल क्रान्तिकारीले क्रान्ति सम्पन्न गर्न सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान गरेको छ । अखिल क्रान्तिकारी रूपन्देहीले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणका वक्ताले उक्त आह्वान गरेका हुन् ।

प्रशिक्षण कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले शैक्षिक माफियाकरण र दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध सङ्घर्ष आवश्यक भएको भन्दै त्यसका लागि सम्पूर्ण विद्यार्थी अखिल क्रान्तिकारीमा सङ्गठित हुन जरुरी भएको बताए ।

कार्यक्रममा युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवा विद्यार्थी राजनीतिक र सामाजिक विसङ्गति विरुद्ध सङ्घर्ष गर्नका लागि क्रान्तिमा जोडिन आवश्यक रहेको बताए ।

अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले पुँजीवादी राज्यसत्ताको चरित्र श्रमिक वर्गमाथिको शोषणमा आधारित भएको भन्दै त्यसका विरुद्ध सङ्घर्ष गर्न विद्यार्थीले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर इन्चार्ज प्रकाश र अखिल क्रान्तिकारी रूपन्देही इन्चार्ज रूपा बुढामगरले सम्पूर्ण विद्यार्थीले आफूमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका निम्ति उपयुक्त वातावरण हुनुपर्ने र शैक्षिक क्षेत्रमा देखिएका समस्याविरुद्ध देशभक्त र जुझारु विद्यार्थीले सङ्गठनमा आबद्ध भई कडा सङ्घर्षमा उत्रिनुपर्ने बताएका थिए ।

प्रशिक्षणकै अवसर पारेर साया सापकोटा, सुनिल नेपाली, नयन अर्याललगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता इन्दु वली, स्वागत जिल्ला सचिव पारस राहादी मगर र सञ्चालन जिल्ला सहसचिव पदम पराजुलीले गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :