कारागारभित्रै मनाइयो एङ्गेल्सको २ सयौँ जन्मजयन्ती

कारागारभित्रै मनाइयो एङ्गेल्सको २ सयौँ जन्मजयन्ती

काठमाडौँ : विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सका अनन्य मित्र फ्रेडरिक एङ्गेल्सको २ सयौँ जन्मजयन्ती नख्खु कारागारमा भव्य कार्यक्रम गरी मनाइएको छ ।

एङ्गेल्सको सम्झनामा कारागार परिसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले एङ्गेल्स एक असल साम्यवादी भएको बताए । उनले माक्र्स, एङ्गेल्सलगायत साम्यवादीद्वारा परिष्कृत वैज्ञानिक समाजवादी सिद्धान्तलाई एङ्गेल्सले आफ्ना सहयोद्धा कार्ल माक्र्सका नाममा माक्र्सवादमा संश्लेषण गरेको र जीवनभर माक्र्सवादको रक्षा र प्रयोगका लागि सक्रिय हुँदै संसारका उत्पीडितहरूका लागि माक्र्सको निधनपछि अभिभावकत्व गरेकाले एङ्गेल्स एक महान् व्यक्ति भएको धारणा पनि राखे ।

एङ्गेल्सको सम्मानमा आयोजित कार्यक्रममा नेकपा नेता सुदर्शनले भने, ‘माक्र्ससँगको ४० वर्ष लामो सहकार्यमा एङ्गेल्सले साम्यवादी मित्रताको अद्वितीय उदाहरण पेस गर्नुभयो । माक्र्सको साम्यवादमा निजी सम्पत्तिको अन्त्य र सामूहिक उत्पादनको सामूहिक स्वामित्वको स्पष्ट परिभाषा दिनुभयो । एङ्गेल्स एक उद्योगपतिका छोरा भएर पनि सर्वहाराकृत भएर सर्वहारा श्रमिक वर्गका पक्षमा जीवनभर लड्नुभयो । नेपालका कथित साम्यवादीहरू झुत्रे सर्वहाराबाट उत्पीडित जनतालाई चुसेर अर्बपति भएका छन् । आज सच्चा साम्यवादीहरूले बुझ्नुपर्ने कुरा के छ भने माक्र्सवादमा भ्रम पार्न खोज्ने प्रवृत्तिका विरुद्ध जीवनभर लडेर एङ्गेल्सले क्रान्तिकारी स्पिरिट कायम गर्नुभयो । महान् साम्यवादप्रति आशावादको दीप प्रज्वलन गर्दै उत्पीडित जनतालाई उत्साहित पारिरहनुभयो ।’

उनले भने, ‘आम्नेसाम्ने हुँदा कृत्रिम रूपमा साथीको प्रशंसा गर्ने, पछि फर्किनासाथ कुरा काट्ने, निजी सम्पत्ति जम्मा गर्नका लागि अर्को साथीलाई पाखा लगाउने, षड्यन्त्रमा ज्यान फालेर लाग्ने, आफ्नो स्वार्थ पूरा गर्न दुस्मनको जिम्मा लगाउनेजस्ता काम कहिल्यै गर्नु हुँदैन । हामी माक्र्सवादका मूल व्याख्याता र विकासकर्ता एङ्गेल्सलाई मान्दछौँ भने यो कुरा क्रान्तिकारीहरूले बुझ्नु आवश्यक छ ।’

यस्तै तत्कालीन मातृका यादव नेतृत्वको नेकपा माओवादीका नेता श्रीचन राय यादवले माक्र्सवाद नमान्ने भन्नु सूर्यको तापलाई लिन्नँ र छाता ओढेर बस्छु भनेजस्तै कुरा भएको बताए । उनले अहिले आफू कुनै पार्टीमा नरहे पनि माक्र्सवादप्रति पूर्ण रूपमा विश्वस्त भएकाले एङ्गेल्सलाई हृदयैदेखि आरदर र सम्मान गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता सूर्य तिमिल्सिनाले र सञ्चालन उमेश खत्रीले गरेका थिए ।

यसअघि नख्खु कारागारभित्रै गत मङ्सिर ८ गते नेकपाको सातौँ पुनर्गठन दिवस पनि मनाइएको थियो । जेलभित्रै कार्यक्रम आयोजना गरी कार्ल माक्र्स, लेनिन र माओको पनि स्मृति गर्ने गरिएको छ । त्यस्तै जेलभित्रै जनयुद्ध दिवस, सांस्कृतिक प्रतिरोध दिवसलगायत विभिन्न दिवस र समारोह आयोजना गरी जेल बसाइलाई वैचारिक र सिर्जनात्मक बनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :