बेल्बासेलाई तत्काल रिहा गर : किसान महासङ्घ

बेल्बासेलाई तत्काल रिहा गर : किसान महासङ्घ

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोले आफ्नो सङ्गठनका नेता विष्णुप्रसाद बेल्बासेलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

महासङ्घका लुम्बिनी ब्युरो संयोजक सेवक सिंहले आइतबार प्रेस वक्तव्य जारी गर्दै सङ्गठनका लुम्बिनी ब्युरो सदस्य बेल्बासेलाई पाल्पाको तिनाउ गाउँपालिका हापुरबाट मङ्सिर १८ गते प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

सेवकसिंहले वक्तव्यमा भनेका छन्, ‘२०७७ मङ्सिर १८ गते हाम्रो सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का ब्युरो सदस्य कमरेड विष्णुप्रसाद बेल्बासेलाई साङ्गठनिक कामका सिलसिलामा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका हापुर गाउँबाट दिउँसो करिब ४ बजेतिर फासिस्ट गृहप्रशासनले गरिफ्तार गरी बन्दी बनाएको छ । आफूलाई कथित वामपन्थी कम्युनिस्ट सरकार भनाउने सामाजिक दलाल पुँजीवादी सरकारले राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षा गर्दै हाम्रो सङ्गठनका विरुद्ध दमन बढाइरहेको छ । यसप्रकारको रबैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार कमरेड बेल्बासेलाई यथाशीघ्र रिहाइको माग गर्दै झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे हाम्रो सङ्गठन चरणबद्ध सङ्घर्षमा उत्रिनेसमेत यसै वक्तव्यमार्फत चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :