अखिल (क्रान्तिकारी) द्वारा जनताको खेतमा श्रमदान

अखिल (क्रान्तिकारी) द्वारा जनताको खेतमा श्रमदान

काठमाडौँ : केपी वली सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) नवलपुरले जनताको घरआँगनमा पुगेर जनश्रमदानलाई तीव्रता दिएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिकामा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजकसहित दसजना विद्यार्थीको सक्रिय सहभागितामा एक किसानको चार कट्ठा जग्गामा धान काटेर श्रमदान गरेको उक्त सङ्गठनले जनाएको छ ।

अन्य विद्यार्थी सङ्गठन सहर केन्द्रित भइरहँदा उक्त सङ्गठन भने कोभिड १९ को समयमा विद्यालय बन्द भएको अवस्थामा गाउँ र नगरमा साङ्गठनिक अभियानमा जुटेको हो । सात महिनासम्म देश कोरोनाले थलिँदा विद्यार्थीले विद्यालयमा पढेसिकेको जीवनव्यवहारमा लागू हुन नसकेकाले पनि शिक्षालाई श्रम र सिर्जनशीलतामा जोड्नु अनिवार्य भएको उक्त सङ्गठनले जनाएको छ ।

पछिल्लो समय अखिल (क्रान्तिकारी) नवलपुरले गाउँ र टोलमा सङ्गठन निर्माण गर्ने, कोभिड १९ को समयमा विद्यालयबाट वञ्चित भएका विद्यार्थीलाई निःशुल्क कम्युनिटी कक्षा सञ्चालन गर्ने, जनश्रमदान गर्नुका साथै भ्रष्टाचार, राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, बलात्कार, सामाजिक विकृति–विसङ्गतिविरुद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :