बलात्कार र हत्याविरुद्ध संयुक्त महिला सङ्घर्ष समितिको चेतावनी

काठमाडौँ : संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले प्रेस वक्तव्य जारी गर्दै देशका विभिन्न ठाउँमा भइरहेका महिला र बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले जारी गरेको वक्तव्यमा पछिल्लो समय महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘एक अबोध बालिकामाथि भएको यसप्रकारको जघन्य अपराधको जति नै निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सङ्घर्ष समिति घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय, बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र न्यायका लागि जोडदार माग गर्दछ । बालिका हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै विरोधमा निस्किएका सर्वसाधारणमाथि प्रहरीद्वारा व्यापक दमन भएको छ । सङ्घर्ष समिति प्रहरी दमनको घोर भत्र्सना गर्दछ । प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ भने गम्भीर घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क उपचार र घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘पछिल्लो समयमा महिला र बालिकामाथिको बलात्कार, बलात्कारपछि हत्यालगायत महिला हिंसाका घटना दिनानुदिन बढिरहेका छन् । महिला तथा बालिकामाथि भइरहेको यसप्रकारको हिंसाका घटनाले सिङ्गो मुलुकलाई नै चिन्तित र लज्जित बनाइरहेको छ । यस्ता घटनालाई राष्ट्रिय समस्याका रूपमा बुझ्न र समस्या समाधान गर्न गम्भीर हुन सरकारसँग जोडदार माग गर्दछौँ । यसप्रकारका महिला तथा बालिकामाथिका हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र ती घटना हुन नदिनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला सङ्गठन, मानवअधिकारवादी सङ्घसंस्थाहरूसँग अपिल गर्दछौँ ।’

वक्तव्य जारी गर्नेहरूमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी राजकुमारी शाही, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अम्बिका मुडभरी, अखिल नेपाल महिला सङ्घकी मीना पुन, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी आशा महर्जन र अखिल नेपाल महिला युनियनकी सीता सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :