‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ बारे छलफल

‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ बारे छलफल

काठमाडौँ : काठमाडौँमा ‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

माक्र्सवादी एकता अभियानको आयोजनामा सम्पन्न जुम अन्तरक्रियामा माक्र्सवादी बुद्धिजीवीहरू श्याम श्रेष्ठ र एकराज भण्डारीका साथै कम्युनिस्ट तथा वामपन्थी पार्टी/सङ्गठनबाट राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी, नेकपा बोल्सेबिकका रवीन्द्र श्रेष्ठ, नेकपाका लोकनारायण सुवेदी, नेकपा मालेका सीपी मैनाली, नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुतीलगायत वक्ताले बोलेका थिए ।

वक्ताहरूले राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवै खतरामा रहे पनि महान् अवसरहरू रहेको, संसदीय व्यवस्था नमान्ने सबै कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने, अन्य देशभक्त, वामपन्थीहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्नुपर्ने, नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध खारेज हुनुपर्ने, सरकारी नेकपामा भएका इमानदार कार्यकर्ता र नेताले पनि विद्रोह गर्नुपर्ने बताएका थिए ।

वक्ताहरूले राष्ट्रघात र कमिसनखोरीविरुद्ध खडा भएको २१ दलीय मोर्चालाई झनै विकसित र बलियो पार्नुपर्ने बताएका थिए । प्रा. ओम गुरुङले स्वागत गरेको कार्यक्रममा प्रा. रमेश अधिकारीले अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता प्राडा शम्भु कट्टेलले गरेका थिए भने उद्घोषण महादीप पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :