मार्कु दुर्घटनामा ज्यान गुमाएका कुँवरप्रति नेकपाले दियो श्रद्धाञ्जली

मार्कु दुर्घटनामा ज्यान गुमाएका कुँवरप्रति नेकपाले दियो श्रद्धाञ्जली

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले मङ्सिर १५ गते अछाम जिल्लाको सदरमुकाम मङ्गलसेनबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायात प्रालिको बस चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना भई ज्यान गुमाएका निरज कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका इन्चार्ज नवीन र सेक्रेटरी आखिरद्वारा जारी विज्ञप्तिमा दुर्घटना भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै र मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ मङ्सिर १५ गतेका दिन अछाम जिल्लाको सदरमुकाम मङ्गलसेनबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायात प्रालिको ना ४ ख ९९७२ नं को बस चौरपाटी गाउँपालिका ७ मार्कुमा आज बिहान ०८ बजे दुर्घटना भएको खबरले हामी स्तब्ध भएका छौँ । दुर्घटनामा परी साँफे नगरपालिका ३ का निरज कुँवरको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । यस दुःखद् घटनामा ज्यान गुमाउने निरज कुँवरप्रति हाम्रो पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहित घाइतेहरूको निःशुल्क उपचारका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता दुर्घटनाहरू गुणस्तरहीन सडक र राज्यको प्रभावकारी अनुगमन नहुँदा दिनप्रतिदिन बढिरहेका छन् र राज्य मूकदर्शक बनेको छ । यस्ता दुर्घटनाहरूको रोकथामका लागि आवश्यक पहलकदमी लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :