वली सरकारद्वारा पत्रकारको घर–कोठा खानतलासी, हुम्लाका पत्रकार आक्रोशित

वली सरकारद्वारा पत्रकारको घर–कोठा खानतलासी, हुम्लाका पत्रकार आक्रोशित

काठमाडौँ : नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई रिहापछि गिरफ्तार गर्न नसकेको झोकमा प्रहरीले नेपाल पत्रकार महासङ्घ हुम्लाका पूर्वअध्यक्षसमेत रहेका कचहरी दैनिकका सम्पादक/प्रकाशक सिमकोट गाउँपालिका ५ का कर्णबहादुर रोकाया र नेपाल टेलिभिजन तथा नयाँ पत्रिका दैनिकका हुम्ला संवादाता चङ्खेली गाउँपालिका ५ का नरजन तामाङ्को डेरा घेराउ गर्दै आतङ्कित बनाएको छ ।

मङ्सिर २३ गते राती प्रहरीले बस्तीलाई नै आतङ्कित पार्दै डेरा घेराउ गरेको भन्दै पत्रकार महासङ्घ हुम्लाले मङ्सिर २४ गते प्रमुख जिल्ला अधिकारीको ध्यानार्कषण गराएको छ ।

हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले मङ्सिर २३ गते सेक्रेटरी कुम्भ बुढा र उपेन्द्र रावललाई राज्यविरुद्धको अपराध प्रमाणित नभएको भन्दै रिहा गर्ने आदेश दिएपछि दुवैजना मानवअधिकारकर्मीको रोहवरमा मङ्सिर २३ गते नै मुक्त भएका थिए । नेता बुढालाई जिल्ला अदालतले सफाइ दिने फैसला गरे पनि प्रहरीले पुनः गिरफ्तार गर्ने योजना बनाएको थियो । सेक्रेटरी बुढा प्रहरीका आँखा छलेर घेरा तोडेपछि प्रहरीले त्यसको झोक पत्रकारको डेरा घेराउ गरेर पोखेको भन्दै पत्रकार महासङ्घले आपत्ति जनाएको हो ।

सेक्रेटरी बुढालाई खोज्ने बहानामा पत्रकार रोकायाको घरमा करिब दुई दर्जन प्रहरीले आतंक मच्चाएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार प्रहरीले घरको विद्युत् सेवा नै बन्द गरी पत्रकार रोकायालाई मानसिक यातना दिएको थियो । नेपाल टेलिभिजन र नयाँ पत्रिकाका हुम्ला संवाददाता तामाङको कोठा, रेडियो कर्णाली, रेडियो कैलासलगायत सञ्चारमाध्यममा प्रहरीले कडा निगरानी गरेको जानकारी पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष अर्जुन बोहोराले दिएका छन् ।

जिल्लामा क्रियाशील पत्रकारहरुलाई अनावश्यक मानसिक यातना नदिन नेपाल पत्रकार महासङ्घ हुम्लाले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले भने आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् भने जिल्लाका डीएसपी सूर्यप्रकाश सुवेदीले प्राविधिक कारणले त्यस्तो भएको स्वीकार्दै आगामी दिनमा पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको महासङ्घ हुम्लाका अध्यक्ष बोहोराले बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :