कसलाई भनूँ यहाँ सरकार छैन

कसलाई भनूँ यहाँ सरकार छैन

कोभिडको महामारी छ
सत्ता र पैसाको लडाइँ जारी छ
गरिब, निमुखा जनता भोकै मर्ने भो
जताततै लुट र कालोबजारी छ ।

व्यापारीको व्यापार छैन
कृषकलाई बजार छैन
सहनै नसकिने असमानता छन्
कसलाई भनूँ यहाँ सरकार छैन ।

आकासिँदो बजार भाउ छ
हामी जनताको मनमा घाउ छ
नेताहरूलाई चुनाव र भोटकै दाउ छ
याद गर टाउकेहरू
तिम्रो चर्तिकला नियालेकै छु
उकालीपछि ओराली अनि रातपछि दिन आउँछ ।

दिनरात खटेकै छन् ती नर्स तर भत्ता छैन
श्रम अनि इज्जत लुट्छन् माफियाले
कसलाई भनूँ पीडा र वेदना
यहाँ जनताको सत्ता छैन ।

बलात्कारीले सम्मान पाउँछन्
हत्याराले फूलमाला लाउँछन्
पद र पैसाका लागि दूतावास धाउँछन्
देश बेच्ने तिनै चोर नेताहरू
राष्ट्रियताको गीत गाउँछन् !

कोरोनामा
नेता र मन्त्रीले भ्रष्टाचार गरे
डाक्टर र नर्सले उपचार गरे
कालोबजारियाले कालो व्यापार गरे
तर के भन्नु
स्वस्थ जनता रोगी भो
साइँला दाइ त जोगी भो
यो त देशको परिपाटी हो
अब
युवाहरू थाकेर हुन्न
नेताका पछि लागेर हुन्न
विदेशतिर भागेर हुन्न
अरूले गर्लान् भनी काम साँचेर हुन्न
हेर
आफैँ गर्नुछ
जन्मेर मर्नुछ
सङ्घर्षका खोली तर्नुछ ।

हो निश्चित छ
त्यो अवश्य छ
तर अलि पर छ
त्यो वीरताको गीत हाम्रै हो
त्यो बलिदानको जित हाम्रै हो
त्यो सुनौलो बिहानी र सङ्गीत हाम्रै हो
युवा एकता जिन्दावाद !!

CMCTH- Bharatpur  
चिकित्सा शिक्षा सङ्घर्ष समिति चितवन

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :