नेकपाका ६ जना जिल्ला नेता–कार्यकर्ता रिहा

नेकपाका ६ जना जिल्ला नेता–कार्यकर्ता रिहा

लमजुङ : जिल्ला अदालत लमजुङमा धरौटी राखेर मुक्त भएलगत्तै फेरि गिरफ्तार गरिएका नेकपा लमजुङका जिल्ला इन्चार्ज आक्रोशलगायत छजना सोमबार रिहा भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई विभिन्न बहाना बनाएर फेरि गिरफ्तार गरिए अदालतको मानहानि मुद्दामा कारबाही गर्ने चेतावनी दिएपछि उनीहरू सर्वाेच्च अदालतबाट रिहा भएका हुन् ।

सर्वोच्च अदालतको आदेशबमोजिम आज छुट्ने नेकपाका नेता–कार्यकर्ताहरूमा लमजुङका इन्चार्ज जङ्गबहादुर भण्डारी ‘आक्रोश’, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ ‘गौरव’, जिल्ला सदस्यहरू रवीन्द्र नाखोला र नारायणबहादुर कुँवर तथा सर्वसाधारण सुजन थापा र दुर्गालाल तामाङ छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले उनीहरूलाई रिहा गर्न र विभिन्न बहाना गरी फेरि गिरफ्तार नगर्न चेतावनीयुक्त आदेश दिएको थियो । गिरफ्तार नेता तथा कार्यकर्ताको पक्षबाट निरुता विकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् ।

उक्त बहसमा पीडितहरूको तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी, अधिवक्ताहरू कान्तिराम ढुंगाना, कपिलचन्द्र पोख्रेल, सन्तोष कोइराला र राजु अधिकारीले बहस गरेका थिए भने सरकारका तर्फबाट उपन्यायाधिवाक्ता दशरथ पंगेनीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :