कोरोनाबाट विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको ज्यान गयो

अमेरिकामा २ लाख ८८ हजार ९०६ र भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु

कोरोनाबाट विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको ज्यान गयो

काठमाडौँ : कोरोनाबाट विश्वभर हालसम्म १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ५३७ सङ्क्रमितको मृत्यु भएको छ । त्यसैगरी विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ६ हजारभन्दा बढी कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ । युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा २३१ सङ्क्रमितको मृत्यु भएको छ । त्यहाँ मृतकको कुल सङ्ख्या ६१ हजार २४५ पुगेको छ ।

जाडो मौसमसँग सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको सङ्ख्या बढ्दै गएको हो । युरोपमा बेलायतपछि इटालीमा सबैभन्दा बढी ६० हजार ७८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी फ्रान्समा ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै सङ्क्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

सङ्क्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख २८ हजार ५२२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ । सङ्क्रमणले मृत्यु हुनेको यो सङ्ख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ९ हजार ७१७ जनाको मृत्यु भएको छ । धेरै सङ्क्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा कोरोनाबाट ३ लाख १ हजार ६२५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ३२ हजार ४१० सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५३ हजार ९६१ पुगेको छ । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका सङ्क्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ २२ हजार २०६ सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार २१ सङ्क्रमितको मृत्यु भएको छ ।

चीनको वुहानबाट सुरु भएको मानिएको सङ्क्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार ९४२ जनामा सङ्क्रमण भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ । सङ्क्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :