निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा प्रक्रिया पुरा नगरेको भन्दै शिक्षक संगठनको ध्यानाकर्षण

निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा प्रक्रिया पुरा नगरेको भन्दै शिक्षक संगठनको ध्यानाकर्षण

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरूले निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा विज्ञापन मार्फत परीक्षाको प्रक्रिया पूरा गरी शिक्षकलाई नियुक्त गर्ने प्रावधान भएपनि विद्यालय व्यवस्थापन समितिले कोरोनाको कारण देखाई एकल निर्णय गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति चितवनका अध्यक्ष हीरामणि चापागाईले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा कार्यरत शिक्षकहरूसँग कुनै पनि अन्तरक्रिया नगरीकन एकल निर्णय गरेर निजीस्रोतका शिक्षकलाई तलब नदिएको, बेतलवी बिदामा राखेको र कतिपय विद्यालयले शिक्षकलाई निष्कासन समेत गरेकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

साथै विद्यालयले राजनीति आग्रह र पूर्वाग्रह नराखी आपसी छलफल र समझदारीबाट समस्या समाधानार्थ पनि संगठनले सवैलाई अनुरोध गरेको छ । यस्तो गम्भीर विषयमा पनि महानगरपालिका र नगरपालिकाहरूले चासो नदेखाएको र समस्या समाधान गर्न नखोजेकाले पालिकाहरूप्रति ध्यानाकर्षण भएको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘शिक्षकका समस्या समाधान गर्नका लागि सहयोगी भूमिका खेल्न चितवनस्थित सम्पूर्ण पालिकाहरूलाई अनुरोध समेत गर्दछ ।’

यस्तै भरतपुर महानगरपालिका स्थानीय राजपत्र भाग २ को ‘शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७६’ अनुसार शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन पनि शिक्षक संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :