कलाकार अग्निराज पौडेल गिरफ्तार, पौडेलको कार्यालय र कोठा पनि खानतलासी

पेसा–व्यवसाय गरी खाने अधिकारसमेत वञ्चित गरी सरकारले फासिवाद लाद्यो : महासङ्घ

कलाकार अग्निराज पौडेल गिरफ्तार, पौडेलको कार्यालय र कोठा पनि खानतलासी

काठमाडौँ : वरिष्ठ चित्रकार तथा डिजाइनर अग्निराज पौडेल ‘अराप’ गिरफ्तार भएका छन् । प्रहरीले सोमबार उनको डिल्लीबजारस्थित ‘द आर्ट एन्ड डिजाइन’ को कार्यालय छापामारी कम्प्युटर, चित्र कोर्ने क्यानभास, कुची र रङसमेत कब्जा गरेको छ ।

पारिवारिक स्रोतका अनुसार कमलपोखरीबाट आएको प्रहरीले आज मध्याह्न पौडेलको डिल्लीबजारस्थित द आर्ट एन्ड डिजाइन कार्यालय छापामार्नुका साथै कोठामा समेत छापामारेर परिवारका सदस्यहरूलाई पनि धम्क्याएको छ ।

पौडेल पुस्तक र पत्रिकाका व्यावसायिक डिजाइनरका साथै ख्यातीप्राप्त चित्रकार पनि हुन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिवालय सदस्य र अखिल नेपाल ललितकला सङ्घका अध्यक्षसमेत रहेका पौडेल लामो समयदेखि आफ्नो पेसा, व्यवसाय गर्दै आएका छन् । उनी कमर्सियल आर्टिस्ट सङ्घका पनि संस्थापक पदाधिकारी हुन् । पौडेल नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका महासचिव पनि हुन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले सोमबार वक्तव्य जारी गरी मानिसको स्वतन्त्र पेसा–व्यवसाय गरी खान पाउने र आस्था राख्ने अधिकारलाई समेत कुल्चिएर केपी वली सरकारले चरम फासिवादी अभ्यास गरिरहेको बताएका छन् । उनले पौडेलको तत्काल रिहाइको माग गर्दै एकातिर नेपालको राष्ट्रियताविरुद्ध बोल्ने भारतीय सेना प्रमुखलाई नेपाल निम्त्याएर सम्मान गर्ने भव्य तयारी गर्नु र अर्काेतिर देशभक्त, माक्र्सवादी स्रष्टा/संस्कृतिकर्मीलाई आतङ्कित पार्दै हिरासतमा लग्नुले वली सरकारले जनघात मात्र होइन, राष्ट्रघातको पनि पराकाष्टा नाघिसकेको उल्लेख छ । वक्तव्यमा पौडेललगायत गिरफ्तार गरिएका सम्पूर्ण माक्र्सवादी स्रष्टा/संस्कृतिकर्मी, लेखकलाई बिनासर्त, यथाशीघ्र रिहा नगरिए तमाम माक्र्सवादी संस्कृतिकर्मी निर्णायक सङ्घर्षमा उत्रिन बाध्य हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :