धानका बालाहरूसँग विचार, कलम र किबोर्डको साक्षात्कार

सन्दर्भ : जनश्रमदान अभियान

धानका बालाहरूसँग विचार, कलम र किबोर्डको साक्षात्कार

सिर्जनानगर (रामेछाप) : पढेलेखेका र कुर्सीमा बसेर बौद्धिक श्रम गर्ने मानिसहरू शारीरिक श्रममा गाँसिने कुरा पुरातन वा आधुनिक भनिएको पुँजीवादी युगका लागि ‘असुहाउँदो’ कुरा मानिन्छ । यही समस्या बुझेर सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङले किसान र बौद्धिक श्रमिकका बीचको खाडललाई पुर्न बौद्धिक श्रमिकहरूलाई खेतबारीमा र खेतबारीमा काम गर्ने श्रमिकहरूलाई विश्वविद्यालयमा पठाऊ भनेका थिए । श्रम र सीप आदानप्रदान गरेर ज्ञान आर्जन गर्ने र एक क्षेत्रको महत्वपूर्ण ज्ञान अर्को क्षेत्रमा हस्तान्तरण गर्ने यो व्यावहारिक पद्धति पनि हो ।

पुँजीवादी र सामन्ती चिन्तनले माओको यो महान् र व्यापक दृष्टिकोणलाई अपव्याख्या गर्दै कम्युनिस्टले प्राध्यापक र डाक्टरलाई खेतबारीमा र खेतमा काम गर्ने किसानलाई कलेजहरूमा पठाउँछ भनेर माओको व्यावहारिक ज्ञानको सिद्धान्तलाई होच्याउने प्रयत्न गरे पनि सच्चा माक्र्सवादीहरूले भने त्यसलाई व्यवहारमा प्रयोग गर्ने गरेका छन् ।

कम्युनिस्ट नामधारी संशोधनवादी र दलाल पुँजीवादका मतियारहरू श्रमलाई तुच्छ मान्दै राजनीतिक, आर्थिक, सांस्कृतिक दलालीमा लागे पनि क्रान्तिकारी माक्र्सवादी अर्थात् मालेमावादीहरू भने श्रमलाई उच्च सम्मान गर्दै किसानहरूसँग हातेमालो गरिरहेका छन् । नेकपाले त यसलाई देशभर अभियानकै रूपमा अघि बढाएको छ । नेकपाका विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरू यतिबेला किसानको खेतमा धानका बालाहरूसँग साक्षात्कार गरेर नयाँ अनुभव हासिल गर्ने र विचार आदानप्रदान गर्ने काम गरिरहेका छन् ।

यसैबीच रातो खबर प्रकाशन गृह पनि बौद्धिक श्रमका बीचमा जनश्रममा जोडिएको छ । नेकपाका विभिन्न जनवर्गीय सङ्गठनहरू किसानको खेतबालीमा जनश्रमदानमा जोडिएकै सन्दर्भमा रातो खबरका तर्फबाट पनि श्रमदान गरिएको हो ।

यसैक्रममा रातो खबरका सम्पादक अशोकप्रसाद सुवेदीले आफ्नो गृहजिल्ला रामेछाप मन्थली नपा १, सिर्जनानगरस्थित स्थानीय किसान हिरण्यबहादुर सुवेदी (हरिबाबु) को कालापानीस्थित खेतमा सोमबार दिनभर धान काटेर श्रमदान गरेका छन् ।

किसान हरि र उनकी पत्नी सानुले सहरिया वा लेखापढा गरेका मानिस किसानको खेतबारीमा आएर श्रम गर्दा आफूहरूलाई हौसला थपिएको बताए । श्रममा सहभागी राधा सुवेदी र सरिता सुवेदीले पत्रकारसँगै खेतमा धान काट्दा रमाइलो लागेको र यस्तो कार्य अरूले पनि सिक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :