क्रान्ति–प्रेम

क्रान्ति–प्रेम

मलाई थाहा छैन
प्रेम के हो ?
मलाई यति थाहा छ
समाज परिवर्तनको यात्रामा हिँडेको
एउटा विद्रोही हुनुको नाताले
मेरो प्रेम क्रान्ति हो
म आफैँभित्र
क्रान्तिलाई खोज्छु,
मलाई यति थाहा छ
म आफूभन्दा पहिला
क्रान्तिका बारेमा सोच्छु
मलाई थाहा छैन
प्रेम कहिले हुन्छ ?
मात्र यति थाहा छ
किसानको आँखाबाट झल्किने खुसी

मजदुरको ओठ चलमलाएर देखिने मुस्कान
जसबाट म आफू बाँचेको अनुभूति हुन्छ
मेरो प्रेम त्यही हो
मलाई थाहा छ
क्रान्तिसँग मेरो साइनो जोडिनुअघि
मेरो मानसपटलमा आउने चित्रहरु
नानारङ्गी जीवनका थिए
तर आज म बेपरबाह क्रान्तिप्रेमी भएर
लालरङ्गी जिन्दगी बाँचिरहेको छु
न्याय, समानता र स्वतन्त्रताका लागि
मेरो मन र मस्तिष्क
रत्तिभर पनि डगमगाएको छैन
क्रान्तिमा कस्तो पीडा हुन्छ भनेर
मलाई यति थाहा छ
नङ्ग्रा खियाउने र
पसिना बगाउनेलाई पीडा भयो भने
मेरो मन र मस्तिष्कमा बेचैनी हुन्छ
अनि
मेरा आँखा रसाउँछन्
मलाई आफैँसँग
कुनै गुनासो छैन–
मैले क्रान्तिलाई प्रेम गरेर के पाएँ ?
मात्र यति थाहा छ
क्रान्तिको भीषण यात्रामा
मैले बाँच्नु र मर्नुमा खास अर्थ पाएँ
मलाई कुनै पछुतो छैन–
क्रान्तिलाई प्रेम गरेर मैले के गुमाएँ ?
सायद
मेरो मनको सबैभन्दा नजिकैको पात्रलाई गुमाएँ
मेरा आफ्नाहरु मबाट टाढिए
मैले आफूलाई आफैँबाट टाढा बनाएँ
खासमा
मेरो क्रान्तिसँग जोडिएको साइनोबाट असहमत ती सबै
म सँग टाढिए
एक दिन त कसो नबुझ्लान्
मबाट टाढिनेहरुले
मेरो क्रान्तिसँगको यो अटुट सम्बन्ध
मबाट टाढिएका ती सबैसबैका लागि हो
खासमा
मैले बुझेको प्रेम यही हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :