कायरवादी भुल्भुलैया

कविता

कायरवादी भुल्भुलैया

मान्छे आफ्नो कर्तव्य र व्यवहारमा चुक्न थालेपछि
निकम्मा भई जन्मिँदा रैछन् श्वानझैँ भुक्न थालेपछि

कर्तव्यच्यूत भा’छन् केही क्रान्तिकारी सहयोद्धाहरु
पुँजीवादी दलाल सरकारको अघि झुक्न थालेपछि

क्रान्तिखिलाफ लाग्नेलाई यहाँ कसले देलान् साथ
सर्वहारा जनतादेखि डराई सहरमा लुक्न थालेपछि

रहन्छ र कहाँ सकुशल हाम्रो हुर्मतका कीर्तिस्तम्भ
स्वयम्ले खा’को थलियामा स्वयम् थुक्न थालेपछि

बोक्न झोला छाड्छन् नै यहाँ केही स्वार्थी नेताहरु
सहस्र पिँढीलाई भरथेग गर्ने सम्पत्ति पुग्न थालेपछि

फुट्छ पक्कै आस्थाको बाँध सर्वहारा जनताको
क्रान्तिबेगर शान्तिको बात सनाई फुक्न थालेपछि

हेटौँडा, मकवानपुर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :