मण्डिखाटार घटनामा आपराधिक तत्वको हात : नेकपा

मण्डिखाटार घटनामा आपराधिक तत्वको हात : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको मण्डिखाटारस्थित मनोहरराज घिमिरेको घरमा आपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर आक्रमण गरेको बताएको छ ।

नेकपाका काठमाडौँ सेक्रेटरी पवनले आइतबार विज्ञप्ति जारी गरी उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको र घटनाको अनुसन्धान गर्दा आर्थिक लाभको लागि आपराधिक समूहका अशोक शर्मा भट्ट र गणेश कुँवरको संलग्नतामा घटना गराइएको पुष्टि भएकाले उनीहरूलाई जनकारबाही गरिने जनाएका छन् ।

पवनले उक्त घटनामा आफ्नो पार्टीलाई बदनाम गर्ने र आर्थिक लाभ उठाउने उद्देश्यले सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका गोरखा संयोजक भट्ट र जनता समाजवादी पार्टीका कार्यकर्ता गणेश कुँवरको संलग्नता रहेको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका ९ मण्डिखाटारस्थित मनोहरराज घिमिरेको घरमा मिति २०७६।११।१६ गते करिब ४ बजेतिर हाम्रो जनप्रिय पार्टीका नाममा एक समूहले गरेको आक्रमणको घटनाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई घटनाको सूक्ष्म छानबिनमा पार्टी केन्द्रित भएको थियो । उक्त घटनामा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको प्रस्ट पार्न चाहन्छौँ । आर्थिक लाभका लागि र क्रान्तिकारी पार्टीको बदनाम गर्ने उद्देश्यमा आधारित उक्त आपराधिक घटनामा संसद्वादी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आबद्ध गुल्मी घर भएका गणेश कुँवरसहित आपराधिक कार्यमा संलग्न हुँदै आएका केही व्यक्तिहरूको संलग्नता रहेको पार्टी अनुसन्धानबाट पुष्टि भएको छ ।’

पवनले सहिदको नाम जोडेर पार्टी र एकीकृत जनक्रान्तिलाई बदनाम गर्ने उद्देश्यले उक्त घटना गराइएको भन्दै घोर भत्र्सना र निन्दा पनि गरेका छन् । उनले उक्त उक्त घटनालाई आपराधिक भन्दै पर्दापछाडि केही व्यवसायी पनि जोडिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएका छन् । उनले घटनामा जोडिएका भट्ट, कुँवर र पर्दापछाडि बसेका व्यक्तिहरूलाई पार्टीमा क्षमायाचना नगरे जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनामा जोडिएका भट्ट, कुँवर र पर्दापछाडिको भूमिकामा राजनीतिक र व्यावसायिक आवरणमा रहेका व्यक्तिहरूसमेत यथाशीघ्र पार्टीसमक्ष आएर आफ्ना गल्तीकमजोरी स्वीकार्दै क्षमायाचना गर्न पार्टी कडा निर्देशनात्मक चेतावनी दिन चाहन्छ । अन्यथा पार्टी र क्रान्तिविरुद्ध यसप्रकारको गम्भीर अपराधजन्य हर्कतमा संलग्नहरूलाई कडा कारबाही गर्न पार्टी बाध्य हुने कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’ उनले पार्टीमा नाम जोडेर गरिएको उक्त घटनाबाट घिमिरेको घर र गाडीमा क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :