नेकपाद्वारा लुम्बिनी ब्युरोभरि वली सरकारविरुद्ध व्यापक प्रदर्शन

नेकपाद्वारा लुम्बिनी ब्युरोभरि वली सरकारविरुद्ध व्यापक प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले कपिलवस्तु, रूपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, नवलपरासीलगायत जिल्लाहरूमा विरोध प्रदर्शन सम्पन्न गरिएको जनाएको छ । पार्टीद्वारा घोषित सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत ब्युरोका सबै जिल्लामा कार्यक्रम सम्पन्न गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले प्रताडित भएको बेला केपी वली नेतृत्वको सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत झन्पछि झन् पछाडि हटिरहेको भन्दै सरकारको विरोधमा प्रदर्शन गरिएको हो ।

कोणसभाअगाडि विरोध प्रदर्शनमा नेकपाका नेता–कार्यकर्ताले ‘आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर, कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर, कालापानीबाट भारतीय सेना फिर्ता जा, नेपाली सार्वभौमिकताको सम्मान गर’ लगायत नाराहरू लगाइएको थियो ।

रूपा विकले कपिलवस्तुबाट सम्प्रेषण गरेको समाचारअनुसार नेकपा कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन सम्पन्न गरेको छ । नेकपा कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिका वडा नं १० मा जनताको व्यापक उपस्थितिका बीचमा कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनमा मायादेवी गाउँपालिकाका सेक्रेटरी कृपालले सम्बोधन गरेका थिए भने कपिलवस्तु नगरपालिकाका सेक्रेटरी मङ्गलले सञ्चालन गरेका थिए ।
यस्तै बुद्धभूमि नगरअन्तर्गत वार्ड नं ३ दुबियाँमा गरिएको प्रदर्शनमा नगर सेक्रेटरी सन्देश र अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञानले सम्बोधन गरेका थिए भने विजयनगर गाउँपालिका १ मा नगर सेक्रेटरी पावेल र युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष बादलले सञ्चालन गरेका थिए । विरोध प्रदर्शनमा व्यापक जनताको उपस्थिति रहेको नेकपा कपिलवस्तुले जनाएको छ ।

ओमकार क्षेत्रीले नवलपुरबाट पठाएको समाचारअनुसार नेकपा नवलपुरले विभिन्न स्थानमा वली सरकारविरुद्ध प्रदर्शन गरेको छ । जिल्लाको कावासोती नगरपालिकामा सम्पन्न विरोधसभामा जिल्ला सेक्रेटरी शीतल, युवा सङ्गठनका जिल्ला अध्यक्ष अविनाश, जिल्ला जनपरिषद्का प्रमुख विशाल, विद्यार्थीकी जिल्ला इन्चार्ज शारदा, विद्यार्थीका संयोजकलगायतको उपस्थिति रहेको थियो । कोरोना महामारीको विषम परिस्थितिमा सरकार आफ्नो न्यूनतम् जिम्मेवारीबाट समेत पन्छिरहेको र पार्टीले सङ्घर्ष स्थगित गरेको समयमा समेत दमन, धरकपड, गिरफ्तारी नरोकिएको भन्दै जिल्ला सेक्रेटरी शीतलले आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला तहका पार्टी नेतृत्व, कार्यकर्ता, विद्यार्थी एवम् स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । विरोधसभाको सञ्चालन जिल्ला जनसरकार प्रमुख विशालले गरेका थिए ।

यसैगरी गङ्गा विकले पाल्पाबाट सम्प्रेषण गरेको समाचारअनुसार नेकपा पाल्पाले जिल्लाको तानसेन नगरपालिकामा केपी वली सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला जनसरकार प्रमुख मीनबहादुर आलेले समग्र राष्ट्रिय योजना बनाएर सम्पूर्ण राज्यसंयन्त्र कोरोना महामारीविरुद्ध परिचालन गर्नुको साटो वली सरकारको कहिले कुनै तयारीबिना लकडाउन त कहिले अव्यवस्थित आवागमनले कोरोना नियन्त्रणभन्दा दिन–प्रतिदिन फैलँदै गएको बताएका थिए । कार्यक्रमको सञ्चालन दीपकले गरेका थिए ।

त्यसैगरी नेकपा लुम्बिनी ब्युरोअन्तर्गत पाँच नम्बर जिल्लाले पनि वली सरकारविरुद्ध प्रदर्शन गरेको समाचारमा जनाइएको छ । जिल्ला नंं पाँचले तिनाउ गाउँपालिकाको वडा नं. १ मा विरोध कार्यक्रम सम्पन्न गरेको छ । विरोध कार्यक्रमलाई जिल्ला सेक्रेटरी विश्वासले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन विज्ञानले गरेको बताइएको छ । विरोध प्रदर्शनमा स्थानीय जनताको व्यापक सहभागिता रहेको पनि समाचारमा जनाइएको छ ।

यसैगरी नेकपा रूपन्देहीले जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन सम्पन्न गरेको बताएको छ । समाचारस्रोतका अनुसार बुटवल नगरपालिकामा नेकपाले विरोध प्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनलाई अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष आरके र अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरले सम्बोधन गरेका थिए । त्यसैगरी गैडहवा गाउँपालिकामा जिल्ला सचिवालय सदस्य एवम् कमान्ड इन्चार्ज शिशिरले सम्बोधन र जङ्गबहादुरले सञ्चालन गरेका थिए । त्यस्तै कञ्चन गाउँपालिका वडा नं. ३ सालघरीमा पनि नेकपाले विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । सालघारीमा भएको विरोध प्रदर्शनपछि कोणसभालाई जिल्ला सचिवालय सदस्य शिशिरले सम्बोधन गरेका थिए भने सञ्चालन सोमनाथले गरेका थिए । त्यसैगरी देवदह नगरपालिकाको पुरुषोत्तमपुरमा जिल्ला सदस्य आत्माले सम्बोधन गरेका थिए भने रोहिणीमा जिल्ला नेता परदेशीले गरेका थिए । सैनामैनाको इन्द्रेणीचोकमा जिल्ला नेता सेन्चुरी, सैनामैनाचोकमा युवा सङ्गठन नेपालका भक्त र तिलोत्तमा नगरपालिकाको कोटीहवाचोकमा युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले सम्बोधन गरेको समाचारमा उल्लेख छ । त्यसैगरी सियारीमा भएको विरोध प्रदर्शनमा नेकपाका जिल्ला नेता रोमियोले सम्बोधन र रामुले सञ्चालन गरेका थिए । त्यसैगरी सिद्धार्थ नगरपालिका वडा नं. ४ मा युवा सङ्गठन नेपालका राजुले सम्बोधन गरेका थिए ।

नवलपरासीबाट प्राप्त समाचारअनुसार नेकपा नवलपरासीले बर्दघाट नगरपालिका वडा नंं १२ मा विरोध प्रदर्शन सम्पन्न गरेको छ । विरोध प्रदर्शनलाई नेकपा नवलपरासीका जिल्ला नेताले सम्बोधन गरेका थिए ।
सरकारले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशु्ल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने र कोरोनाबाहेकका अन्य बिरामीहरूको उपचारमा भइहेको लापरबाही गर्नेलाई नेकपाले कारबाही गर्ने वक्ताहरूले बताएका थिए । प्रदर्शनमा वली सरकारविरुद्ध विभिन्न नाराहरू लगाइएको थियो ।

अर्घाखाँचीबाट प्राप्त समाचारअनुसार नेकपा अर्घाखाँचीले जिल्लाको भूमिकास्थान नगरपालिकामा कोणसभा तथा विरोध प्रदर्शन गरेको छ । विरोधसभालाई नेकपा भूमिकास्थान नगरपालिका इन्चार्ज बारुदले सम्बोधन गरेका थिए । सभामा नेकपा जिल्ला सेक्रेटरी माहुरीले युवाहरूलाई खेलकुद सामग्री वितरण गरेका थिए । त्यसैगरी शीतगङ्गा नगरपालिकामा पनि अखिल (क्रान्तिकारी) अर्घाखाँचीले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनलाई अखिल क्रान्तिकारी अर्घाखाँचीका नेता प्रेमले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :