महिलामाथि बर्बर घटनाका दोषीलाई तत्काल कारबाही गर : संयुक्त महिला सङ्घर्ष समिति

महिलामाथि बर्बर घटनाका दोषीलाई तत्काल कारबाही गर : संयुक्त महिला सङ्घर्ष समिति

काठमाडौँ : नेकपा निकट महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित तीन महिला सङ्गठनले मुलुकमा महिलामाथि भइरहेको बर्बर दमन र निच प्रकारका घटना तत्काल रोक्न र घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । ती सङ्गठनले बलात्कार, हत्या र छुवाछूतका घटनाप्रति खेद पनि व्यक्त गरेका छन् ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्घले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महिलामाथि भएका अमानवीय तथा पाशविक व्यवहार र बलात्कार तथा हत्याका घटनाका दोषीलाई सरकारले कारबाही गर्न अनाकानी गरिरहेको जनाउँदै राज्यकै कारण अपराधीले उन्मुक्ति पाइरहेकाले आगामी दिनमा महिलाहरूले झनै भयावह स्थिति बेहोर्नुपर्ने खतरा बढेको सङ्गठनहरूको निष्कर्ष छ ।

दिनदाहडै महिला, युवती, किशोरी र बालिकामाथि बलात्कार, हत्या, बोक्सी आरोपलगायत अमानवीय व्यवहार थोपरिँदासमेत राज्य र सरकार मौन बस्नुले महिलाजगत्कै अस्मिता धरापमा पर्दै गएको महसुस भएको विज्ञप्तिमा उल्लेख छ । ती सङ्गठनले कार्यगत एकतासमेत गरेका छन् । कार्यगत एकताका लागि ‘संयुक्त महिला सङ्घर्ष समिति’ समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘मुलुकमा दिनानुदिन बढिरहेको महिला, बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटना सामान्य र व्यक्तिगत घटना होइनन् । यो सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय हो । समाजमा बारम्बार दोहोरिने यसप्रकारका घटनाले हाम्रा सामाजिक मूल्यमान्यता बिग्रँदै र धराशायी हुँदै गइरहेको कुरालाई दर्साउँछ’, विज्ञप्तिमा भनिएको छ ।

संयुक्त सङ्घर्ष समितिको विज्ञप्तिमा हालै भक्तपुरमा बसचालक र सहचालक मिलेर १७ वर्षीया युवतीलाई बसभित्रै बन्धक बनाई सामूहिक बलात्कार गरेको घटना, बझाङ बुङ्गल नगरपालिकाकी २१ वर्षीया युवतीलाई उपचार गर्ने निहुँमा भारत लगी उनकै श्रीमान्को मिलोमतोमा ससुरा, काकाससुरा र नन्देभाइले महिनौँसम्म बलात्कार गरेको, विभिन्न यातना दिएको र उनीहरूले पैसा लिई परपुरुषलाई बलात्कार गर्न लगाएको घटना, बझाङमै मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या, पर्सा जिल्ला छिपरमाई गाउँपालिका ३ की ४५ वर्षीया एकल महिला उमादेवी ठाकुरलाई उनका देवर, छिमेकी र एकजना प्रतिनिधि मिली चरित्रहीन र बोक्सीको आरोपमा कपाल काटी कालोमोसो दलेर कुटपिट गर्दै अर्धनग्न अवस्थामा गाउँ घुमाएको घटनालाई महिलामाथिको बर्बर, दमन र निच प्रकारका प्रतिनिधिमूलक घटना भएको उल्लेख गरिएको छ । घटनामा पीडित महिलाहरूका निम्ति सरकारले निःशुल्क उपचार, दोषीलाई कारबाही गर्नुको सट्टा दोषी पत्ता लगाउनै बेवास्ता गर्नु र सामान्य रूपमा लिनु चिन्ता र लज्जाको विषय भएको जनाइएको छ ।

विज्ञप्तिमा सम्पूर्ण घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दै पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनस्र्थापनाका लागि सरकारसँग जोडदार माग गरिएको छ । कोरोना महामारीमा पनि मुलुकमा भ्रष्टाचार, अनियमितता, कालोबजारी र महँगी मौलाउनुमा दलाल पुँजीवादी सरकार नै मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी सचिवालय सदस्य राजकुमारी शाही, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की महासचिव शारदा महत र अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले हस्ताक्षर गरेकी छन् ।

महिलामाथि हुने बलात्कार, हत्या, असामाजिक र अमानवीय व्यवहारविरुद्ध तथा पूर्णअधिकार र राष्ट्रियता तथा स्वाधीनता रक्षाका लागि संयुक्त रुपमा सङ्घर्ष चलाउने पनि नेतृहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :