सरकारका विरुद्ध अछाम, कास्की र कञ्चनपुरमा भव्य प्रदर्शन

सरकारका विरुद्ध अछाम, कास्की र कञ्चनपुरमा भव्य प्रदर्शन

काठमाडौँ : सरकारले कोरोना महामारीमा परेका जनताको उपचार नगर्ने निर्णय गरेपछि आन्दोलित नेकपाले देशभर सरकारका विरुद्ध प्रदर्शन गरेका थप समाचार प्राप्त भएका छन् ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा राष्ट्रघात, जनघात, भ्रष्टाचार र कोरोना महामारीमा सरकारको नालायकीपनका विरुद्धमा अछामका ३ ठाउँमा विरोधसभाहरू सम्पन्न भएका छन् ।

जिल्लाका ढकारी गाउँपालिका, तुर्माखाद गाउँपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा विरोध प्रदर्शन भएको अछामबाट प्राप्त समाचारमा जनाइएको छ । पंञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलामा भएको कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पंञ्चदेवल विनायक नगरपालिका सचिव किशोरले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा अछामका इन्चार्ज नवीन थिए ।

प्रमुख अतिथि नवीनले कम्युनिस्ट नाम गरेको केपी वली सरकारले आफ्नो सामान्य जिम्मेवारीबाट पन्छिएर जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड गरेको बताए । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत सबैतिरबाट देश महासङ्कटमा परेकाले यसको निकास अहिलेका संसदीय दल र यिनका नेताहरूबाट सम्भव नभएकाले यसको निकास वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्र हुने उनले बताए । कानुनी राज्य भनेर जति व्याख्या गरे पनि जनताले कहिल्यै न्याय नपाएको प्रस्ट पार्दै उनले जनताले न्याय पाएका भए निर्मला पन्तका हत्यारा, पविनपा २ का वडाध्यक्ष पदमबहादुर धामीका हत्यारा पत्ता लगाएर कारबाही गरेको खै त भनेर प्रश्न पनि गरे ।

कार्यक्रममा युवा सङ्गठन नेपालका पश्चिम कमान्ड इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य जीवन, जिल्ला न्याय विभाग प्रमुख तथा सचिवालय सदस्य प्रकाशलगायत अतिथिका रूपम उपस्थित थिए । अविरलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विवेकले गरेका थिए ।

कास्कीबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी कास्कीले कोरोनाको प्रभावले आक्रान्त जनताको स्वास्थ्य जाँच र निःशुल्क उपचारको व्यवस्थाको माग गर्दै पोखरा महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

देशव्यापी सञ्चालित सङ्घर्षका क्रममा पोखरामा आयोजित विरोध जुलुसका क्रममा पोखराको चाउथेदेखि नहर चोकसम्मका मुख्य सडकमा मोटरसाइकल र्याली निकाल्नुका साथै पर्चा वितरण गरिएको थियो ।

कोरोनाको प्रभावले आक्रान्त जनतलाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाटसमेत पन्छिने र उल्टै महामारीको सङ्कटमा पैसा कमाउने, भ्रष्टाचार गर्ने माध्यमका रूपमा दुरुपयोग भइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी सङ्घर्ष घोषणा गरेको थियो ।

देशव्यापी घोषित कार्यक्रमअनुसार नेकपा कास्कीले कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण गरेको थियो भने २० गते विरोधजुलुस निकालेको जानकारी कास्की जिल्ला सेक्रेटरी विश्वासले दिए ।

यसैगरी कञ्चनपुरबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले केन्द्रीय कार्यक्रमअनुसार विरोध प्रदर्शन सम्पन्न गरेको छ । विरोध प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज सहदेवले जनतालाई कोरोना सङ्क्रमणको उपचार खर्च नबेहोरे अझ सशक्त तरिकाले कडा सङ्घर्षमा उत्रने चेतावनी दिए ।

विरोध प्रदर्शनमा नेकपाका नेता–कार्यकर्ताले ‘आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर, कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर, कालापानीबाट भारतीय सेना फिर्ता जा, नेपालको सार्वभौमिकताको सम्मान गर’ लगायत नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :