मनपरी नियुक्ति खारेज गरी प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त नगरिए परिणाम नराम्रो हुने क्रान्तिकारीको चेतावनी

मनपरी नियुक्ति खारेज गरी प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त नगरिए परिणाम नराम्रो हुने क्रान्तिकारीको चेतावनी

रुकुम पश्चिम : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुकुम (पश्चिम) ले विज्ञप्ति जारी गरी त्रिवेणी गाउँपालिकामा श्री त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा बिनाप्रतिस्पर्धा, सूचना नै प्रकाशन नगरी खेलकुद शिक्षक, प्रयोगशाला सहायक, पुस्तकालय सहायक र कार्यालय सहयोगी पदमा मनपरी ढङ्गले आफ्ना मान्छे नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदर गरी खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्न चेतावनी दिएको छ ।

अध्यक्ष प्रेमप्रशान्त बोहराले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले साक्खै बुहारीलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा थमाएको नियुक्तिपत्रको मसी नसुक्दै विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका अध्यक्ष, वडा नं १ र २ का वडाध्यक्ष, युवा सङ्घ रुकुमका इन्चार्जलगायतले मिलोमतोमा आआफ्ना नातेदारहरूलाई उक्त पदमा नियुिक्त दिएको भन्दै खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त नगरिए परिणाम नराम्रो हुने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी शिक्षा क्षेत्रको निजीकरण, व्यापारीकरण, माफियाकरण, भ्रष्टीकरण, औपनिवेशीकरण, अपराधीकरण तथा यस क्षेत्रमा हुने भ्रष्टाचार, अनियमिततालगायत तमाम विकृति–विसङ्गतिका विरुद्ध लामो समयदेखि निर्मम सङ्घर्ष गरिरहेका छौँ । हामीले गरेका त्याग, बलिदान, समर्पण र सङ्घर्षहरूले शिक्षा क्षेत्रमा सामान्य रूपान्तरण गरे पनि यस क्षेत्रको आमूल रूपान्तरणका निम्ति सिङ्गो राजनीतिक व्यवस्थाकै रूपान्तरण गर्नुपर्ने भएकाले अन्तिम सङ्घर्षका निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने मूल अभीष्ट लिई सङ्घर्षको मैदानमा उत्रिएको विषय जगजाहेर छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा खबरदारी र सङ्घर्षहरू निरन्तर जारी हुँदाहुँदै पनि राज्य, राज्यका सम्बन्धित संयन्त्र र त्यसका नेतृत्व भ्रष्ट र राजनीतिक दबाबबाट प्रभावित र प्रताडित रहेकाले शिक्षा क्षेत्रजस्तो साझा र पवित्र क्षेत्रमा पनि राजनीतिक चलखेल, मनपरी शिक्षक र कर्मचारी नियुक्ति गर्ने, मनपरी ढङ्गले विद्यार्थीबाट शुल्क असुली गर्ने तथा विद्यालयको सम्पत्ति दुरुपयोग गर्नेजस्ता विकृतिहरू यथावत् छन् । यसै सन्दर्भमा त्रिवेणी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले साक्खै बुहारीलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा थमाएको नियुक्तिपत्रको मसी नसुक्दै श्री त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा बिनाप्रतिस्पर्धा, सूचना नै प्रकाशन नगरी खेलकुद शिक्षक, प्रयोगशाला सहायक, पुस्तकालय सहायक र कार्यालय सहयोगी पदमा मनपरी ढङ्गले विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका अध्यक्ष, वडा नं १ र २ का वडाध्यक्ष, युवा सङ्घ रुकुमका इन्चार्जलगायतले मिलोमतोमा आआफ्ना नातेदारहरूलाई नियुक्त गरेको प्रति हाम्रो सङ्गठन कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । साथै उक्त नियुक्ति तत्काल खारेज गरी खुला प्रतिस्पर्धाबाट सक्षम र योग्य व्यक्तिहरूको छनोट गर्न जोडदार माग गर्दछौँ । अन्यथा आफैँले गरेको कुकर्मले आफैँलाई नोक्सान गर्ने अवश्यम्भाबी छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :