नयाँ उत्सवका रूपमा सातौँ पार्टी पुनर्गठन दिवस

नयाँ उत्सवका रूपमा सातौँ पार्टी पुनर्गठन दिवस

मानिसको जीवनमा झैँ राजनीतिक पार्टीको आन्दोलनमा पनि कुनै दिन विशेष दिनका रूपमा आउँछन् । अझ क्रान्तिकारी पार्टीको जीवनमा कतिपय दिनहरू अझै धेरै महत्व, स्मरणीय र उत्सवमय भएर आउँछन् । नेपालमा नेकपाको स्थापना भएको दिन विसं २००६ होस् वा महान् जनयुद्ध आरम्भ भएको दिन १ फागुन, २०५२ होस्, नेपाली कम्युनिस्ट आन्दोलनका लागि विशेष महत्वका दिनका रूपमा स्थापित छन् । वैज्ञानिक समाजवाद स्थापनाका लागि महान् योद्धाहरूले महान् यात्रामा लामबद्ध हुने उद्घोषसहित नयाँ कार्यारम्भ गरेका यी विशेष दिनहरूले नै गौरवशाली इतिहासको प्रतिनिधित्व गरिरहेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा २०७१ सालको मङ्सिर ८ पनि त्यस्तै सम्झना मात्र होइन, गर्व गर्नलायक दिन हो । यही दिन नेपालका संशोधनवादी, अवसरवादी र गद्दारहरूलाई चुनौती दिँदै क्रान्तिकारी धारले इतिहासका खराब विरासतहरूबाट विद्रोह गरेको थियो र नेकपा स्थापनाको भ्रूण बसेको थियो । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले यो दिनलाई नेकपा पुनर्गठन दिवसका रूपमा उत्सव गरेर मनाउँदै आएको छ । यो वर्षको मङ्सिर ८ गते नेकपा पुनर्गठनका ६ वर्ष पूरा भई सातौँ वर्ष आरम्भ हुँदैछन् । त्यसैले नेपालका आमूल परिवर्तनका पक्षधर, क्रान्तिकारी कम्युनिस्टहरूका लागि यो विशेष उत्सवको दिन हो ।

नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको मङ्सिर ८ गते सातौँ पार्टी पुनर्सथापना दिवसलाई ‘एकीकृत जनक्रान्तिको झन्डालाई उच्च पारौँ’ मूल नारासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपले मनाउने भएको छ ।

२०५२ सालमा जनयुद्ध आरम्भ गरेको तत्कालीन नेकपा (माओवादी) को मूल नेतृत्वले दलाली, गद्दारी र आत्मसमर्पणको बाटो अख्तियार गरेपछि तत्कालीन नेकपाभित्र २०६० को दशकको मध्यबाटै दुई लाइन सङ्घर्ष अघि बढेको थियो । अन्ततः २०६९ सालमा त्यसले ठोस रूप प्राप्त गर्यो र मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा–माओवादी स्थापना भएको थियो । नेकपा–माओवादी दलाल र गद्दारहरूले रछ्यानमा फ्यालेको क्रान्तिको झन्डा उठाएर नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न पुनर्गठन गरिएको थियो तर कार्यदिशाको अलमल र नेतृत्वको किंकर्तव्यविमूढताका कारण त्यो नेतृत्वले पनि क्रान्ति अघि बढाउन नसकेपछि अन्ततः २०७१ साल मङ्सिर ८ गते कमरेड विप्लवको नेतृत्वमा क्रान्तिकारी पार्टी ‘नेकपा माओवादी’ को पुनर्गठन गरिएको थियो । पार्टीको आठौँ महाधिवेशनसम्म आइपुग्दा यही पार्टी नेपाल कम्युनिस्ट पार्टी बन्यो र एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गरी क्रान्ति अघि बढाउने हिम्मत गर्यो । यसले सबैखाले अवसरवाद, संशोधनवाद, गोलचक्करवादहरूलाई परास्त गर्दै विकसित नयाँ कार्यदिशा कार्यान्वयन गरिरहेको छ । यतिबेला नेकपा नेपालको एक शक्तिशाली वैकल्पिक शान्तिकारी शक्तिका रूपमा स्थापित बनेको छ । यो विद्रोहको आरम्भ भएको दिन अर्थात् पार्टी पुनर्गठन भएको दिन मङ्सिर ८ गते थियो र त्यो अहिले ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गर्दैछ । पार्टी पुनर्गठन मात्र नभएर एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाको विकास, क्रान्तिको पहलकदमी, क्रान्तिकारी ध्रुवीकरण, क्रान्ति सञ्चालन र क्रान्तिको सफलताउन्मुख अवस्थाका कारण पनि मङ्सिर ८ गते नेपालको राजनीतिक आन्दोलनको इतिहासमा निकै महत्वपूर्ण दिन साबित भएको छ । त्यसैले यो नेकपाको मात्र नभएर उत्पीडित श्रमिक वर्ग, उत्पीडित राष्ट्रियता, दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडित दलित, महिला, जनजाति, मजदुर, किसान सबैको विशेष दिन भएर अघि आएको छ ।

नेकपा दलाल पुँजीवादी सत्ताको वैकल्पिक शक्ति भएर उदाएपछि यो व्यवस्था धर्मराएको छ । आफ्नो अस्तित्वरक्षाका लागि केपी वली–पुष्पकमल दाहालले टेको दिएर राखिरहेको दलाल पुँजीवादी सत्ता र सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको दुई वर्ष पुग्नै लागेको छ । २००६ सालमा स्थापना भएदेखि नै कहिले मातृकाप्रसाद कोइरालाको संसदीय प्रजातन्त्र त कहिले महेन्द्रको पञ्चायती व्यवस्था, कहिले गिरिजा–शेरबहादुर र सूर्यबहादुर थापाहरूको प्रजातन्त्र र ज्ञानेन्द्रको शाहीकाल त कहिले केपी–पीकेको लोकतान्त्रिक गणतन्त्र सबै कालमा कठोर प्रतिबन्ध र दमनको सामना गर्दै आएको छ । यतिबेला पनि नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेपालको कम्युनिस्ट आन्दोलनले कम्युनिस्ट नाउँधारी दलाल पुँजीवाद र साम्राज्यवादका एजेन्टहरूबाट प्रतिबन्ध खेपिरहेको छ तर विगत ७० वर्षसम्म निरन्तर सत्ताका प्रतिबन्ध र दमनहरूको सामना गर्दै आएको नेकपा वली–दाहालको प्रतिबन्धलाई पनि पचाएर स्पातिलो बनेको छ । कमरेड स्टालिनले कम्युनिस्टहरू विशेष धातुले बनेका हुन्छन् भनेझैँ वली–दाहालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई प्रमुख मुद्दा बनाएर दलाल पुँजीवादका विरुद्ध क्रान्ति गरिरहेको नेकपामाथि प्रतिबन्ध लगाए पनि नेकपाले जनयुद्धमा झैँ सरकारी प्रतिबन्धलाई हावा खुवाइदिएको छ । फलस्वरूप ११ जना योद्धाहरूको बलिदान र हजारौँ नेता–कार्यकर्ताको गिरफ्तारी र जेलनेलका बीचमा पनि नेकपाले देशभर आफ्नो अभियान शानदार ढङ्गले जारी राखेको छ र यो झन्झन् उत्साहपूर्ण ढङ्गले अघि बढिरहेको छ । नेपाली श्रमिक–उत्पीडित जनताले नेकपा नै देशको एक मात्र भरपर्दो विकल्प हो भन्ने महसुस गरिरहेका छन् । त्यसैले पनि नेकपा पुनर्गठन दिवसमा नेपाली श्रमिक जनताको उत्साहजनक सहभागिता हुने देखिन्छ ।

एउटा सुखद संयोग के पनि छ भने पुष्पकमल दाहाल प्रचण्ड हुँदैको समयमा जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) ले २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना नेपालको घोषणा गरेर दुस्मनका क्याम्पहरूमा धावा बोलेको थियो भलै तिनै प्रचण्डहरू आज हिजोका दुस्मनका क्याम्पहरूमा शरण लिन पुगेका छन् तर यो दिनले नेपाली क्रान्तिकारी शक्ति र नेपालका जनतालाई भने ऐतिहासिक दिवसको झझल्को दिने नै छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :