माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

बुटवल : नेपालमा केपी वली–प्रचण्ड–नेपाल समूहले कम्युनिस्टका नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराइरहेको बेला माओ दिवसको महत्व अझ बढेको समाजका बौद्धिकहरूले बताएका छन् । १२८ औँ माओ दिवसका सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रममा वक्ताहरूले माओको योगदानलाई चिनियाँ सन्दर्भमा मात्र सीमित गर्न खोज्नु माओको अवमूल्यन हुने धारणा पनि राखेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीद्वारा आयोजित ‘माओ र येनान प्रवचनको महत्व’ विषयक कार्यक्रम महासङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले वैज्ञानिक समाजवादी सत्ता र संस्कृति निर्माणका लागि राजनीतिक मोर्चा मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि मोर्चा निर्माण गर्नु आवश्यक भएको बताए । उनले दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध देशभक्त र क्रान्तिकारी संस्कृतिकर्मीहरूबीच एकीकृत र धु्रवीकरण भई क्रान्तिलाई अगाडि बढाउनु आवश्यक रहेको र निरन्तर क्रान्तिको सिद्धान्तअनुरूप महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई सबैले आत्मसात गर्नुपर्ने बताए । उनले दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध बन्दुकसहितको सेनाका साथमा कलमसहितको सांस्कृतिक सेना निर्माण आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा ब्युरो सदस्य नवीन, युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकलगायत वक्ताहरूले रुसी बोल्सेभिक कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनपछि ख्रुस्चेबले अघि सारेको स्टालिनविरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको नीतिविरुद्ध माक्र्सवाद–लेनिनवादको झन्डा लिएर कमरेड माओ त्सेतुङले विश्वसमाजवादी शिविरका पक्षमा आजीवन सङ्घर्ष गरेको चर्चा गर्दै येनान प्रवचनमा साहित्य र कलाको वर्गपक्षधरता र त्यसको महत्वबारे चर्चा गरेका थिए ।

अन्तर्राीष्ट्रय गीत गाएर सुरु गरिएको कार्यक्रमको आरम्भमा माओ त्सेतुङद्धारा रचित कविताहरू वाचन गरिएको थियो । कार्यक्रममा रूपा बुढामगर, पारस राहादीमगर, पवन ज्ञवालीलगायतले कविता वाचन गरेका थिए । महासङ्घका जिल्ला अध्यक्ष बिहानी मगरको अध्यक्षता र क्षितिज सांस्कृतिक परिवारका सहसंयोजक आत्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :