कैलाली कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न

कैलाली कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न

धनगढी : दीपावली तथा छठको बिदाइसहित कैलाली कारागारका कैदीबन्दीहरूले यही मङ्सिर ६ गते शनिबार शनिबारीय साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।

कारागारका नाइके कैलास पाल (गडरिया) को अध्यक्षता, रमेश बटालाको सञ्चालन र नृत देवकोटाको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमका प्रमुख अतिथि कैलाली कारागार ‘बी’ ब्लकका मूल नाइके जयबहादुर धानुक थिए भने अन्य अतिथिहरूमा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन, विमल चौधरी, अनुप महरा, भुवन सिंह, जनक मिजार, प्रेमध्वज केसी, गङ्गाराम थारूलगायत थिए ।

कार्यक्रममा मूल रचना वाचक ओमप्रकाश पुन थिए भने अरू स्रष्टाहरूमा देवबहादुर विक, चन्द्रप्रकाश रिमाल, सुवर्ण श्रेष्ठ, जनक मिजार, सन्तोष नेपाली, शङ्कर थापा, गणेश रोकाया, गोरख रोकायालगायत थिए । कार्यक्रममा गीत, कविता, सायरी, चुट्किला र मुक्तकहरू सुनाइएको थियो । कारागारका पीडा, देशको समस्या, सामाजिक परिवेश र आफ्नै जीवनसम्बन्धी रचनाहरू वाचन गरिएको बताइएको छ । प्रस्तुत रचनाहरू सङ्कलन गरेर उत्कृष्ट रचना प्रकाशन गर्ने निर्णय पनि कैदीबन्दीहरूले गरेका छन् ।

दीपावली अर्थात् हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार र छठ पर्वको धार्मिक तथा सामाजिक पक्षको महत्वका बारेमा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन, कारागारका नाइके विमल चौधरी, मूल नाइके जयबहादुर धानुक, सुदूरपश्चिमका चर्चित कलाकार सुवर्ण श्रेष्ठले प्रकाश पारेका थिए । नियमित सिर्जनात्मक कार्यक्रम गर्दा कारागारको बसाइ सहज, मनोरञ्जनपूर्ण र कैदीबन्दीहरूको व्यक्तित्व विकास हुने कैदीबन्दी बताउँछन् ।

शनिबारीय साहित्यिक, सांस्कृतिक कार्यक्रम सुरु भएदेखि प्रायः सबै कैदीबन्दीको हातमा कापीकलम रहने गरेको र सिर्जनशीलता बढेको कैदीबन्दीको प्रतिक्रिया छ । यसले कारागारको अत्यासपूर्ण वातावरणलाई सहज बनाउँदै लगेको अनुभव कैदीबन्दीहरूको छ ।

कार्यक्रममा कारागारकै कैदी उदय रावतको हृदयाघातका कारण भएको मृत्यु, कारागारकै मेस सञ्चालक भुखाली चौधरीको आमाको मृत्युलगायत घटनाले तिहारमा भनेबमोजिम रचनात्मक कार्यक्रम गर्न नसकिएको र भैलो खेल्ने र सामूहिक खानपिन गर्ने कार्यक्रम सम्पन्न भएको समीक्षा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :