न्यौपाने र तोलाङ्गीलाई बिनासर्त तत्काल रिहा गर : ट्रेड युनियन महासङ्घ

न्यौपाने र तोलाङ्गीलाई बिनासर्त तत्काल रिहा गर : ट्रेड युनियन महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सरकारले महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला महासङ्घका अध्यक्ष नारायण तोलाङ्गीलाई बिनाकारण गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । महासङ्घका संयोजक विनोद थापाले वक्तव्य जारी गर्दै यही पुस ९ गते आफ्नो दैनिक कामको सिलसिलामा हिँडिरहेको अवस्थामा काठमाडौँबाट न्यौपाने र तोलाङ्गीलाई बिनाकारण गिरफ्तार गरी बालाजु प्रहरी हिरासतमा राखेर झूट्टा मुद्दामा फसाउने तयारी गरिरहेको भन्दै बिनासर्त रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

थापाले वक्तव्यमा भनेका छन्, ‘यतिखेर मुलुकमा महाभिडन्तको अवस्था छ । संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको दृष्टान्त वली सरकारको संवैधानिक कु बाट प्रस्ट भएको छ । संसद् विघटन गरी असंवैधानिक कदम चालेर नक्कली कम्युनिस्टले आफ्नो असली चेहरा श्रमिक जनतामाथि उदाङ्गो पारेको छ । विदेशीको आडभरोसामा सञ्चालित सरकार दलाल पुँजीवादको असली संरक्षक र विदेशी इशारामा सनकी शासकको मूर्खतापूर्ण कदमले गर्दा यो व्यवस्थाको धज्जी मात्र उडेको छैन, सिङ्गो राष्ट्र नै बर्बादीतिर जाने खतरा बढेको छ । महँगी, भ्रष्टाचार, अनियमितता र कमिसनले श्रमिकहरू आक्रान्त छन् । यिनीहरूको नालायक गतिविधि आमश्रमजीवी वर्गले थप बुझ्ने अबसर मिलेको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘श्रमिक मजदुरहरू भोक, रोग र अभावमा आकुलव्याकुल रहेको अवस्थामा गाँस बासको जोहो गर्न नसक्ने सरकार लाखौँ मजदुरलाई श्रमबाट कटौती गर्न उद्यत रहेको छ । मजदुरविरोधी ऐनकानुन लगाई कारखानाका सञ्चालक एवम् व्यवस्थापनले धमाधम मजदुरलाई निष्कासन गरिरहँदासंम्म पनि चुइँक्क नबोल्ने निकाय मजदुर अधिकारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशील सङ्घसङ्गठनमाथि गैरकानुनी, गैरन्यायिक तरिकाबाट जाइलागिरहेका छन् । अधिकारका लागि सङ्घर्ष गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित बनाउँदै आस्थाका श्रमिक मजदुरहरूमाथि कुशासन लाद्ने कुपात्रको पोल्टामा सत्ताको बागडोर जाँदा राजनीतिक सङ्कट मात्र होइन, आमगरिखाने मजदुरमाथि पनि अमानवीय व्यवहार गर्न शासक निर्लज्ज लागिपर्दाेरहेछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘लाखौँ मजदुरहरूको आस्थाको केन्द्र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ वैज्ञानिक समाजवादको लक्ष्यमा अनवरत लागिरहेको सङ्गठन हो । यो सदैव श्रमिकका पक्षमा सक्रिय छ । यसै सन्दर्भमा फासिवादी केपी प्रशासनले हाम्रो महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला महासङ्घका अध्यक्ष नारायण तोलाङ्गीलाई यही पुस ९ गते आफ्नो दैनिक कामको सिलसिलामा हिँडिरहेको अवस्थामा काठमाडौँबाट बिनाकारण पक्राउ गरी बालाजु प्रहरी हिरासतमा राखी झूट्टा मुद्दामा फसाउने तयारी गरिरहेकाले बिनासर्त रिहा गर्न हाम्रो सङ्गठन सम्बधित पक्षसँग जोडदार माग राख्दछ । अन्यथा कडा सङ्घर्ष गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेबार स्वयम् सम्बन्धित पक्ष हुनेछ ।’ वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :