जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

समर झुसे/रोल्पा : केपी वली सरकार राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, दमन र षड्यन्त्रमै व्यस्त रहेको समयमा जनताका कलाकाहरू भने जनतासँग दुःखसुख साट्दै, हातेमालो गर्दै र तिनै दुःखका कथालाई गीतसङ्गीत बनाउँदै जनताको घरदैलोमा पुगेका छन् ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोमा पर्ने रोल्पा जिल्लाका सात स्थानमा हजारौँ जनसमुदायको सहभागितामा सामना जनसाङ्गीतिक अभियान तथा जनसभा सम्पन्न भएको छ ।

गत कात्तिक २१ गतेबाट मङ्सिर ३ गतेसम्म सञ्चालन भएको सामना जनसाङ्गीतिक अभियानले परिवर्तन गाउँपालिका, गङ्गादेव गाउँपालिका, त्रिवि गाउँपालिकालगायत विभिन्न सात ठाउँमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न गरेको हो ।

सातै ठाउँका कार्यक्रमलाई नेकपा रोल्पाका सेक्रेटरी मानवले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मानवले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेको र यो एकीकृत जनक्रान्तिको माध्यमबाट अनिवार्य प्राप्त भएरै छोड्ने दिशामा अग्रसर भइरहेको बताएका थिए ।

कार्यक्रमहरूमा सम्बोधन गर्दै सेक्रेटरी मानवले यो दलाल पुँजीवादी सत्ताले थोपरिरहेको अन्याय, अत्याचार, महँगी, कालोबजारी, राष्ट्रघात, जनघातका विरुद्ध आम देशभक्त, सचेत युवाहरू, क्रान्तिकारी जनसमुदाय, बुद्धिजीवी एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामना परिवारले जनवादी गीत, नृत्य, नाटक, अपेरा पनि प्रस्तुत गरेको थियोे ।

सबै स्थानमा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारका सहसंयोजक आरोहले गरेका थिए । कार्यक्रममा युवा, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, महिलालगायत हजारौँ जनसमुदायको उपस्थिति रहेको थियो ।

यसअघि सामना परिवारले कैलालीका गाउँगाउँसम्म पुगेर जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी जनजागरण ल्याएको थियो । यो अभियानमा २० जना जनकलाकार सामेल छन् । सामनाको अभियान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :