दसैँ–तिहारलगायत चाडपर्वबारे

दसैँ–तिहारलगायत चाडपर्वबारे

आमुख

नेपाल एकसय तेइसभन्दा बढी भाषाभाषी र एकसय पच्च्सिभन्दा बढी जातजाति एवम् आठभन्दा बढी धर्मावलम्बीहरू बसोबास गर्दै आएको देश हो । ती सबैको आ–आफ्नै संस्कृति–चाडपर्व छन् । नेपाली समाजमा ‘तेत्तिसकोटि देवता’ र ‘मन्दिरैमन्दिर’ को मानसिकता पनि गहिरै छ । नेपाली समाजमा ईश्वरीय शक्ति, पौराणिक आख्यान, लिङ्गगत, कृषिजन्य एवम् प्रकृतिजन्य परिवर्तनसित सम्बन्धित दसैँ, तिहार, बुद्धजयन्ती, शिवरात्री, कृष्णाष्टमी, रामनवमी, जनैपूर्णिमा, तीज, भोटोजात्रा, गाईजात्रा, फागु, माघे सङ्क्रान्ति, नयाँ वर्ष, क्रिसमस, ईद, बकरिद, ल्होसार, छठ, अक्षय तृतीया, शिवरात्री, उधौली, उभौली, वसन्तपञ्चमी, घोडेजात्राजस्ता असङ्ख्य चाडहरू प्रचलनमा छन् ।

यतिबेला सत्तामा कथित कम्युनिस्ट आबरणको उपस्थिति त छ, उसले पनि शताब्दीऔँदेखि प्रचलित हिन्दू धार्मिक–सांस्कृतिक आधारलाई जनसांस्कृतिक आधारमाथि ‘राष्ट्रिय सांस्कृतिक मानक’ को नाममा सत्तासंस्कृतिको हैकम चलाइरहेको छ । मल्लकालीन ‘जातप्रथा’ र पृथ्वीनारायणकालीन ‘असली हिन्दुस्तान’ शासकीय प्रपञ्चकारी नकारात्मक सांस्कृतिक विरासत हुन् । नेपाली समाजमा प्रचलित चाडपर्वबारे विभिन्न जनसमुदायको हार्दिक भावनात्मक व्याख्या हुँदै आए पनि तिनले मूलतः खास विचार सम्प्रेषण गरिरहेका हुन्छन्, शासक वर्गको सेवा गरिरहेका हुन्छन्, पुरानो सत्ता र संस्कृतिको पृष्ठपोषण गरिरहेका हुन्छन् । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि यथार्थतः हिन्दु धर्म र संस्कृतिसित गाँसिएका चाडबाडलाई नै बर्चस्वशाली बनाइएको छ । धर्म, अन्धविश्वास, रूढिवाद, अवैज्ञानिकता र जनहितविराधी संस्कृतिले मानवजातिको सार्वभौम समानताको सम्मान गर्नै सक्तैन । नूतन संस्कृतिले मात्र मानवजातिको सार्वभौम समानताको सम्मान गर्न सक्तछ । कोभिड १९ को कहरबिच दसैँ, तिहार, छठजस्ता चाडपर्वले समाजलाई आहतमय बनाउँदै छ । यही सन्दर्भमा यहाँ सांस्कृतिक दृष्टिकोण प्रस्तुत गरिएको छ ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि यथार्थतः हिन्दु धर्म र संस्कृतिसित गाँसिएका चाडबाडलाई नै बर्चस्वशाली बनाइएको छ । धर्म, अन्धविश्वास, रूढिवाद, अवैज्ञानिकता र जनहितविराधी संस्कृतिले मानवजातिको सार्वभौम समानताको सम्मान गर्नै सक्तैन । नूतन संस्कृतिले मात्र मानवजातिको सार्वभौम समानताको सम्मान गर्न सक्तछ । कोभिड १९ को कहरबिच दसैँ, तिहार, छठजस्ता चाडपर्वले समाजलाई आहतमय बनाउँदै छ ।

१. राजनीतिक–वैचारिक दृष्टिकोण

चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको दशौँ पूर्ण बैठकमा कमरेड माओले भन्नुभएको थियो, “राजनीतिक सत्ता कब्जा गर्नका लागि सर्वप्रथम जनमत तयार पार्न र वैचारिक क्षेत्रमा काम गर्न आवश्यक हुन्छ ।” क्रान्तिकारीहरू जति वैचारिक–राजनीतिक दृष्टिकोणलाई जोड दिइरहेका हुन्छन्, त्योभन्दा कैयौँगुणा बढी प्रतिक्रान्तिकारीहरूले पनि जोडबल लगाइरहेका हुन्छन् । यो आ–आफ्नो वर्गीय र वर्गीय प्रतिबद्धताको कुरा हो । हामीले वैचारिक क्षेत्रमा बुर्जुवाका हरेक चुनौतीको डटेर सामना गर्नुपर्दछ । नेपालमा कुरा समाजवादी वैचारिकीको गर्ने तर व्यवहारमा पुँजीवादी वैचारिकी अवलम्बन गर्ने ‘कम्युनिस्टहरू’ पनि छन् । नेपालमा ‘बहुलवादी कम्युनिस्ट’ हुनुले उनीहरूको राजनीतिक–वैचारिक परिस्थितिलाई नै छर्लङ्ग पारेको छ । सर्वहारा–कम्युनिस्टहरूले आफ्नै दृष्टिकोण, विचार, संस्कृति, रीतिरिवाज र बानीव्यवहार लागु गर्नुपर्छ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद कम्युनिस्ट विश्वदृष्टिकोण हो । हामीले भौतिकवादी विश्वदृष्टिकोणलाई आफ्नो जीवन–व्यवहारमा प्रयोग गर्नुपर्दछ । एकीकृत जनक्रान्ति हाम्रो राजनीतिक कार्यदिशा हो । वैज्ञानिक समाजवादको स्थापना हाम्रो तत्कालीन कार्यभार हो भने मालेमावादी साम्यवादसम्म पुग्नु हाम्रो दीर्घकालीन रणनीति हो । हाम्रो राजनीतिक कम्युनिस्ट–सर्वहारा राजनीति हो । माक्र्सवाद–लेनिनवाद–माओवाद हाम्रो पथप्रदर्शक सिद्धान्त हो । समाजवादी–यथार्थवाद हाम्रा सांस्कृतिक मानक हुन् । यिनै राजनीतिक–वैचारिक आलोकमा हामीले समाजमा अस्तित्वशील चाडपर्वको सांस्कृतिक निरुपण गर्नुपर्दछ । नेपाली समाजमा प्रचलित दसैँ, तिहारजस्ता अधिकांश चाडपर्व आदर्शवाद अर्थात् अध्यात्मवादको पृष्ठपोषक छन् । भौतिकवादी विश्वदृष्टिकोणको वाहक हुनुको नाताले अध्यात्मवाद र शासकीय सेवामा आधारित दसैँ–तिहारजस्ता चाडपर्व हाम्रा लागि प्राथमिकी सन्दर्भ बन्दैनन् । नयाँ यथार्थपरक सांस्कृतिक मूल्यलाई आदर्शीकरण गर्नेहरूका लागि भ्रम र कल्पनामा आधारित चाडपर्व प्राथमिकतामा पर्दै–पर्दैनन् । दसैँ–तिहारजस्ता चाडपर्वलाई नवीनीकरण, प्रगतिशीलीकरण र जनपक्षीयकरण गर्दै लैजानुपर्दछ । हामी जुन विचार र शक्तिका विरुद्ध लडिरहेका छौँ, फेरि त्यही विचार र शक्तिको पृष्ठपोषण गर्ने चाडपर्वमा निर्लिप्त हुनु राजनीतिक–वैचारिक दृष्टिकोणले पनि अनैतिक हुन्छ ।

२. सांस्कृतिक दृष्टिकोण

नेपाली समाजमा एउटा उखान छ— आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । यो उखानमा गहिरो पीडादायी सामाजिक यथार्थ छ । यो उत्पीडित तथा श्रमजीवी जनसमुदायको विद्रोहको आवाज पनि हो । जब दसैँ–तिहारजस्ता पर्व आउँछन्, तब आतङ्क सुरु हुन्छ । मिठो खाने, राम्रो लगाउने कुरामा प्रतिस्पर्धा हुन्छ । सक्नेले गरे पनि नसक्ने पनि ऋण गरीगरी उही देखासिकी प्रतिस्पर्धा गरिरहेका हुन्छन् । राम्रो लगाउन दसैँ–तिहार नै कुनुपर्छ र ! मिठो खान, मासु खान दसैँ नै कुनुपर्छ र ! मासु त अरू बेला पनि खाएकै हुन्छन्, तर पनि समाज यही दौडमा होडबाजी गरिरहेछ । सांस्कृतिक दृष्टिकोणले यो सर्वथा बेठिक कुरा हो । सत्तासीन वर्गले जनतालाई रैती सम्झने र सोहीअनुसारको सिर्जित मनोविज्ञानका कारण यो अवस्था सिर्जना भएको हो । समाजमा प्रचलित दसैँ–तिहारजस्ता चाडपर्वलाई आज र अहिल्यै पूर्णतः निषेध गर्न नसके पनि त्यसलाई क्रमशः जनशैलीमा ढाल्दै लैजानुपर्दछ । दसैँ–तिहारलाई भेटघाट, साहित्यिक सिर्जना, नयाँ–नयाँ ठाउँको भ्रमणलगायत कार्यमा उपयोग गर्न सकिन्छ । हजारौँ वर्षदेखि शोषक वर्गले फिँजाएका पुराना विचार, संस्कृति, संस्कार र आनीबानीका विरूद्ध हामीले सांस्कृतिक प्रतिरोधी अभियानलाई निरन्तर जारी राख्नुपर्दछ । यो सांस्कृतिक क्रान्तिसित सम्बन्धित कुरा पनि हो । सांस्कृतिक रूपान्तरणमा आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षजस्ता आयाम हुन्छन् । यो वर्गसङ्घर्षको माध्यमबाट पुराना विचार, संस्कार, आनीबानी र संस्कृतिसित सम्बन्ध–विच्छेद गर्दै र वैकल्पिक सांस्कृतिक धाराको निर्माण गर्दै अघि बढ्दछ । समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्न व्यक्तिको चौतर्फी विकासका लागि नयाँ संस्कृति अपरिहार्य छ । हामीले शासकीय सम्पत्तिशालीहरूको सांस्कृतिक एकाधिकारलाई उन्मूलन गर्नैपर्दछ । श्रमप्रति नयाँ दृष्टिकोण विकास नगरी जनताको पहँुच भएको समाजवादी संस्कृति बन्नै सक्तैन । धर्म भ्रम हो, ईश्वर कल्पना हो । दसैँ–तिहारका नाममा भ्रामक र काल्पनिक कुराको पछि लाग्नु समकालीन समाजका लागि पटक्कै नसुहाउने कुरा हो । हामी पुरानो संस्कृतिको ध्वंस र नयाँ संस्कृतिको निर्माण गर्दै पुरातन सांस्कृतिक विरासतका रूपमा रहेका चाडबाडबाट मुक्त हुन आम जनसमुदायमा अपिल गर्न चाहन्छौँ । सत्ता जुन वर्गको हुन्छ, चाडपर्वको बर्चस्व पनि त्यही वर्गको हुन्छ । परतन्त्रलाई बल पुर्याउने संस्कृति वैज्ञानिक हुनै सक्तैन । कर्म, पुनर्जन्म, भाग्यवाद, कर्मवाद, अवतारवाद उत्पीडनकारी छन् । दसैँलाई धर्मबाट अलग गरेर जनसमुदायको संस्कृतिको रूपमा पुनस्र्थापना गर्नुपर्दछ । हामीले वैज्ञानिक समाजवादी सांस्कृतिक आधारलाई बल पुर्याउने चाडपर्वलाई मात्र आत्मसात् गर्नुपर्दछ ।

सांस्कृतिक रूपान्तरणमा आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षजस्ता आयाम हुन्छन् । यो वर्गसङ्घर्षको माध्यमबाट पुराना विचार, संस्कार, आनीबानी र संस्कृतिसित सम्बन्ध–विच्छेद गर्दै र वैकल्पिक सांस्कृतिक धाराको निर्माण गर्दै अघि बढ्दछ । समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्न व्यक्तिको चौतर्फी विकासका लागि नयाँ संस्कृति अपरिहार्य छ ।

३. व्यवस्थापकीय दृष्टिकोण

नेपाली समाजमा चाडपर्वसम्बन्धी व्यवस्थापन जटिल बन्दै गएको छ । अब संस्कृति संस्कृतिको रूपमा रहेनन्, ती बजारको मालमा परिणत भइसकेका छन् । एकातिर संस्कृतिलाई धार्मिक क्रूर पञ्जाले कब्जा जमाएको छ भने अर्कोतिर यसलाई पुँजीवादको अकुत नाफाको साधन बनाइएको छ । सामन्तवाद र पुँजीवादको नाजायज गठजोडद्वारा सांस्कृतिक बिम्बको भयानक विद्रूपीकरण गरिएको छ । समकालीन चाडपर्वको सारतत्व नै मर्दै गएको छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका कारण समकालीन चाडपर्वको व्यवस्थापनमा आर्थिक पक्ष प्रधान बनेको छ । मानिससित पैसा छ चाडपर्व छ, पैसा छैन चाडपर्व छैन । महिनौँ लगाएर रगत–पसिना बगाएर गरिएको कमाइ दसैँ–तिहारजस्ता अनुत्पादक क्षेत्रमा अन्धाधुन्द प्रयोग गर्ने गरिएको छ । आधारभूत जनताका साधन–स्रोत अत्यन्त सीमित बन्दै गएका छन्, आवश्यकता असीमित बन्दै गएका छन् । जनताका लागि सीमित साधन–स्रोतले असीमित आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ । चाडपर्व आएपछि जनताका मन रमाउनुपर्ने अवस्थामा झन् उल्टो जनता आतङ्कित र त्रस्त बन्नुपर्ने अवस्था छ । चाडपर्वको व्यवस्थापनको जटिलताले जनता आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । सबै काम–कुरा दसैँमा गरौँला भन्ने मनोविज्ञानले पनि यसको व्यवस्थापकीय पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । चाडपर्वले उत्साह, उमङ्ग, ऊर्जा दिनुपर्दछ । एकाध मान्छेलाई हेरेर हामीले व्यवस्थापकीय धारणा बनाउनुहुँदैन । परम्परागत दसैँ–तिहारलगायतका चाडपर्वको व्यवस्थापन बिल्कुल भद्दा र अवैज्ञानिक छ । हामीले व्यवस्थापकीय दृष्टिकोणबाट चाडपर्वलाई सरलीकृत र सहजीकरण गर्न सक्छौँ । ऐतिहासिक कुनै सन्दर्भमा जनताको तर्फबाट प्रारम्भ भएका चाडपर्वलाई सत्तासीनले आफ्नो शोषणको साधन बनाउँदै आएको छ । वैज्ञानिक व्यवस्थापनअनुरूप हामीले सत्तासीनले हडपेको जनताको संस्कृतिलाई जनताको स्वामित्वमा फर्काउनेतर्फ पहल गर्नुपर्दछ ।

४. सुरक्षाको दृष्टिकोण

नेपालको समकालीन सत्तासंस्कृति सामाजिक फासिवादी उन्मादमा उन्मत्त छ । हामीलाई कथित कम्युनिस्ट आबरणको ओली सरकारले राजनीतिक प्रतिबन्ध लगाएको छ । उसले नेपाल कम्युनिस्ट पार्टीका झन्डै एकदर्जना नेता–कार्यकर्ताको हत्या गरिसकेको छ । सयौँ नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर जेल तथा हिरासतमा राखेको छ । उसले कैयौँलाई पक्राउ पुर्जी जारी गरेको छ । अनावश्यक खानतलासी र धरपकडको कुनै हिसाब–किताब नै छैन । बकुल्लाले माछो ढुकेर बसेजस्तो ऊ पार्टीका नेता–कार्यकर्ता पक्रन ढुकेर बसिरहेको छ । फासिवादी सरकारले नेता–कार्यकर्ताको घर–परिवार, कार्यालय, सम्पर्क सूत्र, सेल्टरलाई निकै चनाखो भएर कुरिबसिरहेको कुरा बुझ्न कुनै आइतबार कुर्नुपर्दैन । उसले कोहीलाई घरबाट, कोहीलाई कार्यालयबाट, कोहीलाई बैठकस्थलबाट, कोहीलाई पत्रकार सम्मेलनस्थलबाट, कोहीलाई आफन्तको घरबाट, कोहीलाई सेल्टरबाट पक्राउ गरेको छ । प्रतिबन्ध लगाएको एक महिनामै सिध्याउँछु भनेर ध्वाँस दिने केपी ओली पूर्णतः असफल भएपछि यतिबेला उनी विक्षिप्त बनेका छन् । नेकपाको देशव्यापी सशक्त प्रतिरोधले उनी आफैँ आतङ्कित बनेका छन् । महासचिव कमरेड विप्लवले समग्र पार्टी पङ्क्तिलाई सक्रिय रक्षा र दलाल ओली सरकारका विरुद्ध आ–आफ्नो ठाउँबाट सशक्त प्रतिरोधको आह्वान गर्नुभएको सन्दर्भ यहाँ विशेष मननीय छ । सुरक्षासम्बन्धी नजरअन्दाज गर्दा क्षति हुन्छ नै । चाडपर्वको सन्दर्भमा सङ्घर्षरत पार्टीको हैसियतले सुरक्षाको सन्दर्भलाई गम्भीरताका साथ लिनुपर्दछ । क्रान्तिकालमा स–साना कमजोरीले ठुलठुला क्षति भइरहेका हुन्छन् । सरकारी पक्ष दसैँ–तिहारजस्ता चाडपर्वको बेला पार्टीका नेता–कार्यकर्ता घरपरिवारमा आऊलान् र घेरा हालेर समातौँला भनेर योजना बनाइबसेका पनि हुन सक्तछ । कसले देखेको छ, को छ र, के हुन्छ र भनेर हामीले लापरवाही गर्नुहुन्न । बलिदानी भावनाका साथ सबै चुनौतीको सामना गर्न तयार हुनु बेग्लै कुरा हो । आधारक्षेत्रको कुरा झन् बेग्लै हो, सहर–बजारबाट गाउँघर जाने कुरा अलि भिन्नै हो । सुरक्षाको दृष्टिकोणले पनि हामीले दसैँ–तिहारजस्ता चाडपर्वमा लस्कर लागेर घर–परिवारमा जाने एवम् भेटघाट गर्ने विषयमा विशेष ध्यान पुर्याउनैपर्दछ । भर्खरै गृहमन्त्री बादलले प्रहरीलाई निर्देशन दिँदै ‘विप्लव समूहलाई निस्तेज पार्न कुनै सम्झौता नगर्र्नू’ भन्नुले विषयको गम्भीरता अझ स्पष्ट भएको छ ।

हामीले भन्दै आएका छौँ— समकालीन समाजमा अस्तित्वशील चाडपर्व, संस्कार, संस्कृतिलाई पूर्णतः निषेध गर्नुपर्ने, नवीनीकरण गर्नुपर्ने र नयाँ संस्कृतिमा आधारित चाडपर्वको निर्माण गर्नेगरी तीन भागमा वर्गीकरण गर्नुपर्दछ । जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवस, सांस्कृतिक बलिदान दिवस, पार्टी स्थापना दिवस, आठ मार्च, मे दिवसलगायतलाई वास्तविक चाडका रूपमा मनाउनुपर्दछ ।

५. व्यावहारिक दृष्टिकोण

जनताको जीवन दर्शन, विचार, आदर्श र पहिचान हो । माओले केही समस्या परे जनतामा जाऊ यसै भन्नुभएको थिएन । तर, सत्ताले जनताको स्वत्वलाई विद्रूपीकरण गरिरहेको छ । सत्ताको यो विद्रूपीकरण हामी सामाजिक जीवनका विभिन्न क्षेत्रमा देख्न सक्छौँ । सत्ताको भद्दा विद्रूपीकृत चरित्र दसैँ–तिहारजस्ता चाडपर्वमा झन् बढी देख्न सकिन्छ । धर्म, आध्यात्मिकता र पारलौकिकतासित गाँसिएका अनेकौँ चाडपर्वलाई हामीले जोड गर्नुहुँदैन । संस्कृति र धर्म फरक–फरक कुरा हुन् । हाइब्रिडिङ चाडपर्वबारे धर्मका ठेकेदारहरू यतिबेला मौन छन् । जनताका संस्कृतिलाई पनि सत्ताले अर्कै अर्कै बनाउँदै लगेको छ । जनताको जीवन–व्यवहारसँग नजोडिने संस्कृति नै हुन सक्तैन । चाडपर्व जननीतिसित जोडिएको र व्यवहारिक हुनुपर्दछ । हामीले जनताका ऐतिहासिक मानवचिन्तन र संस्कृतिलाई व्यवहारतः आत्मसात् गर्नुपर्दछ । हामीले ऐतिहासिक उपलब्धिलाई नजरअन्दाज गर्नुहुँदैन । विश्लेषकहरू भन्छन्— महान् सोभियत सङ्घको विघटनको एउटा कारण त्यहाँको ऐतिहासिक उपलब्धिको नजरअन्दाज गर्नु पनि थियो । कुनै पनि कुरा एक्कासी नयाँ, एकैपल्ट अर्कै बनिहाल्दैन । संस्कृति त झन् बन्दैन । हामीले ऐतिहासिक सन्दर्भलाई लौरो लगाएर होइन, बाध्य पारेर पनि होइन, आफूसँगै जनसमुदायको जीवन–व्यवहारमा लागु गर्दै लैजानुपर्दछ । समाजवादी–यथार्थवादी सांस्कृतिक आदर्शलाई आत्मसात् नगरीकन चाडबाडलाई नयाँ रूप दिन सकिँदैन । कुरा नयाँ संस्कृतिको गर्ने तर परम्परागत चाडबाडमा लिसो टाँसिएझैँ टाँसिइरहने व्यवहार अत्यन्त घातक छ । हामीले व्यावहारिक रूपमा दसैँ–तिहारलगायत चाडपर्वले बहन गरेको पुरानो संस्कृतिका विचार र परम्परा हटाउँदै लैजानुपर्दछ ।

निष्कर्ष

मालेमावाद सर्वहारा सांस्कृतिक क्रान्तिमा कार्यको पथप्रदर्शक हो । मालेमावाद भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद र क्षेत्रीय एवम् देशीय सामाजिक फासिवादी संस्कृतिको विरुद्ध लड्ने महत्वपूर्ण हतियार हो । सामन्तवादी चाडपर्वका विरुद्ध नजुधी, तिनलाई ध्वंस नगरी, तिनका ठाउँमा नयाँ र वैकल्पिक चाडपर्व स्थापित नगरी नयाँ संस्कृति बन्दैन । हजारौँ वर्षदेखि पुस्ता–पुस्तामा हस्तान्तरण हुँदै आएका चाडपर्वमा आस्थावानमा रूपान्तरण गर्नु कष्टकर कार्य त हुँदै हो, निरन्तरको क्रान्तिको माध्यमबाट अजङ्गका काला पहाडको रूपमा रहेको यसलाई धुजाधुजा पारेर समथर मैदान बनाउन असम्भव छैन । यो आफ्नो टाउकोमा आफैँले आगो लगाउने कुरा हो । यो आफैँसित रहेको पुरानो आदतका विरुद्ध आफैँले सङ्घर्ष गरेर विजय हासिल गर्ने कुरा पनि हो । यो कमजोरी–विचलनविरुद्ध सङ्घर्ष गर्नु र पुरानो चाडपर्वलाई नवीनीकृत गर्ने कुरा पनि हो । पुराना चाडपर्वलाई नवीनीकरण गर्छु भनेर मात्र हुँदैन, यसका लागि सत्तासंस्कृतिको वैचारिकीका विरुद्ध सशक्त विरोध र कम्युनिस्ट–सर्वहाराको वैचारिकीको पक्षपोषण गर्नु अपरिहार्य छ ।

शासक वर्गको विचार, भावना र संस्कृतिको न्युनीकरण–निर्मूलीकरण र उत्पीडित–श्रमजीवी वर्गका विचार, भावना र संस्कृतिको पुँजीकरण गर्नुपर्दछ । कस्तो चाडपर्व मान्ने र कसरी मान्ने, किन मान्ने, किन नमान्नेलगायतका विषयमा घनीभूत छलफल चलाइनुपर्दछ । धार्मिक रुढिवादी काला पहाड नभत्काईकन वैज्ञानिक समाजवादी संस्कृति निर्माण गर्न सकिँदैन । हामीले भन्दै आएका छौँ— समकालीन समाजमा अस्तित्वशील चाडपर्व, संस्कार, संस्कृतिलाई पूर्णतः निषेध गर्नुपर्ने, नवीनीकरण गर्नुपर्ने र नयाँ संस्कृतिमा आधारित चाडपर्वको निर्माण गर्नेगरी तीन भागमा वर्गीकरण गर्नुपर्दछ । जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवस, सांस्कृतिक बलिदान दिवस, पार्टी स्थापना दिवस, आठ मार्च, मे दिवसलगायतलाई वास्तविक चाडका रूपमा मनाउनुपर्दछ । माक्र्सले भन्नुभएको छ— भौतिक आधारहरूमा क्रान्तिकारी परिवर्तन नगरी राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरूमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिँदैन र जुन परिवर्तन ल्याइन्छ, त्यसलाई टिकाइराख्न मुस्किल हुन्छ ।

३० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :