हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

तुल्सीवीरलाई तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी

हुम्ला घटनामा पार्टीको कुनै संलग्नता छैन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाले २०७७ मंसिर ६ गतेको दिन हुम्ला कृषि विकास कार्यालयको गेटमा बम राखिएको भनि ग्लोबल शैलीमा पार्टीलाई दोष दिएकोमा आपत्ति जनाउँदै उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । हुम्ला जिल्ला इन्चार्ज सुरेन्द्रले सोमबार विज्ञप्तिमार्फत खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का सर्वसाधारण तुल्सीवीर ऐडिलाई प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै निर्दोष तुल्सीवीरलाई विनासर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

जिल्ला इन्चार्ज सुरेन्द्रले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा विगत लामो समयदेखि परिवर्तनको यात्रामा अगाडि बढिरहेको कुरा सर्वविदितै छ । यो यात्रा जनताको जनजिविका राष्ट्रियता गणतन्त्रको रक्षाको लागि हो । करिब लामो समय राणा शासन पञ्चायत बहुदल र निरंकुश शासन राजतन्त्रका चालक रजौटा सामान्त जमिनदार साहु महाजनले हुम्ला र हुम्ली जनताको रगत र पसिना चुसे त्यो रगत र पसिनाको आहालमा आफ्नो स्वर्ग ठड्याए । हुम्ली जनताका विजोग र कहाली लाग्दा दिन जस्तोको तेस्तै रहे । यी विजोग अभाव र अन्याय अत्याचार ढाल्न फेरी नयाँ क्रान्तिको झन्डा उठाउनुपर्ने भयो र नेपाल कम्युनिस्ट पार्टीले उठायो ।’

इन्चार्ज सुरेन्द्रले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘आज हुम्ला जिल्लामा भ्रष्टाचारीको राज चलिरहेको छ । जनताको दिनचार्य झन कष्ठकर बन्दै गरेको छ । हुम्ली जनताको रोगभोग अभाव पूर्व जन्मको अभिसाप बनेको छ । भ्रष्टाचार जाली फटाहाको अन्त्य गर्न हाम्रो पार्टीले जनभेटघाट, छलफल, सचेतना अभियानमा जुटेको छ । यो अभियानमा केपी दलालको सरकार, भ्रष्टाचारी, परिवर्तन तत्वहरु, क्रान्ति र क्रान्तिकारी पार्टी निद्रोष जनतामाथि निर्भम भएर राक्षसी शैलीमा प्रकट भएका छन् । मिति २०७७ मंसिर ६ गतेको दिन कृषि विकास कार्यालयको गेटमा बम राखिएको भनि ग्लोबल शैलीमा पार्टीलाई दोष दिएको छ । उक्त घटनामा हाम्रो पार्टीको कुनै संलग्नता छैन । खार्पुनाथ गाउँपालिका वडा नं. ५ दुर्पा निवासी सर्वसाधारण तुल्सीवीर ऐडिलाई गुन्डागर्दी शैलीमा पक्राउ गरेको छ ।’

जिल्ला इन्चार्ज सुरेन्द्रले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘निर्दोष व्यक्तिमाथि पुर्वाग्रही ढंगबाट पक्राउ गरेकोप्रति घोर निन्दा र भत्र्सना गर्दछौं । अन्त्यमा क्रान्ति र क्रान्तिकारी पार्टीलाई सखाप पार्ने निर्दोष जनतालाई दुःख दिने, जबरजस्ती जिल्लामा दुःख दिने र निर्दोष तुल्सीवीर ऐडिलाई विनासर्त रिहाई नगरे कडा प्रतिरोध गर्ने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :