नेकपाले देशभर गर्यो र्याली, प्रदर्शन र कोणसभा

जनताको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको माग

नेकपाले देशभर गर्यो र्याली, प्रदर्शन र कोणसभा

काठमाडौँ : नेकपाले पूर्वघोषित सङ्घर्षका कार्यक्रमअनुसार आज देशका विभिन्न जिल्लाका विभिन्न स्थानमा जनताको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको माग गर्दै र्याली, प्रदर्शन र कोणसभाहरू सम्पन्न गरेका समाचारहरू प्राप्त भएका छन् ।

पाल्पाबाट हाम्रा संवाददाता गङ्गा विकले दिएको जानकारीअनुसार, पाल्पाका रैनदेवी छहरा, चहला, माथागढीको देवगिर र माथामा नेकपाले आज प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ ।

चहलामा आयोजित कार्यक्रमलाई निशानले, देवगिरमा आयोजित कार्यक्रमलाई नेपालले, छहरामा आयोजित कार्यक्रमलाई सुमनले र माथागढीमा आयोजित कार्यक्रमलाई कविताले सम्बोधन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिँदै दलाल पुँजीवादी सत्ता ढालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् अभियान एकीकृत जनक्रान्तिबाट अघि बढिरहेको पनि बताएका थिए ।

नेकपाले जिल्लाभर प्रदर्शन, र्याली र कोणसभा आयोजना गर्नुअघि चहलामा सशस्त्र प्रहरीले र निस्दी तथा तिनाउमा जनपद प्रहरीले नेकपाका नेता–कार्यकर्ताको घरघरमा गएर आतङ्क मच्चाएको छ । प्रहरीले नेकपाका नेता–कार्यकर्ताका बुबा–आमा र परिवारका अन्य सदस्यलाई धम्की दिएको पनि समाचारमा जनाइएको छ ।

यसैबीच चितवनबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती नगरपालिकाले आमनागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको सुनिश्चितताका साथै कोरोना महामारीका नाममा भ्रष्टाचार, व्यापारीकरण बन्द गर्न चेतावनी दिँदै कोणसभा गरेको छ ।

पार्टी केन्द्रीय समितिले घोषणा गरेको सङ्घर्षको कार्यक्रमअन्तर्गत राप्ती, वीरेन्द्रनगर चोकमा कोणसभा गरिएको नेकपा चितवनले जनाएको छ । कोणसभामा अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जे लामा र राप्ती नगर संयोजक सफलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा लामाले भने, ‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपालका नागरिकहरूको स्वास्थ्य दिनानुदिन ग्रसित बनाउँदै लगिरहेको छ । यसै अवस्थामा राज्यसत्तामा बसेका दलालहरू भने जनताको मौलिक हकलाई समेत बेवास्ता गरी गैरजिम्मेवारीपूर्ण ढङ्गले दायित्वबाट पन्छिएका छन् । सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई कमाउधन्दा बनाउँदै जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम तुरुन्त बन्द गरी निःशुल्क स्वास्थ्य परीक्षणका साथै उपचार सुनिश्चित गर्न निर्देशन गर्दछाैँ ।’

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय योजनाअनुसार आमनागरिकलाई निःशुल्क जाँच र उपचारको व्यवस्था गर ! कोरोनाका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर ! भन्ने नारासहित आज जिल्लाका विभिन्न ठाउँमा कोणसभा सम्पन गरेको छ ।

ठाँटीकाँध गाउँपालिको कोणसभालाई शरदले र आठबीस नगरपालिकाको कोणसभालाई प्रकाशले सम्बोधन गरेको जानकारी नेकपा दैलेखले दिएको छ ।

यसैबीच नेकपा ललितपुरले विज्ञप्ति जारी गर्दै आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने नारासहित भ्रष्ट, दलाल सरकारको विरोध गर्दै जिल्लाका नगर र महानगरका विभिन्न स्थानमा झन्डा, ब्यानरसहित कोणसभा सम्पन्न गरिएको जनाएको छ । जिल्ला सेक्रेटरी विदुषीले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले आयोजना गरेको पूर्वनिर्धारित कार्ययक्रमअन्तर्गत १५ गते नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिले उक्त कार्यक्रम आयोजना गरेको उल्लेख छ ।

यसैगरी नेपाल कम्युनिट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले आज काठमाडौँका विभिन्न ठाउँमा कोणसभा गरिएको जनाएको छ ।

प्राप्त समाचारअनुसार सङ्गीनको नेतुत्वमा धुम्बाराही, खेम प्रधानको नेतुत्वमा बालुवाटार, निश्चल थापाको नेतृत्वमा असन, दीपक रानामगरको नेतुत्वमा सुन्धारा, विवश श्रेष्ठको नेतृत्वमा महाराजगन्ज, प्रतीक अधिकारीको नेतृत्वमा लैनचौर, रूपक श्रेष्ठको नेतृत्वमा चाबहिल, शक्ति आचार्यको नेतृत्वमा पुतलीसडक, सोलमान तामाङको नेतृत्वमा कोटेश्वर, सन्तोष गर्तौलाको नेतृत्वमा नयाँबानेश्वर, अनिल राईको नेतृत्वमा नयाँबस्ती बौद्ध र कान्ति गौचनको नेतृत्वमा सुकेधारामा कोणसभा सम्पन्न भएको जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले जनाएको छ ।

यसैगरी अखिल (क्रान्तिकारी) का काठमाडौँ उपत्यकामा पोखरा विश्वविद्यालयको उपत्यका जिल्लाले भक्तपुरको गठ्ठाघर, सीटीईभीटी जिल्लाले डिल्लीबजार, काठमाडौँ जिल्लाले पेप्सीकोला र क्याम्पस जिल्लाले गौशालाको भण्डारखालमा कोणसभाहरू गरेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :