नेकपाको व्यक्तिहत्याको नीति छैन, राजेन्द्र श्रेष्ठको मृत्यु प्रतिकारबाट भएको हो : नेकपा

काठमाडौँ : मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा भएको मृत्युको विषयलाई लिएर विभिन्न किसिमका प्रतिक्रियाहरू सार्वजनिक भइरहेको अवस्थामा नेकपा केन्द्रीय कार्यालयले यो युद्धको घोषणा, व्यक्तिहत्याको नीति वा शिक्षक–हत्या केही नभएर विशुद्ध आत्मरक्षाका लागि प्रतिकार हुँदा भएको मृत्युको घटना भएको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यमले घटनालाई अतिरञ्जित गर्दै ‘नेकपाले युद्धको घोषणा गर्यो, शिक्षकको हत्या गर्यो, अपहरण गर्यो, व्यक्तिहत्या सुरु गर्यो’ जस्ता अनर्गल र आक्षेपपूर्ण समाचार प्रवाह गरिरहेको सन्दर्भमा नेकपाले भने पार्टीको व्यक्तिहत्याको नीति नभएको, निरन्तर नेकपाका नेता, कार्यकर्ता, एकीकृत जनक्रान्तिका विरुद्ध सुराकी गर्दै आएको र पार्टीका नेता–कार्यकर्तामाथि हतियारले साङ्घातिक आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रतिकार गर्दा श्रेष्ठको मृत्यु भएकाले यसलाई अतिरञ्जित नगर्न र वातावरणलाई अनावश्यक रूपले उत्तेजित नबनाउन पनि आग्रह गरेको छ ।

यसअघि नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबारै वक्तव्य जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका थिए ।

मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका थिए, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’

ब्युरो इन्चार्ज प्रतापले वक्तव्यमा राजेन्द्र श्रेष्ठको मृत्यु हुनुका कारण जनाउँदै भनेका थिए, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए । जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :