प्रतिगमनकारी चलखेलविरुद्ध २२ राजनीतिक दलले पुस ३ गते काठमाडौँमा प्रदर्शन गर्ने

प्रतिगमनकारी चलखेलविरुद्ध २२ राजनीतिक दलले पुस ३ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ : राष्ट्रघात, जनघात, राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विभिन्न विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका २२ दलले यही पुस ३ गते प्रतिगमनकारी चलखेलविरुद्ध प्रदर्शन र कोणसभा आयोजना गर्ने भएका छन् । बिहीबार २२ राजनीतिक सङ्गठनहरूका तर्फबाट सीपी गजुरेलले प्रेस वक्तव्य जारी गर्दै आगामी पुस ३ गते १ बजे माइतीघर मण्डलामा जुलुस प्रदर्शन गर्ने र २ बजे नयाँ बानेश्वरमा कोणसभा आयोजना गर्ने जानकारी दिएका छन् ।

विभिन्न २२ राजनीतिक पार्टीका तर्फबाट जारी गरिएको उक्त वक्तव्यमा भनिएको छ, ‘देश यतिखेर सङ्गीन अवस्थाबाट गुज्रिरहेको छ । विगतमा हाम्रो कार्यगत एकताले उठाएका राष्ट्रियता, जनजीविकालगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको कुरा सर्वविदितै छ । त्यसलाई निरन्तरता दिँदै पछिल्लो चरणमा थप देखापरेको प्रतिगमनको खतरासमेतको विरोधमा आगामी पुस ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथै नयाँबानेश्वरमा २ बजे कोणसभा आयोजना गर्ने ठेगान भएको छ । उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायसँग आह्वान गरिएको छ ।’

कार्यगत एकतामा सहभागी २२ राजनीतिक पार्टी र सङ्ठनहरूमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेबिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :