नेकपा लुम्बिनी ब्युरोद्वारा सरकारविरुद्ध जिल्ला–जिल्लामा कोणसभा

नेकपा लुम्बिनी ब्युरोद्वारा सरकारविरुद्ध जिल्ला–जिल्लामा कोणसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले ब्युरोअन्तर्गतका विभिन्न जिल्लामा २५ स्थानमा कोणसभा सम्पन्न गरेको बताएको छ । नेकपाले घोषणा गरेको केन्द्रीय कार्यक्रमअन्तर्गत कपिलवस्तु, रूपन्देही, नवलपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मीमा विरोधस्वरूप कोणसभा सम्पन्न भएको नेकपा लुम्बिनी ब्युरोले जनाएको छ ।

कोरोना महामारीको समयमा सरकारले पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत सरकार र उसका निकायहरू पूर्णतः असफल भएको र चरम भ्रष्टाचारमा डुबेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन गरेको नेकपाले जनाएको छ । कोरोना महामारीको समयमा अहोरात्र कार्यक्षेत्रमा खटिने डाक्टर, नर्स, सुरक्षा निकाय, प्रहरीलगायतको उचित व्यवस्थापन गर्न माग गर्दै जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन र कोरोनाका कारण प्रतिकूल परिस्थितिमा स्वास्थ्य परीक्षणका नाममा कुनै शुल्क नअसुल्नसमेत नेकपाले आग्रह गरेको छ ।

नवलपुरबाट ओमकार क्षेत्रीले सम्प्रेषण गरेको समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी नवलपुरले केन्द्रीय कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा शनिबार कोणसभा सम्पन्न गरेको छ ।

जिल्लाको कावासोतीमा जिल्ला सेक्रेटरी शीतल, मध्यबिन्दु नगरपालिकामा सत्ता प्रमुख विशाल, देवचुली नगरपालिकामा नगर इन्चार्ज सञ्जय र गैँडाकोट नगरपालिकामा नगर इन्चार्ज शैलेन्द्रले कोणसभालाई सम्बोधन गरेका थिए । कोरोना महामारीको समयमा पार्टीले सङ्घर्ष स्थगित गरेको अवधिमा समेत सरकारद्वारा दमन, धरकपड, गिरफ्तारी नरोकिएको भन्दै वक्ताहरूले आक्रोश व्यक्त गरेका थिए ।

नवलपरासीबाट सुशील परियारबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले केन्द्रीय कार्यक्रमअन्तर्गत जिल्लाको रामग्राम नगरपालिका वडा नं. १७ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता जसवन्तले सरकारले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने भन्दै कोरोनाबाहेकका अन्य बिरामीहरूको उपचारमा भइरहेको लापरबाही तत्काल अन्त्य गरी औषधीको उचित व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी पाल्पाबाट गङ्गा विकले सम्प्रेषण गरेको समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जिल्लाको रैनादेवीका छहारा, चहला, माथागढीका देवीनगर र माथामा विरोधसभा सम्पन्न गरेको छ । नेकपा पाल्पाका अनुसार चहलामा जिल्ला नेता निशाल, देवीनगरमा नेपाल, छहरामा सुमन र माथागढीमा कविताले कोणसभालाई सम्बोधन गर्दै कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा लड्ने सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षागार्डलगायतलाई विशेष आर्थिक सुविधासहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा केपी वली सरकार पूर्णतः असफल भएको बताए ।

उनीहरूले काम गर्न पनि नपाउने र गाँस, बास, लुगाकपडाको व्यवस्था गर्न नसक्ने किसान, मजदुर, भूमिहीन, सुकुमबासी, रोजगारविहीन हुन बाध्य भएका र बेरोजगार परिवारको न्यूनतम् दैनिक जीवनयापनका लागि राज्यले जिम्मा लिनुपर्नेमा त्यसो नगरिएको पनि बताए ।

त्यसैगरी पाल्पामा नेकपाका नेता तथा कार्यकर्ताहरूको घरघरमा प्रहरी प्रशासनले खानतलासी गरी अनावश्यक आतङ्क मच्चाएको नेकपा पाल्पाका इन्चार्ज प्रवीणले बताएका छन् । पाल्पाको चहलामा सशस्त्र प्रहरी, निस्दी र तिनाउमा जनपद प्रहरीले नेता–कार्यकर्ता तथा जनताको घरमा आतङ्क मच्चाएको पनि प्रवीणले बताए ।

यसैगरी कपिलवस्तुबाट रूपा विकले दिएको जानकारीअनुसार नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेको छ । जिल्लाको विजयनगर ४ त्रिपालनगर, विजयनगर २ मगरघट्टा, विजयनगर २ को लोहोरौला, शिवराज नगरपालिकाको उमरी, बुद्धभूमि गाउँपालिकाको भलेई, बाणगङ्गा नगरपालिकाको मटरिया, मायादेवी गाउँपालिकाको डुमरा, अखिल क्रान्तिकारीले बाणगङ्गाको भापपुरसमेत ८ स्थानमा विरोधस्वरूप कोणसभा सम्पन्न भएको नेकपा कपिलवस्तुका इन्चार्ज जुझारुले बताएका छन् ।

कोणसभालाई थारू राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सुनील, युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष बादल, जिल्ला नेताहरू विकल्प, सूर्य, वीरबहादुर, ममता, सन्देश, कृपाल, सञ्जय चौधरी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान, करिश्मा, पावेललगायतले बोलेका थिए ।


नेताहरूले कोणसभालाई सम्बोधन गर्दै यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले प्रताडित भएको बेला केपी वली नेतृत्वको सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत पन्छिएर गैरजिम्मेवार भएको भन्दै दलाल संसदीय व्यवस्थाबाट जनताले मुक्ति नपाउने बताए ।

यसैगरी रूपन्देहीबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कञ्चन गाउँपालिकामा जिल्ला नेता शिशिर, सैनामैना नगरपालिकाको हात्तीबजारमा जिल्ला नेता सेन्चुरी, सैनामैनाकै दरखासी, देवदह नगरपालिकामा इलाका इन्चार्ज आत्मा, रोहिणी, बुटवलस्थित मैनाबगरमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष आरके, बुटवलस्थित गोलपार्क, भैरहवामा सङ्गठनकी नेत्री उषा, देवीनगरमा अखिल नेपाल दलित सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष जानुका, सैनामैनामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी लक्ष्मीले बोलेका थिए ।

वक्ताहरूले कोरोना माहामारीको बेला केपी वली सरकार निरीह बनेको भन्दै जनताको राहतका लागि सङ्घर्षको विकल्प नभएको बताए । उनीहरूले आयआर्जनबाट विमुख हुनुपरेको यस अवस्थामा घरभाडामा बस्नेहरूको घरभाडा मिनाहा र घरधनीहरूको घर बहाल कर मुक्त गर्नका लागि सरकारले विशेष योजना लागू गर्न अनिवार्य भए पनि त्यसो गर्न नसकेको बताएका छन् ।

यसैबीच अर्घाखाँचीबाट ऐन विकद्वारा प्राप्त समाचारअनुसार नेकपा अर्घाखाँचीले जिल्लाका सन्धिखर्क, भूमिकास्थान र मालारानीमा विरोधसभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार जिल्लामा विरोधसभा गरिएको जिल्ला इन्चार्ज कमलले बताए । उनका अनुसार विरोधसभामा पार्टी, नेता, कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो । विरोधसभामा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :