सरकारविरोधी आन्दोलनमा हाम्रो हस्तक्षेप हुँदैन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले केही दिनयता राजावादीहरूले गर्ने आन्दोलनमा आफ्नो पार्टीको नाम जोडिएको भन्दै उक्त समाचारप्रति प्रस्टीकरण दिएको छ ।

केही सञ्चारमाध्यममा प्रकाशित ‘राजावादीहरूको आन्दोलनमा विप्लवले बम हान्ने’ जस्ता उत्तेजक समाचार शीर्षक बनाएर प्रचारप्रसार भैरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नेकपाले त्यसबारेमा प्रस्टीकरण दिएको हो ।

नेकपाको केन्द्रीय कार्यालय स्रोतले यसबारेमा आफ्नो औपचारिक प्रतिक्रिया दिँदै सरकारविरोधी कुनै पनि प्रकारका आन्दोलनहरूमा आफ्नो पार्टीको हस्तक्षेप नहुने प्रस्ट पारेको छ । साथै नेपाली जनताको मुक्ति र परिवर्तनको बाटो र नेपाली जनताका लागि उत्कृष्ट व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएको भन्दै जनता सधैँभरि अग्रगमनका पक्षमा हुने र पश्चगमनका पक्षमा नहुने पनि नेकपाले स्पष्ट गरेको छ ।

केही दिनअघि केही सञ्चारमाध्यममा राजावादीहरूको आन्दोलनमा विप्लव नेतृत्वको नेकपाले बम हानेर बिथोल्ने भन्दै समाचार प्रकाशित गरिएका थिए । उक्त समाचार सत्य नभएको भन्दै नेकपाले त्यसको प्रस्टीकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :