नयाँ अभियानका कार्यभारहरू

नयाँ अभियानका कार्यभारहरू

क) सन्दर्भ

हरेक आन्दोलन एक अभियान पनि हो । कमरेड माओका शब्दमा अभियान रूपमा दोहोरिएको जस्तो लागे पनि त्यसले मात्रामा विशालता हासिल गर्दै गुणमा फड्को मार्दछ । नेकपा लुम्बिनी ब्युरोले भदौ–असोजमा सङ्गठन विस्तार तथा सुदृढको लक्ष्यमा सञ्चालन गरेको अभियान महत्वपूर्ण रहेको छ ।

लेखक : पूर्णबहादुर सिंह

हाम्रो मुलुकको शासनसत्तामा कथित सङ्घीय लोकतान्त्रित गणतन्त्रको आवरणमा सामाजिक दलाल पुँजीवादीहरूको सरकार छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ चर्को कर, चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगारी, कालोबजारी, राष्ट्रघात, जनविरोधी कार्य र जनघातमा अभिव्यक्त भइरहेको छ । ठूला–ठूला दलाल, भ्रष्ट र तस्करहरूको अखडा सिंहदरबार गाउँ–नगरसम्म पुगेपछि आमजनता प्रताडित एवम् आक्रान्त बनिरहेका छन् । हरेक आन्दोलनहरूमा जनताले गरेको बलिदान, समर्थन, सहयोग र सहभागिता धोकामा परिणत र जनादेशको उपहास भएपछि जनतामा अविश्वास, आक्रोश र घृणा अझै कायमै छ । वर्ष बिते । व्यवस्थाको नाम फेरियो । पार्टी र पात्र फेरिन्छन् तर व्यवस्था कहिले बदलिन्छ ? आमजनताले यो प्रश्न गरिरहेका छन् । ‘मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सतारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।’ (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । माक्र्सको विश्लेषण) मा लेनिनले भनेझैँ आन्दोलन किन ? सम्झौताका लागि र चुनाव किन ? जनतालाई भ¥याङ बनाएर सत्तारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै दलाल पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो भन्ने कुरा आमजनताले बुझिसकेका छन् ।

जुन जोगी आए पनि कानै चिरेको, फेरि सम्झौता र धोका हुँदैन भन्ने के आधार छ ? कसैको विश्वास लाग्दैन, फेरि हामीले लड्नैपर्ने भयो आदि यो अभियानमा जनताको अभिव्यक्ति प्रत्यक्ष बुझियो । यी सवालहरूको पहिलो कारण, आन्दोलनहरू विजयी नहुनु, सम्झौतामा टुङ्गिनु र जनतालाई धोका हुनु हो । दोस्रो कारण, राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने राजनीति पेसा, व्यवसाय र उद्योगमा परिणत हुनु हो । तेस्रो कारण, दलाल पुँजीवादीहरूले जनता र देशलाई कङ्गाल बनाउनु, ब्रह्मलूट गर्नु र दसौँ पुस्ताका लागि सम्पत्तिको डङ्गुर पार्नु हो । एउटा उद्योगी (व्यापारी) ले राजनीतिमा मुनाफा देख्नु हो । यो अभियानमा पनि हामीले जनताको कठघरामा खडा भएर भनेका छौँ– एकीकृत जनक्रान्ति आमजनताको आफ्नै क्रान्ति हो । यसमा सम्झौता, धोका र पराजय भन्ने शब्दावली छैनन् । यो अपराजयी, सम्झौतारहित र धोकारहित हुनेछ । दलाल पुँजीवादीहरूलाई इँटको जबाफ पत्थरले दिनुपर्छ । यो जनक्रान्ति पूरा गर्ने, व्यवस्था बदल्ने, जनताको व्यवस्था स्थापना गर्ने अभियान हो ।

सानो बढेर ठूलो हुन्छ र ठूलो टुक्रेर विनास हुन्छ । महान् जनक्रान्तिका लागि यो अभियान एउटा सानो अंश हो । साना–साना नदीहरूको सङ्गममा विशाल सागर बनेझैँ हामीले जनताका बीचमा सञ्चालन गर्ने सयौँ अभियानको कुल योग नै हो– एकीकृत जनक्रान्ति ।

ख) अभियानको उद्देश्य

‘महान् दृष्टान्त’ लेखमा ‘सर्वहाराकार्य अथवा ‘कम्युनिस्ट सुब्बोत्निकहरू’ (कम्युनिस्ट शनिबार) ले अन्ततोगत्वा किसानहरूमा सर्वहारा राज्यप्रति पूर्ण सम्मान तथा प्रेमको भावना जगाउने खालको हुन्छ । सर्वहारा वर्गले विजय, समाजवाद निर्माण र दरिलो तुल्याउन दोहोरो कार्यभार पूरा गर्नुपर्छ– पहिलो, पुँजीका विरुद्ध क्रान्तिकारी सङ्घर्षमा आफ्नो अतुलनीय वीरताद्वारा समस्त श्रमिक तथा शोषित समुदायलाई आफूतिर आकर्षित गर्नु, सङ्गठन गर्नु र बुर्जुवा वर्गको सत्ता उल्ट्याउनु तथा उसका तर्फबाट हुने कुनै पनि प्रतिरोधपूर्ण दमनको नेतृत्व गर्नुपर्छ । दोस्रो, समस्त श्रमिक तथा शोषित जनसमुदायहरूका साथसाथै निम्न–बुर्जुवा तहहरूलाई समेत नयाँ आर्थिक निर्माणको बाटोमा, नयाँ सामाजिक सम्बन्ध सिर्जनाको बाटोमा, नयाँ श्रम अनुशासनको रचनाको बाटोमा र श्रमको यस्तो नयाँ सङ्गठनको सिर्जनाको बाटोमा डोर्याउनुपर्छ जसले विज्ञान तथा पुँजीवादी प्राद्योगिकीका नवीनतम् उपलब्धिहरूलाई जन्म दिनेछ । यो दोस्रो काम पहिलोभन्दा बढी गाह्रो छ किनभने त्यसलाई वीरतापूर्ण उत्साहको छिटफुट जोसले मात्र पूरा गर्न सकिन्न । यसका लागि दैनिक तथा निरस कार्यमा सबभन्दा लामो अवधिसम्म, सबभन्दा दृढतम् र कठिनतम् शौर्यको आवश्यकता पर्न जान्छ ।’(२८ जुन, १९१९, लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ३९, पृष्ठ १–२९) मा लेनिनले भनेझैँ यो अभियान महान् दृष्टान्त त होइन तर नयाँ सुरुआत भने हो । अतुलनीय वीरता, वीरतापूर्ण उत्साह र सबभन्दा दृढतम् एवम् कठिनतम् शौर्यको यो अभियानमा खाँचो नपरे तापनि क्रियाशीलता, सिर्जनशीलता र मेहनत भने अवश्य रहेको छ । हरेक अंशले समग्रतामा इँट थपिरहेको हुन्छ । सानो बढेर ठूलो हुन्छ र ठूलो टुक्रेर विनास हुन्छ । महान् जनक्रान्तिका लागि यो अभियान एउटा सानो अंश हो । साना–साना नदीहरूको सङ्गममा विशाल सागर बनेझैँ हामीले जनताका बीचमा सञ्चालन गर्ने सयौँ अभियानको कुल योग नै हो– एकीकृत जनक्रान्ति । दलाल पुँजीवादीहरूका भक्तजनहरूले भन्छन्– राणाशासन, पञ्चायत र राजतन्त्र छैन, अब कोसँग लड्ने ? सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता आइसक्यो, किन लड्ने ? उपलब्धिको रक्षा गर्नुपर्छ । ‘लुई बोनापार्टको अठारौँ ब्रुमेर’ मा माक्र्सले सन् १८४८–१८५१ को क्रान्तिको निचोडमा–‘जुन पार्टीहरूले एकपछि अर्को गर्दै पालैशान्ति प्रभुत्वका निम्ति सङ्घर्ष गरेका थिए, ती पार्टीहरूले राज्यको एक अजङ्गको भवनमा कब्जा जमाउनु नै आफ्नो विजयको मुख्य उपलब्धि ठानेका थिए ।’ (‘लुई बोनापार्टको अठारौँ ब्रुमेर’, चौथो संस्करण, हैम्बर्ग, सन् १९०७, पृष्ठ ९८–९९ ।) माक्र्सले भनेझैँ को नयाँ हुन् ? के आलु उपलब्धि छ र ? तिम्रो कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र नकाम भैसक्यो र दलाल पुँजीवाद (दलालहरू) सँग लड्ने जनताको निशाना स्पष्ट छ ।

अभियानले जनतामा पार्टीको विचार, दृष्टिकोण, राजनीतिक कार्यदिशा, आमनीति, कार्यक्रम र योजना सम्प्रेषण एवम् स्पष्ट गरेको छ । कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र (दलालतन्त्र) र सामाजिक दलाल पुँजीवादी सरकारका सबै राष्ट्रघाती, जनघाती र जनविरोधी कार्यहरूको भन्डाफोर भएको छ । ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता हटाउन, दलाल पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका केलाउन, कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सारलाई जनतामा प्रस्ट पार्न र विभिन्न कम्युनिस्ट तथा समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने दुष्प्रयासको भ्रम सफा गर्ने उद्देश्य आंशिक रूपले हासिल भएको छ । सबै कोलाहलपूर्ण, बहुरूपी एवम् छद्मभेषी रूपहरूमाथि प्राणघातक वैचारिक प्रहार गर्ने कोसिस भएको छ । एकीकृत जनक्रान्तिले मात्र दलाल पुँजीवादीहरूलाई व्यावहारिक कसीमा उदाङ्गो पार्नेछ । राजतन्त्रको उन्मूलन, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट सन्तुष्ट भएका साम्राज्यवादका दलालहरू मात्र वर्तमान व्यवस्थाका समर्थक तथा मतियारहरूको ताँतीमा उभिएका छन् । दलालहरूका समाजवादउन्मुख अर्तीहरू खोक्रो बकबास सिद्ध भइरहेको छ । अब दलाल पुँजीवादी व्यवस्थाको विकल्प दलाल पुँजीवाद तथा अमूक पार्टी र नेताको विकल्प अमूक नेता र पार्टी हुन सक्दैन । एकीकृत जनक्रान्तिको सुस्पष्ट मार्गद्वारा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यताको दिशाबोध भइरहेको छ ।

अभियानले जनतामा पार्टीको विचार, दृष्टिकोण, राजनीतिक कार्यदिशा, आमनीति, कार्यक्रम र योजना सम्प्रेषण एवम् स्पष्ट गरेको छ । कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र (दलालतन्त्र) र सामाजिक दलाल पुँजीवादी सरकारका सबै राष्ट्रघाती, जनघाती र जनविरोधी कार्यहरूको भन्डाफोर भएको छ ।

‘युरोपमा पुँजीवादका विरुद्ध छेडिने निर्णायक लडाइँमा दीर्घकालीन ढिलाइले गर्दा अदूरदर्शी र कायरतापूर्ण अराजकतावादी नैराश्य देखिन्छ । एसिया पनि तिनै युरोपेली आदर्शहरूका लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रा लागि नैराश्यको कारण नभएर निकै उत्साहजनक कुरा हुन गएको छ ।’ (लेनिन प्राभ्दा, अङ्क ५०, मार्च १९१३, खण्ड २३, पृष्ठ १–४) मा लेनिनले भनेजस्तै विगतको सम्झौता, धोका र प्रतिक्रान्तिका कारण आमजनतामा केही अविश्वास, आशङ्का, घृणा र निराशा भए पनि व्यापक आक्रोश बढिरहेको छ । जनक्रान्तिले दलाल पुँजीवादका विरुद्ध निर्णायक मोड नलिँदासम्म यसो हुनु अस्वाभाविक मानिँदैन । यद्यपि एकीकृत जनक्रान्तिले नयाँ आशा, विश्वास र उत्साह बढाइरहेको छ । अभियान मूल उद्देश्यमा सफल भएको छ । कमरेड माओले भन्नुभएको थियो हजार माइलको लामो यात्रा एक पाइलाबाट सुरु हुन्छ । यो अभियानले पनि नयाँ आधार खडा गरेको छ ।

ग) उपलब्धिहरू

कुनै पनि अतिरञ्जना वा न्यूनीकरणबिना सत्य–तथ्य आफैँ बोलिरहेको छ । पाल्पामा १५ भदौदेखि सञ्चालित अभियानको ३ कात्तिकमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । यो अभियान उपलब्धिपूर्ण रहेको छ । अभियानअन्तर्गत ३५ वटा जनभेला, ३६५ वटा घरदैलो कार्यक्रम, करिब ५ हजार जनता र ३५ वटा गाउँमा अभियान पुगेको छ । १७ सय जनतालाई अभियानमा प्रशिक्षित गरिएको छ । भदौमा दलहरू र असोजमा शिक्षक÷बुद्धिजीवीसँग अन्तरक्रिया सम्पन्न गरिएको छ । सामाजिक दलाल पँुजीवादी सरकारका हरेक कार्यको विभिन्न माध्यमबाट भन्डाफोर गरिएको छ । पार्टी, सत्ता, जवस र मोर्चाका १४३ वटा नारा वालिङ गरिएको छ । त्यसैगरी पार्टी, सत्ता, जवस/मोर्चाहरूका जिल्ला, नगर, गाउँ र टोलका बैठकहरू प्रशिक्षणात्मक रूपले सम्पन्न गरिएको छ । जनपरिचालन एवम् जनप्रदर्शन भएको छ । गाउँस्तरका युवा भेला सम्पन्न भएको छ । अभियान अवधिमा जवस/मोर्चाका जम्मा ३५ वटा गाउँ/टोल समितिहरू नयाँ निर्माण गरिएको छ । जिल्ला जनपरिषद् र अभियानअन्तर्गत विद्यार्थीको जिल्ला बैठक र टोल एकाइ समिति ८ वटा नयाँ निर्माण भएका छन् । युवाको गाउँ भेला १ र टोल भेला १५ वटा सम्पन्न गरेर १५ वटा नयाँ टोल समिति निर्माण गरिएको छ । दलित मुक्ति मोर्चाको जिल्ला बैठक र एउटा नयाँ टोल समिति निर्माण भएको छ । त्यसैगरी महिलाको भेलाद्वारा जिल्ला समिति निर्माण गरिएको छ । ४ वटा नयाँ टोल समिति निर्माण भएको छ । त्यसैगरी मगर मुक्ति मोर्चाका ४ वटा नयाँ टोल समिति निर्माण गरिएको छ भने किसानका २ वटा टोल समिति निर्माण गरिएको छ । सहिद परिवारसँग भेटघाट एवम् छलफल गरिएको छ । विगत अभियानमा निर्मित जनसङ्गठनहरूलाई परिचालन एवम् प्रशिक्षित गरिएको छ । उत्पादन र जनश्रमका कामहरू गर्ने तथा नेता–कार्यकर्ताहरूलाई प्रत्यक्ष जनतासँग जोड्ने काम अभियानले गरेको छ । नयाँ आकर्षण, सङ्गठन र परिचालनमा यो व्यक्त भएको छ ।

राजतन्त्रको उन्मूलन, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट सन्तुष्ट भएका साम्राज्यवादका दलालहरू मात्र वर्तमान व्यवस्थाका समर्थक तथा मतियारहरूको ताँतीमा उभिएका छन् । दलालहरूका समाजवादउन्मुख अर्तीहरू खोक्रो बकबास सिद्ध भइरहेको छ । अब दलाल पुँजीवादी व्यवस्थाको विकल्प दलाल पुँजीवाद तथा अमूक पार्टी र नेताको विकल्प अमूक नेता र पार्टी हुन सक्दैन । एकीकृत जनक्रान्तिको सुस्पष्ट मार्गद्वारा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यताको दिशाबोध भइरहेको छ ।

घ) जनअपेक्षा एवम् जनसुझाव

जनता– यो सरकारले मात्र होइन, अहिलेसम्म कसैले पनि जनताका पक्षमा केही गरेनन् । विगतका जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धले समेत जनताका लागि केही गर्न सकेन । तपाईंहरूले पनि माथि पुगेर सम्झौता गर्ने, आफ्नो दुनो सोझ्याउने र धोका दिने काम नगर्नुहोला है ! अहिलेसम्मको व्यवहारले जुन जोगी आए पनि कानै चिरिएका छन् । विपत्ति र सङ्कटमा कसैले केही गरेनन् । भूकम्प र पहिरोले भत्काएको घरको भग्नावशेष अझै उस्तै छ । अहिलेसम्म सबैले जनतालाई भर्याङ बनाए । तपाईंहरूले पनि धोका नदिने, बीचैमा नछोड्ने र उस्तै नबन्ने आधार के ? आदि ।

सहिद–बेपत्ता परिवार– हाम्रो पीडा दर्दनाक छ । प्रचण्ड–बाबुरामले नयाँ जनवाद ल्याउने भनेर जनयुद्ध भयो । हामीले आफ्न्त गुमायौँ तर उनीहरू आज कहाँ पुगे ? तपाईंहरूले सहिदहरूका सपना पूरा गर्नुपर्छ । तपाईंहरूबाहेक अब अरू कसैको भर र विश्वास छैन । शिक्षक/बुद्धिजीवी– ‘कुख्यात ‘बुद्धिजीवीहरू’ ले मरिसकेकाहरूका नाममा आँसु झार्ने अनगिन्ती मानिसहरूको प्रतिनिधित्व गर्छन् । पहिलोले संविधानसभाको सम्झनामा आँसु चुहाउँछ, दोस्रोले पुँजीवादी अनुशासनका नाममा डाँको छोड्छ । तेस्रोचाहिँ पुँजीवादी व्यवस्थाको स्मृतिमा रुन्छ । चौथो सुसंस्कृत जमिनदारका नाममा सुँक्क–सुँक्क गर्छ । पाँचौँले साम्राज्यवादी राष्ट्रअहंकारिताको स्मरणमा आँसु खसाल्छ इत्यादि भग्नावशेषहरूबाट जमिन सफा गर्ने ‘निरस’ र ‘झर्को लाग्ने’ काम थाल्नुपर्ने हुन्छ ।’ सोभियत सत्ताका तत्कालिक कार्यभारहरू (लेनिन, अप्रिल १९१८, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ३६, पृष्ठ १६५– २०८) मा लेनिनले भनेजस्तै त होइन, केहीले अब विकास र आर्थिक समृद्धिमा अघि बढ्नु राम्रो, जनयुद्धमा भएको बलिदानको मूल्य खै ? माथिबाटै कारबाही गर्नुहोस्, हामी सबै तपाईंहरूको साथमा छौँ । समर्थन, सहयोग पनि गछौँ तर विगत नदोहोरियोस्, हाम्रो शुभकामना छ ।

दलहरू– लोकतन्त्रमा राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउनु विडम्बना हो । यो संविधानविपरीत छ । राष्ट्रपति साझा हुनुपर्ने, संविधानका संरक्षक हुन् तर आफैँ संविधान मिचिरहेकी छिन् । केपी र पुष्पकमलको झगडामा मुछिन्छिन् । गणतन्त्रमा धेरै राजा जन्मिए । सबै खतम् भो । हामीले भनेको सुन्दैनन् । तपाईंहरूले नयाँ पहल लिनुपर्यो । कारबाहीको विकल्प देखिँदैन आदि ।

विगतको सम्झौता, धोका र प्रतिक्रान्तिका कारण आमजनतामा केही अविश्वास, आशङ्का, घृणा र निराशा भए पनि व्यापक आक्रोश बढिरहेको छ । जनक्रान्तिले दलाल पुँजीवादका विरुद्ध निर्णायक मोड नलिँदासम्म यसो हुनु अस्वाभाविक मानिँदैन । यद्यपि एकीकृत जनक्रान्तिले नयाँ आशा, विश्वास र उत्साह बढाइरहेको छ ।

ङ) धोका हुँदैन र हामी जित्छौँ

‘एकीकृत जनक्रान्ति’ पृष्ठ १९२–१९६ मा महासचिव कमरेड विप्लवले ‘जनतालाई धोका हुँदैन’ लेखमा पहिलो, विचार, दोस्रो, राजनीतिक अन्तर, तेस्रो, कम्युनिस्ट पार्टी, चौथो, हाम्रो जीवनव्यवहार, पाँचौँ, राष्ट्रिय स्वाधीनता र छैटौँ, पार्टी आन्दोलनको उद्देश्य ६ वटा आधारसहित नयाँ अठोट गर्नुभएको छ । मालेमावादी विचार, सच्चा कम्युनिस्ट पार्टी, स्पष्ट राजनीतिक उद्देश्य एवम् कार्यदिशा, स्वाभिमानी एवम् देशभक्ति भावले ओतप्रोत नेता, कार्यकर्ता र जनता तथा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्ने महान् उद्देश्यका आधारमा हामीले भनेका छौँ– धोका हुँदैन र हामी जित्छौँ । पार्टी र क्रान्तिको पुनर्गठनपछिका सबै अभियानमा जनतामा पुगेर धोका हुँदैन र हामी जित्छौँ भनिरहेका छौँ । ‘पुरानो समाजसँग सम्बन्धविच्छेद गर्नु, क्रान्तिप्रति पूर्ण रूपले समर्पित हुनु, आफ्नो जीवनलाई आहुती दिन तयार हुनु र सबैले जनयुद्धको सूत्रपातकर्ता बन्ने दायित्वलाई शिरोपर गर्नु । यसको साकार रूप कुनै व्यक्ति लडाकु बन्नुअघि वर्गसङ्घर्षका क्रममा भाबी लडाकुको स्वरूपमा ढालिँदै जाँदा सुरु हुन्छ । पार्टीले उसका गुण, अवस्था र कमीको समेत विश्लेषण गर्दछ । ऊ लायक ठहरिएमा लडाकुको दर्जा दिन्छ’ गोन्जालोले मर्मस्पर्शी ढङ्गले भनजस्तै हाम्रो पार्टीका सबै नेता र कार्यकर्ताले एउटै साझा एवम् नयाँ सङ्कल्प गरेका छौँ । ‘विश्वदृष्टिकोणमा रूपान्तरण’ पृष्ठ ८१ मा कमरेड सुदर्शनले एकजना भारतीय कवि पाशको कविता ‘सबभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु’ उल्लेख गर्नुभएजस्तै हाम्रो सपनाको मृत्यु भएको छैन र हुने पनि छैन । धोकारहित, सम्झौतारहित र नहार्ने वास्तविक लडाइँ एकीकृत जनक्रान्ति हो ।

प्रतिबन्ध वा फासिवादी दमनले दलालहरू जति–जति क्रूरता र निचता देखाउँदै जान्छन्, सर्वहारा क्रान्तिको दिन त्यत्तिकै नजिकिँदै जानेछ । कुनै पनि शक्तिले एकीकृत जनक्रान्तिलाई पराजित गर्न सक्नेछैन । सर्वशक्तिमान एवम् अपराजेय मालेमावादले हामीलाई मार्गदर्शन गरेको छ– जब कुनै विचारधाराले जनसमूहलाई ढाक्छ, त्यो एक भौतिक शक्तिमा परिणत हुन्छ । संसारमा कुनै त्यस्तो शक्ति छैन जसले श्रमिक वर्ग र उत्पीडित जनताहरूलाई विश्व–वैज्ञानिक समाजवादी क्रान्तिको विजय दिवससम्म त्यो सत्ता आफ्नो हातमा कायम गर्नबाट रोक्न सकोस् ।

८ कात्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :