सर्वोच्च अदालतद्वारा नेकपा नेता शर्मालाई रिहा गर्न आदेश

सर्वोच्च अदालतद्वारा नेकपा नेता शर्मालाई रिहा गर्न आदेश

काठमाडौँ : लामो समयदेखि गैरन्यायिक थुनामा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा मङ्गलबार बन्दी प्रत्यक्षीकरण रिटमाथि भएको बहसमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेता विरहीलाई रिहा गर्न आदेश दिएको हो ।

शर्माका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, राजु अधिकारी र सरकारका तर्फबाट उपन्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बहस गरेका थिए ।

चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा ढाडको हड्डी भाँचिएर गम्भीर अवस्थामा उपचार गराइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई नेकपा नेता विरहीलाई अहिलेसम्म विभिन्न जिल्लामा घुमाइरहेको छ । हाल इलाका प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विरही लामो समयदेखि उच्च रक्तचाप, मुटुरोग, मधुमेह, थाइराइड, ढाडको हड्डी भाँच्चिएकोलगायत समस्याबाट पीडित छन् । विभिन्न खालका दीर्घरोगले पीडित नेकपा नेता एवम् माक्र्सवादी स्रष्टा विरहीलाई रिहा गर्न माग गर्दै उनका छोरा अविरल शर्माले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :