विद्याको कसम

कविता

विद्याको कसम

देश–दुनियाँ जेसुकै होस्
आस्था र आदर्श भाँडमा जाओस्
पार्टी फुटे फुटोस्
सङ्गत छुटे छुटोस्
सहमति टुटे टुटोस्
अदालतको धाराले जे भनोस्
विपक्षीले आरोप जेसुकै लगाओस्
शीलअश्लील जेसुकै होस्
पदीय दायित्व र कर्तव्य जे भए पनि
तिमीलाई मात्र विद्या भए भयो
विद्यालाई मात्र खुसी पारे भयो !!

जति बोक्रो राष्ट्रवादी देखिए पनि
तिम्रा कालापानीका कुरा बनावटी थिए
लिम्पियाधुरा र लिपुलेकका कुरा बाध्यकारी थिए
तिम्रो चुच्चे नक्सा देखावटी थियो
तिम्रो निशानी छाप नक्कली थियो
आदिवासी र मधेसीलाई गाली गरेर
किन नश्लीय राष्ट्रवाद देखाउन खोज्छौ ?
तिम्रो नक्कली राष्ट्रवाद त महाकालीमा बगेकै थियो
बुझ्नेले कुरा बुझून्–नबुझून्
सुन्नेले कान खोलून्–नखोलून्
तिम्रो छद्म राष्ट्रवादी धोती खुस्किएपछि
गुलाम राष्ट्रवादको जामा जति लाए भयो
काशी र हरिद्वार जहाँ गए पनि
तिमीलाई मात्र विद्या भए भयो
विद्या मुसुक्क मस्कुराए भयो !!!

जति स्वाभिमानका कुरा गरे पनि तिमीले
‘रअ’ को आशीर्वाद मिलेकै थियो
सीआईएको आशीर्वाद पनि मिल्दै गयो
कहिलेकहीँ मोदीसँग ठुस्स भएर
उत्तरतिर नि फर्किन खोज्छौ र ?
न्वारनदेखि वर्तमानसम्म तिम्रो
दक्षिणले लालनपालन गरेकै भयो
के मतलब तिमीलाई जसलाई जे समस्या परोस्
देशमा कोरोना कहर जति बढे बढोस्
विद्रोहको मशाल जति बले बलोस्
तिम्रो कुर्सी बचे भयो
विद्यालाई मात्र खुसी पारे भयो !!!

अब रोग, भोग र शोकले यहाँ
कोही मर्नु पर्दैन भने पनि
समृद्ध नेपाल र सुखी नेपालीको नारा जति दिए पनि
मजदुर भोकै रहून्, के फरक पर्छ र ?
किसान गरिब होऊन्, के फरक पर्छ र ?
खेतबारी बाँझै रहून्, के फरक पर्छ र ?
युवा बेरोजगार होऊन्, के फरक पर्छ र ?
नागरिक बिदेसिऊन्। के फरक पर्छ र ?
जनता रोगले मरून्, के फरक पर्छ र ?
अस्पताल बिरामीले भरिऊन्, के फरक पर्छ र ?
मुर्दाघरमा लासहरू सुतून्, के फरक पर्छ र ?
देशका सीमाहरू दिनहुँ मिचिऊन्, के फरक पर्छ र ?
तिमीलाई बालुवाटार भए भयो
परदेशबाट कर उठाए भयो
सोची–सम्झी विपत्तिलाई गाली दिए भयो
मन लागे शीतल निवास गए भयो
काम, धाम, बदनाम जेसुकै होस्
तिमीलाई मात्र विद्या भए भयो
विद्या मुसुक्क हाँसिदिए भयो !!

तिम्रो अयोग्यताको प्रमाणपत्रमाथि
तिम्रो अक्षमताको कार्यप्रणालीमाथि
विद्वाने–विदुषीले जति आलोचना गरे गरून्
सारथीहरूले जति साथ छोडे छोडून्
टुटेका मन जति फाटे फाटून्
जोसुकैका भाग जति छुटे छुटून्
तिम्रो कुर्सी नढलेसम्म के फरक पर्छ र
राष्ट्रियताको सवाल जतासुकै जाओस्
कूटनीतिक मर्यादा भाँडमा जाओस्
मध्यरातमा भए पनि
सामन्त गोयलको हात समाउन पाए भयो
नेपाल आमाको छातीमा परेड खेल्ने
मुकुन्द नरवणेलाई तक्मा लाउन पाए भयो
बीआरआईलाई असफल पारेर
एमसीसी पारित गर्न पाए भयो
देशको अस्मिता जसले लुटे लुटोस्
तिमीलाई मात्र विद्या भए भयो
विद्यालाई मात्र खुसी पारे भयो !!!

क्रान्ति–प्रतिक्रान्ति जेसुकै होस्
समाजवाद, पुँजीवाद जेसुकै आओस्
माक्र्सवाद होस् वा अध्यात्मवाद
इसु, ईश्वर मानेकै छौ
योग्यता र क्षमता जे–जस्तो होस्
गोरुगाडामा अमेरिका पुगेकै छौ
अमेरिकाको भाषा जानेकै छौ
शकुनीकोे पाशा हानेकै छौ
जनता भुलाउन जानेकै छौ
प्रचण्ड भुलाउन सकेकै छौ
उखान–टुक्का हालेकै छौ
परी आए धाकधक्कु लाएकै छौ
पार्टीप्रणाली तिम्रो भताभुङ्ग छ
जता हेर्यो उतै लथालिङ्ग छ
विचार र सिद्धान्त हराएपछि
सक्नेले गुट–उपगुट चलाएकै छन्
मह खानेजति मोटाएकै छन्
गोकुलहरूले न्यानो काख पाएकै छन्
पाखा परेकाहरू चिच्याएकै छन्
अहो ! राष्ट्र र राष्ट्रियता कता हरायो
लड्नैपर्ने बेला फेरि आयो
देशको हाल बेहाल भयो
तिमीलाई मात्र विद्या भए भयो
विद्यालाई मात्र खुसी पारे भयो
विद्या मुसुक्क मुस्कुराए भयो !!!

धनगढी, १८ कात्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :