विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

काठमाडौँ : एउटा खेलाडी र उत्कृष्ट खेलले गुमनाम मुलुकलाई संसारभर चिनाउन सक्छ भन्ने कुराका उदाहरण रहेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको असामयिक निधन भएको छ । आफ्नो कप्तानीमा म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालई विश्वकप दिलाएका थिए । मस्तिष्कमा रगत जमेपछि उपचार गराइरहेका ६० वर्षीय म्याराडोनाको हृदयाघातबाट निधन भएको हो । मस्तिष्कको शल्यक्रियापछि म्याराडोनालाई सुधारगृहमा राखेर उपचार गराइएको थियो ।

म्याराडोना फुटबल खेलमा महान् खेलाडीको उपाधिले परिचित थिए । विश्व फुटबलमा पेलेपछि गर्वसाथ लिइने नाउँ थियो म्याराडोनाको । राम्रा, उत्कृष्ट खेलहरूकै कारण आफू र आफूसँगै आफ्नो मुलुकलाई पनि संसारमा चिनाउन सफल थिए म्याराडोना । म्याराडोना २१ वर्षका छँदा सन् १९८२ को विश्वकप फुटबलबाट चर्चित बनेका थिए ।

म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए । बीबीसीका अनुसार अर्जेन्टिनाका तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोना फुटबलमा स्थापित त थिए नै तर लागूपदार्थको कुलतका कारण विवादमा पनि परे । कोकिनको कुलतका कारण उनले धेरै प्रशंसकहरू पनि गुमाए । । सन् १९९१ मा परीक्षणमा लागूपदार्थ पुष्टि भएपछि उनले १५ महिना प्रतिबन्ध झेल्न परेको थियो । व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए । सन् २००८ मा उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए तर जर्मनीद्वारा क्वार्टरफाइनलमा आफ्नो देश पराजित भएपछि सन् २०१० को विश्वकपपछि उनले त्यो जिम्मेवारी छाडिदिएका थिए ।

बीबीसीका अनुसार मस्तिष्कमा रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो ।

समाचारहरूमा जनाइएअनुसार अर्जेन्टिनी फुटबल एसोसिएसनले ट्विटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ, ‘तिमी सधैँ हाम्रो हृदयमा रहनेछौ ।’

अर्जेन्टिनाका राष्ट्रपति अर्बेर्टो फेर्नान्डेसले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । फेर्नान्डेसले भनेका छन्, ‘तिमीले हामीलाई विश्वको उच्च तहमा पुर्यायौ । हामीलाई निकै खुसी दियौ । हामी सधैँ तिमीलाई सम्झिरहनेछौँ ।’

संसारभरका फुटबल खेलाडी र प्रशंसकहरूले म्याराडोनाको निधनमा शोक प्रकट गरेका छन् । म्याराडोनाको असामयिक निधनमा विश्वप्रसिद्ध ब्राजिली फुटबल खेलाडी पेलेले भावुक श्रद्धाञ्जली प्रकट गर्दै भनेका छन्, ‘कस्तो दुःखद् खबर ! मैले एक महान् साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ ।’

पछिल्लो समय अत्यन्त चर्चित अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको बताएका छन् भने क्रिस्टियानो रोनाल्डोले उनलाई फुटबलका अद्वितीय जादुगरको उपमा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :