खुल्दैछ नयाँ क्षितिज

खुल्दैछ नयाँ क्षितिज

एकातिर दलाल पुँजीवादका रक्षक सरकारी पार्टीहरू सत्तादोहनमा भागबन्डा नमिलेर एकापसमा मारकाट गरिरहेका छन्, अर्कातिर सरकारको असफलता र सरकारी पार्टीभित्रको मारामारको अवस्था र असफलतालाई देखाउँदै केही प्रतिक्रान्तिकारीहरू इतिहासमा बेकम्मा साबित भइसकेको सामन्ती राजसंस्था फर्काउने नाउँमा सडकमा निस्किरहेका छन् भने यता दलाल पुँजीवादी सत्ताको अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्ता कायम गर्न क्रियाशील नेपाल कम्युनिस्ट पार्टी आफ्नो कार्यदिशा, लक्ष्य र कार्यक्रममा एकदम निर्धक्क र ढुक्क भएर लागिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले निर्धक्क भएर भनेका छन्, ‘दलाल पुँजीवादलाई विस्थापन गरी वैज्ञानिक समाजवाद स्थापना गर्छौं ।’ उनले क्रान्ति वयस्क हुँदै गएको सङ्केत गर्दै भनेका छन्, ‘तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ ।’ महासचिव विप्लवका यी दुई वाणीले दलाल पुँजीवादी सत्ताका मतियार सामाजिक फासिवादी सत्ताको अन्त्यको क्षण नजिक आइरहेको र नयाँ, वैज्ञानिक समाजवादी नेपालको क्षितिज छ्याङ्ग भएर खुल्दै गएको देख्न सकिन्छ ।

सरकारी नेकपाभित्र भाँडभैलो छ । पार्टीका प्रथम अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी वली पार्टीभित्रै अल्पमतमा परेका छन् तर पनि उनले आफ्नो ढिट छोडेका छैनन् । माओवादी आन्दोलन विसर्जन गरेर आफ्नो छाला जोगाउन प्रतिक्रियावादी शक्तिभित्र घुस्रिएका पुष्पकमल दाहाल पूर्वएमालेका वलीपीडित माधव नेपाल, झलनाथलगायत केही थान संसद्वादीहरूको साथ लिई वलीलाई समाप्त पारेर आफू राज गर्ने योजनामा छन् । सरकारमा जानुअघि जनतामा गरेका वाचा भुलेर उनीहरू केवल सत्ताको छिनाझप्टीमा लागेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय तिनका छलफल र बहसका एजेन्डा कहिल्यै बनेका छैनन् । किनकि दलाल पुँजीवाद यस्तो अजीर्ण सत्तारोग हो जसले भोकमरी, महामारी, व्याधी, बाढीपहिरो, भूकम्प, वैदेशिक अतिक्रमण र हस्तक्षेप जेजस्तो सङ्कट आइपर्दा पनि देश र जनतालाई होइन, सत्तालाई मात्र केन्द्रमा राख्छ । त्यसैले यतिबेला केपी वली वा पुष्पकमल दाहालका बीचका बहस–विवाद र हिलो छ्यापाछ्यापहरू देश र जनतालाई केन्द्रमा राखेर होइन, सत्ता सञ्चालन र सरकारमा को पुग्ने र कसले सत्ताको तर मारिरहने भन्ने विषयमा केन्द्रित रहेको देख्न सकिन्छ । यो उनीहरूको समाप्तितिरको यात्रा मात्र हो ।

एक समय थियो– संसद्वादी सत्ताका पक्षधरहरू पुनर्गठित नेकपालाई कुनै पनि शक्तिका रूपमा स्वीकार्न सक्तैनथे । दलाल पुँजीवादका भरिया बनेका शक्तिहरू र तिनका मुखपत्रजस्ता लाग्ने सञ्चारमाध्यमहरू पनि नेकपालाई एउटा राजनीतिक शक्ति नभएर एउटा अराजक वा आतङ्ककारी समूहजस्तै व्यवहार गर्थे । सरकारको लोलीमा बोली मिलाउँदै उनीहरू नेकपालाई वैकल्पिक क्रान्तिकारी शक्ति नभएर केवल ‘विप्लव समूह’ भनेर हियाउन खोज्थे । दलाल पुँजीवादी सत्ताको भण्डाफोर गर्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्यालाई केन्द्रमा राखेर जब नेकपाले नाफाखोर, दलाल र भ्रष्टहरूविरुद्ध नयाँ विद्रोह अर्थात् एकीकृत जनक्रान्तिको शङ्खघोष गर्यो र दलालहरूका अखडाहरूमा साङ्केतिक कारबाहीहरू गर्यो, त्यसपछि मस्त निद्राबाट ब्युँझिएका दलालहरूले नेकपा एउटा वैकल्पिक शक्ति रहेको थाहा पाए । यस्तो अवस्था अहिले मात्र होइन, २५ वर्षअघि नेपालमा जनयुद्ध सुरु हुँदा पनि भएको थियो । जनयुद्धको पहलकदमी लिने तत्कालीन नेकपा माओवादीलाई दुई महिनामै दमन गरेर सिध्याउँछौँ भन्नेहरू कालान्तरमा आफैँ सकिए । यतिबेला इतिहास एउटै प्रकारले होइन, भिन्न प्रकारले दोहोरिएको छ । नेकपालाई समूह भनेर हियाउने संसद्वादी, प्रतिक्रियावादी शक्तिहरू निद्राबाट ब्युँझेर होसमा आएपछि उनीहरूले नेकपामाथि प्रतिबन्ध लगाए । आफैँले लोकतान्त्रिक र समाजवादी भनेर कौलासेको संविधानविपरीत नेकपामाथि प्रतिबन्ध थोपरेपछि सर्वत्र त्यसको आलोचना भयो । त्यसपछि सत्तासीनहरू नेकपामाथि नभएर त्यसका क्रियाकलापमाथि प्रतिबन्ध लगाएको भन्दै बर्बराउन थाले । दुई वर्ष पुग्नै लाग्दा नेकपाले प्रतिक्रिक्रियावादी सत्ताको प्रतिबन्ध पनि पचाइसकेको छ र जनतामा स्थापित बनेर जनप्रिय पार्टी पनि बनेको छ । भलै यो सत्ता दलाल पुँजीवादी, जनविरोधी र राष्ट्रविरोधी सत्ता हो भन्ने प्रमाणित गर्नका लागि नेकपाले ११ जना योद्धाहरूको बलिदान सहनु परेको छ र पार्टीका सयौँ नेता–कार्यकर्तालाई जेल र हिरासतमा बन्दी अवस्थामा देख्नुपरेको छ ।

यतिबेला सिङ्गो मुलुकलाई प्रतिक्रियावादी शक्तिले खुला जेल बनाएका छन् । जनसेवामा तल्लीन नेकपाका नेता–कार्यकर्ताहरूलाई विभिन्न झूट्टा आरोप र लाञ्छना लगाएर गिरफ्तार गर्ने, गाउँ नै घेराबन्दी गरेर बस्तीहरूमा आतङ्क मच्चाउने, जनतालाई समेत बन्दी बनाउने र हिरासत र जेलहरूमा समेत आस्थाका आधारमा यातना दिने पाशविक र मध्ययुगीन बर्बरता कायमै राखिएको छ । जेल र हिरासतमा रहेका पार्टीका नेता र कार्यकर्ताहरूको उच्च सम्मान र कदर गर्दै महासचिव विप्लवले भनेका छन्– जेल पनि एउटा मोर्चा हो । कैयौँ साथीहरू जेलको मोर्चाबाट पनि निर्धक्क लडिरहनुभएको छ । उहाँहरूलाई हाम्रो सलाम र विशेष सम्मान छ । उहाँहरू यो मोर्चामा सफल र विजयी भैरहनुभएको छ । दुस्मनहरू उहाँहरूलाई झुकाउन चाहन्थे तर उहाँहरू क्रान्तिको अभियानमा लामबद्ध भैरहनुभएको छ । महासचिवको यो उद्घोषपछि जेल र हिरासतका मोर्चाहरू पनि अझै क्रियाशील बनेका छन् ।

प्रतिक्रियावादी शक्तिहरू कहिल्यै पनि इतिहासबाट पाठ सिक्दैनन् । सिके पनि उल्टो सिक्छन् । तिनले इतिहासमा भएका पराजयहरूबाट पाठ सिक्ने थिए भने जनताको प्रतिरोध आन्दोलनमाथि दमनको सहारा लिने थिएनन् । आस्था भन्ने चीज दुस्मनको कैदभित्र पनि जब्बर भएर बाँचिरहन्छ भन्ने कुरा तिनले कहिल्यै आत्मसाथ गर्न सक्तैनन् । शासकहरू वास्तवमै अत्यन्त कायर र डरपोक हुन्छन् । हज्जारौँ प्रहरी, सेनाका बन्दुक र बख्तरबन्द ट्याङ्हरूभित्र पनि ती आफूलाई सुरक्षित ठान्दैनन् । त्यसैले उनीहरू क्रान्तिकारी आस्था, विचार र कार्यक्रम बोकेका निहत्था व्यक्तिसँग पनि डराएर थुर्थुर हुन्छन् र जेल र हिरासतको सहारा लिन्छन् । क्रान्तिकारी शक्तिमाथि जथाभाबी हतियारको दुरुपयोग गरिरहेका कायर शासकहरूलाई ललकार्दै महासचिव विप्लवले भनेका छन्– हतियार त हामीसँग पनि होला, जथाभाबी प्रयोग गर्ने ? जनमुक्ति सेना हामीसँग पनि छ त, हामीले खुल्लै भनेका छौँ ।

शासकहरूले हिजो एउटा समूह भनेर आत्मरति लिएको शक्तिले आज खुलेआम दलाल पुँजीवादी सत्तालाई यसरी ललकारिरहेको छ तर लाचार शासकहरूका कानका जालीहरू अझै राम्रोसँग खुलेको देखिँदैन । त्यसैले उनीहरू नेकपामाथि अझै बर्बरता लाद्ने षड्यन्त्र गरिरहेका छन् । सत्तको षड्यन्त्रलाई चुनौती दिँदै महासचिव विप्लवले भनेका छन्– नेकपा भनेको जनतासँग जोडिएको पार्टी हो । सहरमा नभए पनि गाउँमा त हाम्रो जनसत्ता छ नि । गाउँमा न्याय खोज्नका लागि बाहिर जानु पर्दैन नि । अवश्य पनि देशव्यापी रूपमा नेकपाद्वारा सञ्चालित जनसत्ताहरूले अन्यायमा परेका श्रमिक किसान र मजदुरहरूलाई न्याय दिलाएका समाचारहरूले शासकहरू हैरान बनेको हुनुपर्छ । आफ्नै पार्टीका नेतालाई, आफैँलाई न्याय दिन नसक्ने दलाल पुँजीवादी सत्ताका लाचार छायाहरूले देश र जनतालाई के न्याय दिन सक्छन् !

विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङले भन्नुभएको थियो– कहिलेकहीँ जनताका विरोधीहरूले पनि गुरुको काम गर्दछन् । दलाल पुँजीवादी सत्ताले नेकपामाथि प्रतिबन्ध घोषणा गरेपछि नेकपा फेरि जनताका बस्तीबस्तीमा पुगेर दुःखसुखको साथी बनेकैले यतिबेला ग्रामीण भेगका जनताले न्याय खोज्न प्रतिक्रियावादी सत्ता गुहार्नु परेको छैन । नयाँ क्षितिज खुल्दै गरेको यो अर्को भरपर्दो प्रमाण हो । यसरी क्रमशः प्रतिक्रियावादी सत्ता पतनतिर र नयाँ सत्ता उदाउँदो यात्रामा छन् । जनताको सुझबुझपूर्ण साथ, सहयोग र समर्थनले यसको छिनोफानो छिट्टै हुने अपेक्षा गर्न सकिन्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :