विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अखिल क्रान्तिकारीको चेतावनी

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी कक्षा ११ को पाठ्यक्रमको विवादसम्बन्धी समस्यालाई यथाशीघ्र हल गरी विद्यार्थीहरूको शैक्षिक सत्र खेर जान नदिन तत्काल आवश्यक निर्णय लिन सम्बन्धित निकायहरूसँग जोडदार माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्रको अन्त्यतिर आइपुग्दा पनि पाठ्यक्रमको निक्र्योल हुन नसक्नु देशको शिक्षाप्रणाली र जिम्मेवार निकायहरूको हदैसम्मको गैरजिम्मेवारीपन रहेको र नेपालमा आफ्नै देशको प्राकृतिक साधनस्रोत र मानव संसाधनलाई जोड्ने पाठ्यक्रमभन्दा विदेशी, साम्राज्यवादी दाताहरूको चाहना र योजनामा निर्माण गर्ने गरिएको विषयप्रति खेद प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ को पाठ्यक्रमका सम्बन्धमा सरकारले गरेको निर्णय र त्यसका विरुद्धमा निजी शैक्षिक संस्थाहरूको अगुवाइमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा र अदालतले उक्त मुद्दालाई लामो समयदेखि विचाराधीन राखेर लाखौँ विद्यार्थीको भविष्यमाथि गरिरहेको गैरजिम्मेवारपूर्ण खेलबाडप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । शैक्षिक सत्रको अन्त्यतिर आइपुग्दा पनि पाठ्यक्रमको निक्र्योल हुन नसक्नु हाम्रो देशको शिक्षाप्रणाली र जिम्मेवार निकायहरूको हदैसम्मको गैरजिम्मेवारपन हो । तसर्थ पाठ्यक्रमको विवादसम्बन्धी समस्यालाई यथाशीघ्र हल गरी विद्यार्थीहरूको शैक्षिक सत्रलाई खेर जान नदिन तत्काल आवश्यक निर्णय लिन हाम्रो सङ्गठन सम्बन्धित सबै निकायहरूलाई जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको पाठ्क्रम विकासका सन्दर्भमा आफ्नै देशको प्राकृतिक साधनस्रोत र मानव संसाधनलाई जोड्ने पाठ्यक्रमभन्दा विदेशी, साम्राज्यवादी दाताहरूको चाहना र योजनामा निर्माण गर्ने गरिएको विषयप्रति पनि हाम्रो सङ्गठन खेद प्रकट गर्दछ । आगामी दिनमा विदेशीहरूको योजनामा होइन, हाम्रै देश र जनताको आवश्यकता र २१ औँ शताब्दीको विज्ञान र प्रविधिमैत्री पाठ्यक्रमहरू निर्माण गरी लागू गर्न पनि हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :