२० दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

२० दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत २० दलीय मोर्चाले एमसीसी खारेजीको माग गर्दै सिन्धुलीको सिन्धुलीमाढीमा कोणसभा आयोजना गरेको छ ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य भरत बुर्जा मगरले एमसीसी इन्डोप्यासिफिक सैनिक रणनीतिसित जोडिएको, आर्थिक रूपमा अमेरिकाको एकाधिकार भएको, त्यसको प्रयोगमा नेपालको कुनै अधिकार नभएको, त्यसको के, कति, कहाँ ? भन्ने सोधपुछ गर्न नपाउने, त्यसको लेखा परीक्षण नेपालले गर्न नपाउने, नेपालले १३ करोड डलर थप्नुपर्ने, त्यसको संरक्षण गर्न अमेरिकी सुरक्षाकर्र्मी ल्याउनुपर्ने, उक्त सम्पत्तिको अधिकार अमेरिकाको हुने, कामदार अमेरिकाबाट ल्याउने र त्यसको विधान र नेपालको संविधान बाझेमा नेपालको संविधान स्वतः निष्क्रिय हुनेजस्ता राष्ट्रघाती प्रावधान रहेको बताए ।

उनले एमसीसी परियोजना लागू भएमा नेपालमा अमेरिकी सेनाले टेकेर चीनमा हमला गरी नेपाल रणभूमि बन्ने खतरा रहेको पनि बताए । २० दलीय सङ्घर्ष समितिले भारतीय साम्राज्यवादी हस्तक्षेपको पनि विरोध गर्दै आएको बताए । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुलीका अध्यक्ष ढकप्रसाद देवकोटाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :