कुरीकुरी !

कुरीकुरी !

सहरबजारमा चोर, गुन्डा र तस्करहरूबीच ‘ग्याङ फाइट’ हरू हुन्छन् । जब एउटै स्रोतमा दुई समूहको भागबन्डा मिल्दैन, त्यसपछि गुन्डाहरू एकापसमा भिडन्तमा उत्रिन्छन् । त्यो भिडन्त सामान्य भनाभनदेखि मर्ने र मार्ने अवस्थासम्म पुग्छ । आखिरमा दुवै समूह असामाजिक तत्व हुन् र ती गुन्डा, तस्कर वा चोरहरूको स्वार्थ र लक्ष्य भनेको अर्काले श्रमपसिना बगाएर जगेडा गरेको वा थन्क्याएको सम्पत्ति लुट्नु र व्यक्तिगत रूपमा ऐसआराम गर्ने सपना सजाउनु हो । कतिपय अवस्थामा राजनीतिक पार्टीका नेताहरूले पनि चोर, डाँका र गुन्डा–आबाराहरूबाटै त्यस किसिमको कला सिक्छन् र आफ्नो जीवनमा प्रयोग गर्छन्÷गर्दा रहेछन् । आबारा, लुटेरा र गुन्डाहरूका बीचका ग्याङ फाइटले समाजलाई आतङ्कित बनाउँछ र समाजले गुन्डाहरूको अन्त्यको योजना बनाउँछन् । यतिबेला सरकारी नेकपाभित्र पनि यस्तै झडप भइरहेको छ । गुट र व्यक्तिस्वार्थका लागि एउटै पार्टीका नेता–कार्यकर्ताको हत्यासम्ममा उत्रिने र एकले अर्कालाई नाङ्गेझार पार्ने अवस्था आउनुलाई कुनै पनि अर्थमा गुन्डा वा आवाराहरूका बीचको झडपभन्दा माथि राखेर हेर्न मिल्दैन । यो वर्तमान दलाल पुँजीवादी व्यवस्थाको उत्कृष्ट नमुना हो । बुझ्नेहरूले यसलाई कुनै पनि आश्चर्यका रूपमा हेरेका छैनन् ।

विगत केही सातायता सरकारी नेकपाभित्रको कुरीकुरी लाग्ने गरी छ्याङ्गै देखिएको खिचातानी, प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वली र द्वितीय अध्यक्ष पुष्पकमल दाहालबीचको घिनलाग्दो आरोपप्रत्यारोप, तानातान, लुछाचुँडी र हिलो छ्यापाछ्यापले दलाल पुँजीवादको असली स्वरूप उदाङ्गो पारेको छ । उनीहरूका आरोपपत्र हेर्दा लाग्छ, कसरी यी पात्रहरूलाई जनताले कम्युनिस्ट पार्टी र नेताका रूपमा मत दिए होलान् र कसरी यी कुनै मूकअमूक पार्टी नेता, अध्यक्ष वा प्रधानमन्त्रीसम्म बने होलान् ! कम्युनिस्टप्रति आकर्षित जनमतको दुरुपयोग गर्दै सत्तामा पुगेर सरकार सञ्चालन गरिरहेका यी दुई नेताले एकअर्कालाई लगाएको अभियोग र लाञ्छना हेर्दा लाग्छ– यी आफ्नो पार्टी, दर्शन, विचार र राजनीतिबाट होइन, नितान्त दलाल पुँजीवादी सत्तास्वार्थका लागि र अन्य शक्तिहरूबाट सञ्चालित छन् वा त्यसभन्दा बढी यिनीहरूको कुनै ल्याकत छैन । आबारा, गुन्डा, डाँकाहरू वा राजनीतिक रूपमै पनि सरकारभन्दा बाहिर रहेका प्रतिपक्षी पार्टीहरूभित्रको विवाद भए जनता र देशलाई सामान्य चासो र चिन्ता मात्र हुने थियो, खासै ठूलो सरोकारको विषय हुने थिएन । विगतमा एमाले– माले विवाद, राप्रपाभित्रका विवाद र मधेसवादी भनिने क्षेत्रीय समूहहरूबीचका विवाद नेपाली जनतालाई कण्ठस्थ छन् र ती विवादको परिणाम पनि जनताले राम्रौसँग चखाइदिएका हुन् । तर ‘जनताको मत’ लिएको दाबी गर्दै सरकारमा बसेको एउटै पार्टीका यी दुई पात्रहरूको एकापसको विवादले यी एउटै पार्टीका दुईजना नेता नभएर एक–अर्को शत्रु मुलुकका दुई पार्टीका नेताहरू हुन् र यी एकले अर्कोलाई सिध्याएर मात्र आफ्नो भविष्य सुदृढ हुने देखिरहेका छन् भन्ने लाग्छ । नेपालको राजनीतिक इतिहासमै उच्च ओहोदामा बसेका दुई नेता वा एउटै पार्टीका दुई गुटका अगुवाहरूले यसप्रकारका घिनलाग्दा आरोप–प्रत्यारोपहरू लगाएको यो सबैभन्दा निकृष्ट नमुना हो भन्न सकिन्छ ।

दाहालको १९ पृष्ठको र वलीको त्यसको ठीक दोब्बर ३८ पृष्ठको आरोपपत्र हेर्दा र उनीहरूले एकअर्कालाई लगाएको लाञ्छना हेर्दा सन्ध्याकालीन रत्नपार्कका पेटीहरूमा सुनिने संवादहरू पनि कम जँच्छन् । रत्नपार्कका पेटीहरूमा साँझ पर्न थालेपछि मात्र यस्ता मोलमोलाइ, आरोप–प्रत्यारोप र छिनाझप्टीहरू देखिन्छन् । सस्तो यौनबजारमा ग्राहक कुरिरहेकी एउटी बेस्या (माफ गर्नुहोला यहाँ रहरले होइन, बाध्यात्मक रूपमा महिलाप्रति सङ्केत गर्नुपरेको हो ले आफ्नो ग्राहक खोसिदिने चिन्ताले ग्रस्त अर्की बेस्यालाई लगाउने आरोपभन्दा कुनै पनि मानेमा वली र दाहालका एकापसका लाञ्छनाहरू कम छैनन् । रत्नपार्कमा ग्राहकको हारालुछले त्यस किसिमको निकृष्ट संवाद र झडप उत्पन्न गरेको हुन्छ, सरकारी नेकपामा सत्ता, सरकार र सुखसुविधा हत्याउनका लागि यसप्रकारको आरोप–प्रत्यारोप भइरहेको छ । रत्नपार्कको भाँडभैलो पेट भर्नका लागि बाध्यताको उपज हो भन्न सकिन्छ तर वली र दाहालबीको भाँडभैलो सत्ताको दोहन र आआफ्ना गुटस्वार्थका बीचको टकराव ! ग्राहक कुर्न जानुअघिसम्म पुरुष वा महिला बेस्याबीच राम्रो मिलन हुन्छ । सँगै बसेर चियाखाजा खान्छन् तर जब ग्राहक रोज्ने समय आउँछ उनीहरूबीचको एकछिन अघिसम्मको मिलाप, मित्रता र एकता खरानी हुन्छ र भुत्लाभुत्ली र जगाल्टाजगल्टीसम्म पुग्छ । सत्ता दोहनको समय वा नेकपामाथिको प्रतिबन्ध र योद्धाहरूको हत्याको योजना र हर्कतसम्म वली र दाहालबीच कुनै विवाद देखिएन तर आज त्यो नराम्रारी सडकमा आइपुगेको छ र यो विखण्डनसम्म पुग्ने आकलन गर्न सकिन्छ । यस्तो अभियोग लगाएर पनि एकै ठाउँमा बस्नुको अर्थ रत्नपार्कको पेटीभन्दा तल झर्नु हो ।

जब सत्ता देशको रक्षा र जनताको भलाइबाट पूर्णतः विमुख हुन्छ र व्यक्ति र गुटस्वार्थमा लाग्छ, त्यसपछि वली र दाहाल वा सत्तालूटका लागि कचिङ्गल समूहहरू जन्मिन्छन् । यो दलाल पुँजीवादको निकृष्ट नमुना हो । यसप्रकारको अभ्यास दलाल पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी मुलुकहरूमा प्रसस्तै देख्न पाइन्छ । शासनसत्तामा नपुगुन्जेल उनीहरू जनतालाई विकास, समृद्धि र सुखका फोस्रा ललीपपका पुलिन्दा बाँड्दै हिँड्छन् र सत्तामा पुगेपछि विगतका सबै वाचा, बन्धन र प्रतिबद्धताहरू धुलोमा फ्याँकेर उनीहरू कुकर र बिरालाजस्ता हुँदै एकापसमा झम्टिन र भकुर्न थाल्छन् ।

नेपालको इतिहासमा केपी वली र पुष्पकमल दाहाल एक समयका राजनीतिक ‘हिरो’ वा नायक र आजको समयका खलनायक हुन् । झापा विद्रोहताका प्रमुख जिम्मेवारीमा रहेर पनि भारततिर भागेका वली र जनयुद्धको नेतृत्व गर्दागर्दै भागेर शत्रुक्याम्पमा पुगेका दाहाललाई नेपाली जनताले हिजो जानीनजानी नायक मानेकै हुन् । केपी वलीको योग्यता भनेको १४ वर्ष जेलजीवन र झापा विद्रोहको ब्याज हो भने दाहालको योग्यता छलछाम र धोकाधडी हो । भारतले नाकाबन्दी लगाएपछि हावादारी भाषण गरेर नेपाली देशभक्त जनमत लुट्ने वली र क्रान्तिकारी जनमत भुटेर दलाल पुँजीवादमा लम्पसार परेका दाहाल दुवैको गठजोड विचार र सिद्धान्तको समाप्तिपछि अस्तित्वरक्षाका लागि भएको आत्मसमर्पण थियो । समाजवाद र साम्यवाद त परै जाओस्, गणतन्त्र र सङ्घीयतासम्मको सपना पनि नदेखेका वली र साम्यवादको सपनासँग दलाल पुँजीवादी महत्वाकाङ्क्षा साटेका दाहालबीचको गठजोड नितान्त व्यक्तिगत, गुटस्वार्थ र सत्तालिप्सामा केन्द्रित थियो भन्ने उदाहरण उनीहरूबीचका यी आरोप–प्रत्यारोपपत्रले राम्ररी दिन्छ ।

नेपाल र स्वाभिमानी नेपाली जनतालाई वली र दाहाल गुटबीचको बाझाबाझ, झडप र मारामारको केही लिनुदिनु र सम्बन्ध छैन । आफ्ना कुत्सित स्वार्थका पोकाहरू लुकाएर पार्टीएकताका नाममा उनीहरूले झुक्याएको नेपाली जनमत यतिबेला आफ्नो निर्णयप्रति अवश्य पश्चाताप गरिरहेको छ । समाजवादको सपना देखाएर दलाल पुँजीवादी थाङ्नामा सुताउने वली र दाहाल अर्थात् वर्तमान सामाजिक फासिवादी सरकारका अगुवाहरूलाई निकट भविष्यले नै राम्रो पाठ सिकाउनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :