सम्पर्क मञ्चका चौधरी र प्रधानलाई बिनासर्त रिहा गर : कमानसिंह

सम्पर्क मञ्चका चौधरी र प्रधानलाई बिनासर्त रिहा गर : कमानसिंह

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष कमानसिंहले विज्ञप्ति जारी गरी मञ्चका कार्यालय सचिव टीका चौधरी र केन्द्रीय सदस्य खेम प्रधानलाई सरकारले काठमाडौँको बागबजारबाट बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त अविलम्म्ब रिहा गर्न माग गरेका छन् ।

कोरोना भाइरसले देश आक्रान्त बनेको बेला देश र जनताका पक्षमा निरन्तर सङ्घर्ष गरिरहेका योद्धाहरूलाई आफ्नो विवेक गुमाएर पक्राउ तथा धरपकड गर्ने सरकारी कदमको घोर भत्र्सना गर्दै उनले बिनासर्त रिहा गर्न माग पनि गरेका छन् । कमानसिंहले जारी गरेको विज्ञप्तिमा गिरफ्तार दुवैजनालाई बिनासर्त रिहा नगरे सरकारविरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने चेतावनी पनि दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यति बेला देश इतिहासकै गम्भीर सङ्कटको मोडमा पुगेको छ । एकातर्फ विश्वव्यापी महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड १९) ले देश आक्रान्त बनेको छ भने अर्कातर्फ देशमा साम्राज्यवादी इन्डो–पश्चिमाहरूको अस्वाभाविक चलखेल बढेको छ । पश्चिमा र भारतीय साम्राज्यवादको गोटी बनेको वली–बादल कम्पनीले दिनानुदिन जनविरोधी कुकर्म बढाएको छ । कोरोना महामारीको फाइदा उठाउँदै वली–बादल कम्पनीले मेडिकल सामग्रीमा अर्बौं भ्रष्टाचार गरेको छ । कोरोनाको उपचार गर्ने आफ्नो जिम्मेवारीबाट पन्छिनेजस्तो निकृष्ट काम गरेको छ । खुलेआम गरिब जनताको पेटमा लात हानिरहेको छ । कोरोनाका बिरामीहरूबाट मेडिकल माफियाहरूलाई पोस्नका लागि लाखौँलाख उचारखर्च उठाउनेजस्तो तुच्छ र घृणित काम गरिरहेको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । तर वली नेतृत्वको सामाजिक फासिवादी सरकार एकपछि अर्को गरी राज्यको ढुकुटीको दोहन, राज्यको सुरक्षा शक्तिको दुरुपयोग, बलात्कारी तथा भ्रष्टहरूको संरक्षण र साम्राज्यवादीहरूको विभिन्न स्वार्थको गोटी बनेर राष्ट्रिय स्वाधीनता, जनजीविकाका पक्षमा सङ्घर्ष गरिरहेको क्रान्तिकारी शक्तिमाथि राज्यसत्ताको दुरुपयोग गरी फासिवादी तथा क्रूर दमनमा उत्रिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसैक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका कार्यालय सचिव टीका चौधरी र केन्द्रीय सदस्य खेम प्रधानलाई सामाजिक फासिवादी वली एन्ड बादल कम्पनीका भाडाका टट्टुहरूले काठमाडौँको बागबजारबाट बिनाकारण गिरफ्तार गरेका छन् । कोरोना भाइरसको बेला देश आक्रान्त बनेको बेला आफ्नो विवेक गुमाएर देश र जनताका पक्षमा निरन्तर सङ्घर्ष गरिरहेका योद्धाहरूलाई पक्राउ तथा धरपकड गर्ने वली एन्ड बादल कम्पनीको अमानवीय कदमको घोर भत्र्सना गर्दै पक्राउ परेका कमरेडहरूलाई बिनासर्त रिहा गर्न माग गर्दछौँ । पक्राउ परेका कमरेडहरूलाई बिनासर्त रिहा नगरे सामाजिक फासिवादी वली एन्ड बादल कम्पनीका विरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् वली एन्ड बादल कम्पनी हुने जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :