आमरण अनशनको २७ औँ दिनमा डा. गोविन्द केसीसँग सरकारले फेरि गर्यो ८ बुँदे सम्झौता

आमरण अनशनको २७ औँ दिनमा डा. गोविन्द केसीसँग सरकारले फेरि गर्यो ८ बुँदे सम्झौता

काठमाडौँ : बारम्बार सम्झौता गर्दै र कार्यान्वयन गर्न अटेर गर्दै आएको सरकारले अन्ततः चिकित्सा क्षेत्र सुधारलगायत ६ बुँदे माग राखेर २७ दिनदेखि १९ औँ आमरण अनशन जारी राखेका सुधारक डा. गोविन्द केसीसँग शनिबार मध्यरातमा ८ बुँदे सम्झौता गरेको छ । नेपाल चिकित्सक सङ्घले आइतबारदेखि देशभरका आकस्मिक र कोरोना उपचारबाहेकका सबै सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकार डा. केसीसँग सम्झौता गर्न बाध्य भएको हो । केसीका पक्षमा देशभर प्रदर्शन पनि हुँदै आएका थिए ।

सरकारले डा. केसीसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने, अन्यत्र २०८० साल फागुन १० भित्र पढाइ सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारीको नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानुनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति गरेको छ ।

यस्तै कोरोना नियन्त्रणका लागि पीसीआरको दायरा बढाउने, उचित उपचारका लागि सरकारी अस्पतालहरूको क्षमता बढाउनेलगायत ८ बुँदे सम्झौता भएको हो ।

सम्झौतापछि डा. केसीले २८ औँ दिन अर्थात् आइतबारबाट अनशन अन्त्य गर्ने सहमति भएको छ । डा. केसीले २८ दिनअघि जुम्लाबाट आमरण अनशन सुरु गरेका थिए । सरकारले उनलाई आठौँ दिनमा जबर्जस्ती जुम्लाबाट काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :