दुनियाँलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली पारमाणविक क्षेप्यास्त्र प्रदर्शन

सन्दर्भ : कोरियाली वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवस

दुनियाँलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली पारमाणविक क्षेप्यास्त्र प्रदर्शन

काठमाडौँ : जनगणतन्त्र कोरियाले कोरियाली वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा दुनियाँलाई आश्चर्यचकित पार्दै शनिबार मध्यरात राजधानी प्योङयाङमा शक्तिशाली पारमाणविक क्षेप्यास्त्रसहित विशाल सैन्य परेड गरेको छ । कोरियाले परमाणु क्षेप्यास्त्र, सैनिकसहित आधुनिक हतियार पनि प्रदर्शन गरेको हो ।

जनगणतन्त्र कोरियाले प्रदर्शन गरेका लामो दूरीका पारमाणविक क्षेप्यास्त्रले अमेरिकी रक्षा प्रणाली र जुनसुकै भूभागमाथि पनि प्रहार गर्नसक्ने क्षमता राख्छन् । कोरियाले कोरियाली वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवसको सन्दर्भ पारेर अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्र, शक्तिशाली लडाकु विमान र अन्य शक्तिशाली हतियारहरू पनि प्रदर्शन गरेको छ । संसार कोरोना प्रकोपबाट भयग्रस्त र तहसनहस बनिरहेको समयमा कोरियाले भने आफ्नो देश कोरोनामुक्त रहेको घोषणा गरेको छ । विगत ७० वर्षदेखि अन्तर्राष्ट्रिय नाकाबन्दी खेपिरहेको कोरियाले सधैँ नयाँनयाँ प्रगति गरिरहेको छ ।

जनगणतन्त्र कोरियाका समाचार संस्था र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी प्योङयाङमा मध्यरातमा हजारौँ जनताका बीचमा पार्टी अध्यक्ष, सर्वोच्च नेता मार्सल किम जोङ उनले उक्त प्रदर्शन, परेड र हातहतियार अवलोकन गरेका थिए ।

राजधानी प्योङयाङको मध्यभागमा अवस्थित किम इलसुङ स्क्वायरमा आयोजित पार्टी स्थापना दिवस कार्यक्रममा वायुसेनाले आकाशमा लडाकु विमानहरू उडाएको थियो भने जमिनमा जनमुक्ति सेनाको मार्च र क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको थियो ।

जनगणतन्त्र कोरियाले हातहतियारलगायत सबै क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दै गएको अवस्थामा कम्युनिज्म र समाजवादविरोधी अमेरिकालगायत शक्तिराष्ट्रहरू भने तिल्मिलाइरहेका छन् । बारम्बार धम्की दिँदै आएको अमेरिकी सरकार कोरियाको शक्ति रोक्नै नसकिने गरी वृद्धि भएपछि सर्वोच्च नेता किम जोङ उनसँग वार्तामा बस्न बाध्य भएको थियो । कोरिया र अमेरिकाबीच पटकपटक भएको वार्तामा कुनै ठोस सहमति हुन नसकेका बेला कोरियाले आफ्नो सैन्य र हतियार क्षमता प्रदर्शन गरेको हो ।

कोरियाली वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत राष्ट्रप्रमुख र कम्युनिस्ट पार्टीका नेताहरूले संसारभरबाट शुभकामना सन्देश पठाएको समाचारहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :