अत्यन्त विवादित बन्दै प्रधानमन्त्री र ‘र’ का प्रमुखबीचको गोप्य वार्ता

संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित भएको प्रमाणित : जनपरिषद्, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको घोर अपमान : नागरिक अगुवा, गम्भीर राष्ट्रघातको आशङ्का : नेकपा (क्रान्तिकारी माओवादी)

अत्यन्त विवादित बन्दै प्रधानमन्त्री र ‘र’ का प्रमुखबीचको गोप्य वार्ता

काठमाडौँ : नेपालका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग गरेको गोप्य भेट देशव्यापी रूपमा अत्यन्त विवादित, आलोचित र शङ्कास्पद बन्दै गएको छ । वली–गोयल भेटका विषयमा नेकपाको समानान्तर सरकार केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगर, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), अग्रज नागरिक अगुवालगायत देशभक्त र क्रान्तिकारी शक्तिले वक्तव्य निकालेरै विरोध गरेका छन् ।

केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदै लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।

त्यसैगरी मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री वलीले गम्भीर राष्ट्रघातको आभास दिएको उल्लेख छ । उनले भनेका छन्, ‘यही २०७७ कात्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्गप्रसाद वलीले भारतको खुफिया विभाग (रिसर्च एन्ड एनालिसिस विङ) का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण गरेको छ । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कूटनीतिक मर्यादाको मात्र होइन, राष्ट्रिय स्वाभिमानसमेतको खिल्ली उडाएको छ । त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभास दिन्छ । हाम्रो पार्टी यसको घोर विरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपिल गर्दछ ।’

यसैगरी उक्त भेटवार्ताले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरेको भन्दै २३ जना नागरिक अगुवाले घोर आपत्ति प्रकट गरेका छन् । आपत्ति प्रकट गर्दै अपिल प्रकाशित गर्ने नागरिक अगुवाहरूमा उमाशङ्कर प्रसाद, दीपेन्द्रबहादुर क्षत्री, देवेन्द्र सिटौला, द्वारिकानाथ ढुङ्गेल, धनकुमारी सुनार, निगम हुमागाईं, निर्मला ढकाल, पीताम्बर शर्मा, वीणा झा, डा. भरत प्रधान, भैरव रिसाल, मानवी पौडेल, डा. महेश मास्के, युवराज सङ्ग्रौला, रमेश खरेल, लीलामणि पौडेल, डा. शरद वन्त, सरिता तिवारी, डा. सरोज धिताल, सूर्यनाथ उपाध्याय, सूर्यराज आचार्य, हरि रोका र त्रिलोकसिंह थापा क्षेत्री छन् ।

उनीहरूले ले शनिबार अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातको समयमा आफ्नै सरकारी निवासमा भेट्नुलाई कुनै पनि अर्थमा जायज मान्न नसकिने बताएका छन् ।

नागरिक अगुवाले जारी गरेको अपिलमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई, त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नुभयो, त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिँदैन ।’

प्रधानमन्त्री वलीले बुधबार राती ‘र’ का प्रमुख गोयलसँग आफ्नो बालुवाटारस्थित निवासमा २ घन्टाभन्दा समय गोप्य वार्ता गरेका थिए । उक्त समयमा गरिएको वार्ताका विषयमा प्रधानमन्त्रीले औपचारिक रूपमा यतिबेलासम्म कुनै पनि प्रतिक्रिया वा जानकारी दिएका छैनन् ।

विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्वोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैँले मध्यरातसम्म घन्टौँ गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने पनि उनीहरूले बताएका छन् ।

‘र’ ले नेपाललगायत अन्य मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिका निर्वाह गरिरहेको भन्दै नागरिक अगुवाहरूले यस्ता संस्थाका प्रमुखसँग कुनै पदाधिकारी वा नेताबाट गैरकूटनीतिक भेटघाट भएमा निरुत्साहित र नियन्त्रित गर्नुपर्नेमा मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैँले भेटघाट गर्नु कूटनीतिक आचारसंहिताविपरीत हुने पनि प्रस्ट पारेका छन् ।

नागरिक अगुवाहरूले ‘र’ प्रमुखको यो भ्रमणको एजेन्डा के थियो, कसले आमन्त्रण गरेको थियो वा कुनै आमन्त्रणबिनाको उनको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता कोकोसँग र कुनकुन विषयमा गरियो, प्रचलित कूटनीतिक कार्यविधिअनुसारको कूटनीतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो भन्ने प्रश्न गरेका छन् ।

नागरिक अगुवाले प्रकाशित गरेको अपिलमा भनिएको छ :

छिमेकी मुलुक भारतसँगको विद्यमान सीमा विवादका बारेमा नेपाल सरकारले कूटनीतिक तहमा औपचारिक वार्ताका लागि बारम्बार गरेको पत्राचारप्रति पूर्ण बेवास्ता गरेको छिमेकी मुलुकका वैदेशिक गुप्तचर मामिलासम्बन्धी संस्था (र) का प्रमुखको कोरोना महामारीको तीव्र विस्तारको चपेटामा परेको र अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा विशेष विमानबाट रहस्यमय ढङ्गले नेपालमा आगमन, कूटनीतिक माध्यम र मर्यादाको पूर्ण बेवास्ता गरी प्रधानमन्त्री आफैँले मध्यरातसम्म गोप्य रूपमा लामो कुरा गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो समाचारमा प्रतिबिम्बित सरकारको लापरबाहीपूर्ण कार्यशैलीले आमनागरिकलाई चिन्तित बनाएको छ ।

‘र’ प्रमुखको यो भ्रमणको एजेन्डा के थियो, कसले आमन्त्रण गरेको थियो वा कुनै आमन्त्रणबिनाको उनको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता कोकोसँग र कुनकुन विषयमा गरियो, प्रचलित कूटनीतिक कार्यविधिअनुसारको कूटनीतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो भन्नेजस्ता गम्भीर प्रश्नहरू अनुत्तरित रहेको यस रहस्यमय भ्रमणका बारे एउटा सार्वभौम मुलुकको सचेत नागरिकका हैसियतले हामीले चासो राखेका हौँ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमार्फत जारी प्रेस नोटमा र प्रमुखको प्रधानमन्त्रीसँगको भेटलाई ‘शिष्टाचार भेट’ भनिएको छ । एक विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्वोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैँले मध्यरातसम्म घन्टौँ गरेको गोप्य वार्तालाई कूटनीतिक भाषामा कसरी शिष्टाचार भेट भन्न सकिन्छ ?

प्रधानमन्त्रीले विदेशी गुप्तचर निकायका प्रमुखलाई भेट्नै हुँदैन भन्ने आग्रह हाम्रो हुँदै होइन तर प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई, त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नुभयो, त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिँदैन ।

छिमेकी मुलुकहरूमा उक्त गुप्तचर संस्थाका गतिविधिले निम्त्याएका घटना सुखद छैनन् । नेपाललगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिकामा रहिआएको संस्थाका प्रमुखसँग अन्य कुनै पदाधिकारी वा नेताबाट गैरकूटनीतिक भेटघाट भएमा त्यस्ता गतिविधिलाई निरुत्साहित र नियन्त्रित गर्नुपर्ने प्रमुख दायित्व भएको मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैँले गैरकूटनीतिक र आफैँले जारी गरेको कूटनीतिक आचारसंहिताविपरित भेटघाट गरेकाले हामीलाई थप चिन्तित बनाएको हो । यस्ता कूटनीतिक मर्यादाविपरीतका क्रियाकलाप विगतमा जोकोहीबाट भएका थिए भने पनि ती गलत नै थिए र त्यस्ता गतिविधि नियन्त्रण हुन अनिवार्य छ । यसका लागि प्रधानमन्त्री स्वयम्कै प्रमुख भूमिका हुन्छ । विगतमा कसैका यस्तै गल्तीलाई आधार बनाएर मुलुकको कार्यकारी प्रमुख स्वयम्ले गरेका यस्ता गोप्य भेटघाट र अवाञ्छित गतिविधिको औचित्य पुष्टि गर्ने प्रयास हुन्छ भने त्यो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

छिमेकीसँगको सम्बन्ध सुधार कूटनीतिक माध्यमबाट सबै नेपाली जनताको जनभावना तथा समर्थनको बलमा गर्ने हो न कि गोप्य र अपारदर्शी गुप्तचर निकायसँगको सल्लाहमा । जनताले छिमेकीसँग अझ घनिष्ट, सुदृढ र सौहार्दपूर्ण सम्बन्ध बनाउने अपेक्षा गरेका समयमा प्रधानमन्त्रीबाटै यस्तो अवाञ्छित गतिविधि हुनुलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौँ । यसका लागि नेपाल सरकारको कूटनीतिक लापरबाही, ठूलो छिमेकीको मिचाहा प्रवृत्ति र त्यसलाई मलजल गर्ने नेपाली राजनीतिक नेतृत्वको राष्ट्रिय हितविपरीतको कार्य जिम्मेवार छ भन्ने हाम्रो धारणा छ । प्रचलित कूटनीतिक अभ्यासको उल्लङ्घन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरिएको यो भ्रमणले यस्ता थुप्रै गम्भीर प्रश्न उठाएको छ ।

सुसूचित हुन पाउने संवैधानिक अधिकार प्राप्त सार्वभौम नेपाली नागरिकले नेपाल सरकारबाट माथिका प्रश्नको इमानदार र स्पष्ट जबाफ तत्काल खोजेका छन् । लोकतान्त्रिक सरकारले जनउत्तरदायित्वको यो न्यूनतम् दायित्व निर्वाह गरोस् भन्ने हाम्रो आग्रह छ ।

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमा बारम्बार ठाडो हस्तक्षेप आमन्त्रण गर्ने र वैदेशिक दासता स्वीकार्ने नेपालको राजनीतिक प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौँ । राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र हाम्रो राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुकका गतिविधिका विरुद्धमा निरन्तर खबरदारी गर्न समाजका हरेक तप्का र आमजनसमुदायमा हामी अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :