अखिल क्रान्तिकारी ललितपुरद्वारा सरकारलाई चेतावनी

अखिल क्रान्तिकारी ललितपुरद्वारा सरकारलाई चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी ललितपुरले जिल्लाभित्रको शैक्षिक सुधारका लागि जिल्ला शिक्षा समन्वय एकाइ, नगर, महानगर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एासेसिएसन नेपाल (एन प्याब्सन) को कार्यालयमा मागपत्र पेस गरेको छ ।

अखिल क्रान्तिकारी ललितपुरले कक्षा ११ र १२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको नयाँ पाठ्यक्रममा गणितजस्तै पढ्नैपर्ने विषयहरू भौतिकशास्त्र, रसायनशास्त्र, इन्जिनियरिङ, भू तथा अन्तरिक्ष विज्ञानलगायत विषयमा पनि गणितलाई अनिवार्य नबनाई ऐच्छिक बनाएको भन्दै अनिवार्य बनाउनुपर्ने माग राखेको छ ।

सातबुँदे मागपत्रमा क्रान्तिकारीले नेपाली शिक्षामा रहेको नेपाली र अङ्ग्रेजीको भाषागत विभेद अन्त्य गरी समान बनाउनुपर्ने, छात्रवृत्ति प्रदान गर्दा आसेपासेलाई नभई गरिब, जेहेनदार, विपन्न, देशका लागि कुर्बानी गरेका सहिद परिवार, बेपत्ता, घाइतेहरूका छोराछोरीलाई प्राथमिकता दिनुपर्ने, अनलाइन शिक्षाका लागि भौतिक संरचना, इन्टरनेट, कम्प्युटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने, शिक्षकलाई तलबको व्यवस्था गरिनुपर्नेलगायत विषय उल्लेख गरेको छ ।

अखिल क्रान्तिकारी ललितपुरका अध्यक्ष रमेश सुनार ‘अग्रीम’ को नेतृत्वमा विद्यार्थीको समूहले नगर, महनगर, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयमा शैक्षिक मागपत्र पेस गरेको समाचारमा जनाइएको छ ।

मागपत्र पेस गर्ने क्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष अग्रीमले विद्यार्थीका जायज मागलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए । उनले विद्यार्थीका जायज मागलाई बेवास्ता गरिएमा क्रान्तिकारी विद्यार्थीले सबक सिकाउने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :