केपी वलीले सङ्कटकाल घोषणा गर्नसक्ने भन्दै बौद्धिकहरूद्वारा प्रतिरक्षामा रहन आह्वान

केपी वलीले सङ्कटकाल घोषणा गर्नसक्ने भन्दै बौद्धिकहरूद्वारा प्रतिरक्षामा रहन आह्वान

काठमाडौँ : कायठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले केपी वलीलेको असंवैधानिक कदमको विरोध गर्दै शक्तिशाली जनआन्दोलनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । ‘नयाँ पार्टी नेपाल’ ले ‘नेपालको राजनीतिक अवस्था र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले वलीको कदमको निन्दा पनि गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी वली थप तानाशाही र निरङ्कुश बन्दै गएकाले उनले देशमा सङ्कटकाल लगाएर मिडियाहरूमा समेत सेना पठाउने भएकाले सबैलाई सतर्क बन्न आग्रह गरे । उनले आफ्नो अवैधानिक काम अघि बढाउन वलीले सङ्कटकाल लगाउनसक्ने भएकाले त्यसका विरुद्ध सावधान रहन पनि आह्वान गरे । उनले वलीले गरेको संसद् विघटन र त्यसबाट भएको संवैधानीक ‘कु’ लाई सच्याएर देश जोगाउने अभिभारा सर्वोच्च अदालतको हातमा रहेको पनि बताए । कुनै पनि हालतमा संसद् पुनस्र्थापना हुनुपर्ने र अदालतले त्यसो गर्ने विश्वास व्यक्त गर्दै त्रिपाठीले भने, ‘वलीले स्टेप बाई स्टेप असंवैधानिक र अराजनीतिक कदम चाल्दै जानुभएको छ । त्यसलाई राष्ट्रपति रबर स्ट्याम्पको भूमिका खेल्दै हुनुहुन्छ । यो कार्य रोक्न जनताले अर्को ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको छ ।’

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले प्रधानमन्त्री वलीले आफ्नो विवेकले भन्दा पनि विदेशी शक्तिहरूको कठपुतली बनेर उनीहरूको स्वार्थअनुरूप संसद् विघटन गरेको बताए । कार्कीले भित्रभित्रै देशमा खतरनाक षड्यन्त्र चलेको र देश गम्भीर सङ्कटमा जानसक्ने चिन्ता व्यक्त गरे ।

वरिष्ठ पत्रकार प्रेम कैदीले वर्तमान शासकहरूले देशलाई निरन्तर परनिर्भरतातर्फ डोहोर्याइरहेकाले नेपाली जनताले नेपाली स्वाधीनतालाई जोगाउन तत्पर रहनुपर्ने बेला आइसकेको बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले देशमा हुने राजनीतिक अस्थिरताको फाइदा विदेशीहरूले उठाउने गरेको बताउँदै वली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक गरे पनि त्यसको कार्यान्वयन पक्षमा भने परिणामशून्य हुनु दुर्भाग्य भएको धारणा राखे ।

प्राध्यापक डा. खेमबन्धु कोइरालाले देशमा लोकतान्त्रिक स्वतन्त्रता आएको तीस वर्षमा पनि नेताहरूले देशलाई दिनप्रतिदिन परतन्त्रतातिर धकेल्दै गएको भन्दै आक्रोश व्यक्त गरे । ग्रेटर नेपालका अभियन्ता प्राडा सुरेन्द्र ढकालले विगतमा विश्वराजनीति युरोप, अमेरिकालगायत पश्चिमाहरूको हातमा रहे पनि चीनको अभूतपूर्व मौलिक विकासले उनीहरूलाई तर्साएको र त्यसको प्रभाव नेपालमा पनि परेको बताए । नेपालमार्फत चीनलाई घेर्ने पश्चिमा रणनीति र त्यसलाई कुनै पनि हालतमा रोक्ने चिनियाँ नीतिका बीचमा नेपाल पर्ने भएकाले त्यसतर्फ सजग रहनुपर्ने उनको भनाइ थियो ।

वक्ताहरूले प्रधानमन्त्री वलीले संविधानविपरीत संसद् भङ्ग गरेर त्यसलाई च्यातेको र उनका गलत कदममा लाहाछाप लगाउने राष्ट्रपति विद्या भण्डारी रबर स्ट्याम्प भएको पनि बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सल्लाहकार केशव देवकोटाले अहिले आफ्नो पार्टीमा ठूलो विभाजन आएको र त्यसको जिम्मेवार केपी वली र प्रचण्ड रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :