नरबहादुर कार्कीलाई लिएर २४ घन्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

नरबहादुर कार्कीलाई लिएर २४ घन्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ : सामाजिक अभियन्ता एवम् राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीलाई लिएर २४ घन्टाभित्र उपस्थित हुन सर्वोच्च अदालतले आइतबार विपक्षीका नाममा आदेश जारी गरेको छ । कार्कीको निःसर्त रिहाइका लागि आइतबार सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

‘पक्राउ गर्नुको कारण स्पष्ट खुलाई २४ घन्टाभित्र बन्दीसहित लिखित जबाफ लिएर सर्वाेच्च अदालतमा उपस्थित हुन आदेश जारी गरिएको छ’, सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले गरेको आदेशमा लेखिएको छ ।

यही कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले नरबहादुर कार्कीलाई गिरफ्तार गरेको थियो ।

शान्तिपूर्ण रूपमा आयोजना गरिएको कार्यक्रमस्थलबाटै गरिएको कार्कीको गिरफ्तारीको घोर भत्र्सना गर्दै अविलम्ब रिहाइको मागसहित विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवीहरूले सरकारसँग माग गर्दै आएका छन् । २१ सङ्गठनको कार्यगत एकताका तर्फबाट सीपी गजुरेललगायतले विज्ञप्ति जारी गरी कार्कीको रिहाइको माग गरेका थिए । कार्की स्थापित अन्तर्राष्ट्रिय जीवनवादी प्रशिक्षक हुन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा कार्कीको बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :