एमसीसी सम्झौताविरुद्ध काठमाडौँमा प्रदर्शन

एमसीसी सम्झौताविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको जारी नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता गर्न पनि माग गरेको छ ।

उक्त पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा चाबहिलमा आयोजित विरोधसभामा नेता दिनेश शर्मा ‘सागर’ ले राष्ट्रियता, जनतन्त्र, जनजीविका र महामारीका कारण उत्पन्न सङ्कटमा वली सरकारको राष्ट्रघाती तथा जनघाती चरित्रको भन्डाफोर गर्दै एमसीसी सम्झौता पूर्ण रूपमा खारेज गर्नुपर्ने बताएका थिए । देशभक्त तथा क्रान्तिकारी कम्युनिस्टहरूको एकताबद्ध सङ्घर्षले मात्रै राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान हुने उनको भनाइ थियो ।

विरोध कार्यक्रममा उक्त पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज सरुले देशभक्त तथा क्रान्तिकारी शक्तिको दबाबमा वली सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे पनि नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता गराउन चरम उदासीनता प्रदर्शन गरेको बताइन् । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता संसद्बाट पास गर्ने षड्यन्त्र गरेर सरकारी नेकपाका नेताहरूले राष्ट्रघाती चरित्र उदाङ्गो पारेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :